काठमाडौं। काठमाडौँको पुरानो बानेश्वरमा ‘फ्रन्टलाइन हस्पिटल’ सञ्चालन गरिरहेको नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन अर्बौंको ऋणको दबाबमा देखिएको छ। स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा आक्रामक विस्तारको रणनीति लिएको यो संस्थाले वित्तीय दायित्व व्यवस्थापन गर्न सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने बाटो रोजेको हो।
संस्थाले आफ्नो महत्त्वाकांक्षी परियोजनालाई पूर्णता दिन ठूलो मात्रामा बैंक ऋणको सहारा लिएको छ। वार्षिक ४३ करोड ३० लाख रुपैयाँको व्यापार गरिरहेको यो संस्थाले कुल ३ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको ऋण सुविधाका लागि रेटिङ गराएको छ। साथै, ऋणबाट व्यवस्थापन हुन नसकेको पुँजी संस्थाले आइपिओबाट जुटाउन इस्युआर रेटिङ समेत गराएको छ।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले संस्थालाई ‘बिबि माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ। साथै, दीर्घकालिन कर्जामा पनि बिबि माइनस र अल्पकालिन कर्जामा इफोर रेटिङ पाएको छ। यो रेटिङ पाउनुको अर्थ संस्थाले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा ‘मध्यम स्तरको जोखिम’ रहेको बुझिन्छ। यद्यपि, संस्थाको आम्दानीको तुलनामा ऋणको भार निकै उच्च देखिन्छ।
आम्दानीको तुलनामा संस्थाको ऋण आकार झन्डै ९ गुणाले बढी हो। संस्थाको वार्षिक आम्दानीको तुलनामा ऋणको आकार निकै ठूलो देखिएपछि यसलाई व्यवस्थापन गर्न आईपीओको सहारा लिने तयारी गरिएको देखिन्छ।
नोबेल कलेजले पछिल्लो समय आफूलाई केवल एउटा शैक्षिक संस्थामा मात्र सीमित नराखी ठूलो स्तरको स्वास्थ्य सेवा प्रदायकको रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यही रुपान्तरणका लागि संस्थाले काठमाडौँको साविक फ्रन्टलाइन हस्पिटललाई २०० शैयाको अत्याधुनिक अस्पतालमा स्तरोन्नति गर्न २ अर्ब ७३ करोड ३१ लाख रुपैयाँ दीर्घकालीन ऋण लिएको छ। यसका अतिरिक्त, भक्तपुरमा नयाँ क्यान्सर अस्पताल निर्माण गर्ने योजना पनि संस्थाले अघि सारेको छ।
यही क्यान्सर सेन्टर निर्माणका लागि आवश्यक थप पुँजी जुटाउन र बैंकको ऋण भारलाई सन्तुलनमा राख्न कम्पनीले ९ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन लागेको हो। संस्थाको वित्तीय कार्यसम्पादनलाई हेर्दा व्यापारको आयतनमा भने केही सुधार देखिएको छ।
अघिल्लो आर्थिक वर्षमा २६ करोड ९० लाख रुपैयाँ व्यापार गरेको यस संस्थाले गत वर्ष ६१ प्रतिशतको वृद्धि हासिल गर्दै ४३ करोड ३० लाख पुर्याएको थियो। चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महिनामै संस्थाले ४४ करोड ६० लाख रुपैयाँको कारोबार गरिसकेको छ, जुन अघिल्लो पूर्ण वर्षको भन्दा पनि बढी हो।
आम्दानी बढ्नुमा अस्पतालमा बिरामीको चाप बढ्नु र अस्पताल सेवाको योगदान ८४ प्रतिशत पुग्नु मुख्य कारण हो। यद्यपि, अर्बौँको ऋणको तुलनामा यो आम्दानी अझै पनि अपर्याप्त देखिएकाले थप लगानी र विस्तारका लागि आईपीओको विकल्प रोजिएको हो।
संस्थाको व्यवस्थापकीय नेतृत्व नगराज पाण्डेले गरिरहेका छन्, उनको कम्पनीमा ४०.२७ प्रतिशत सेयर स्वामित्व छ। बाँकी सेयर १५ जना विभिन्न प्रवर्द्धकको रहेको छ।
वित्तीय सूचकले संस्थाको नाफाको मार्जिन सुधारोन्मुख देखाएका छन्। चालू आर्थिक वर्षको ९ महिनामा सञ्चालन नाफा २२.९१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष २०.७९ प्रतिशत थियो। संस्थाको ब्याज तिर्न सक्ने क्षमता बुझाउने ‘इन्ट्रेस्ट कभरेज रेसियो’ २.९८ गुणा रहेको छ, जसले हालसम्म बैंकको ब्याज भुक्तानीमा ठूलो समस्या नभएको देखाउँछ। तर, ऋण र नाफाको अनुपात २८.७९ गुणा हुनुले संस्था निकै लामो समयसम्म ऋणको पासोमा रहने जोखिम देखाउँछ। ऋणको किस्ता र साँवा भुक्तानी गर्ने क्षमता बुझाउने ‘डीएससीआर’ १.५४ गुणा मात्र रहनुले संस्थाको नगद प्रवाहमा चाप रहेको पुष्टि गर्छ।
अस्पतालका सामु काठमाडौँ उपत्यकाका ठूला र स्थापित निजी अस्पतालहरूसँग प्रतिस्पर्धा गर्दै शैया ओगटेको दरलाई ५० प्रतिशतभन्दा माथि पु¥याउनु मुख्य चुनौती हो। सन् २०२५ मा अस्पतालको अकुपेन्सी २८ प्रतिशत मात्रै रहेकामा हाल सुधार भएर ४९ प्रतिशत पुगेको छ। २०० शैया पूर्ण रूपमा सञ्चालनमा आएपछि यसलाई टिकाउन र दक्ष चिकित्सकलाई रोकिराख्न संस्थाले थप मेहेनत गर्नुपर्ने देखिन्छ।
आगामी दिनमा आईपीओमार्फत संकलन हुने पुँजीले क्यान्सर अस्पतालको निर्माण अघि बढाउन र बैंकको ऋण भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। संस्थाले एमबीबीएस र बीडीएस कार्यक्रमका लागि नयाँ शैक्षिक लाइसेन्स प्राप्त गर्न सकेमा यसको आम्दानीको स्रोत अझै बलियो हुने र वित्तीय साखमा सुधार आउने विश्वास रेटिङ प्रतिवेदनले व्यक्त गरेको छ।