साँझको आकाशमा ड्रोन उड्यो र स्क्रिनमा तराईको हरियो र फुस्रो रङको भुक्तानी देखिन थाल्यो। स्क्रिनको बीचमा एउटा चम्किलो रङ्गीन आकृति देखियो। जब क्यामेरा जुम गरियो, त्यो आकृतिले एउटा स्पष्ट आकार लियो।
‘त्यो गोमा हो,’ सुशीला महताराले भनिन्, ‘ठूलो पोथी बाघ।’ त्यो बघिनी खुट्टा फैलाएर ढुक्कसँग पल्टिरहेकी थिइन्। उसको पेट भरिएको प्रस्ट देखिन्थ्यो। उनलाई आफूलाई ड्रोनले खिचिरहेको छ वा मानिसहरूको एउटा समूहले हेरिरहेको छ भन्ने कुराको कुनै प्रवाह थिएन।
‘उनी हामीभन्दा कति टाढा छिन्?’ मैले सोधेँ। सुशीलाले जवाफ दिइन्, ‘३०० मिटरभन्दा पनि कम।’
नेपालका बाघहरू भारतसँग सीमा जोडिएको तराई क्षेत्रमा बस्छन्। उत्तरका हिमालहरूको उचाईभन्दा ठीक उल्टो यो क्षेत्र जङ्गल, घाँसे मैदान र नदीहरूले भरिएको छ। यहाँ पाँच वटा राष्ट्रिय निकुञ्जहरू छन्। जहाँ मानिसहरू हात्ती, गैँडा, चितुवा र सबैको पहिलो रोजाइमा पर्ने ‘पाटे बाघ’ हेर्ने आशामा आउँछन्।

३० वर्षपछिको अधुरो सपना, संख्या दोब्बर बनाउने सफलता
३० वर्षअघि मैले तराईको सबैभन्दा दुर्गम र कम भ्रमण गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको यात्रा गरेकी थिएँ। त्यहाँ मलाई भनिएको थियो कि बाघ देख्ने सबैभन्दा राम्रो सम्भावना छ। मैले जङ्गलमा बाघका ताजा पाइलाका छापहरू र रूखका फेदमा नङ्ग्राले कोरेका गहिरा चिन्हहरू त देखेँ, तर बाघलाई प्रत्यक्ष देख्न भने पाइनँ।
त्यो बेला बाघ भेट्टाउन गाह्रो हुनुको कारण उनीहरूको लुक्ने अद्भुत क्षमता मात्र थिएन, बरु बाघको संख्या नै निकै कम हुनु थियो।
सन् २००९ को सर्वेक्षणले नेपालमा बाघको संख्या जम्मा १२१ मात्र देखाएको थियो। यो घट्दो क्रमलाई रोक्न नेपालले सन् २०१० मा अन्य १३ वटा मुलुकहरूसँग मिलेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनायो।
बढ्दो मानव जनसंख्या, प्राकृतिक स्रोतको माग र खेतीपातीका लागि जमिनको आवश्यकताका बीच यस्तो लक्ष्य राख्नु एउटा साहसिक तर असम्भव जस्तो लाग्ने विचार थियो। तर, सन् २०२२ को गणनाले विश्वलाई नै आश्चर्यचकित बनाइदियो। नेपालले बाघको संख्या दोब्बर मात्र होइन, झण्डै तेब्बर बनाउँदै १२१ बाट ३५५ पु¥यायो। यो सफलता चोरी–शिकार नियन्त्रणमा कडाइ, बासस्थानको सुधार र सबैभन्दा महत्वपूर्ण कुरा, सुशीला जस्ता स्थानीय समुदायसँगको सहकार्यले सम्भव भएको हो।
‘जङ्गलकी रानी’ सुशीला र मञ्जु
सुशीला महतारा र उनकी बहिनी मञ्जुलाई नेपालकै सबैभन्दा अनुभवी र सम्मानित वन्यजन्तु ट्र्याकर र गाइड मानिन्छ। बीबीसीको नयाँ शृङ्खला ‘टाइगर आइल्याण्ड’ का लागि उनीहरूको भूमिका अपरिहार्य थियो। उनीहरूको स्थानीय ज्ञान र जङ्गलको अनुभवलाई ड्रोन प्रविधिसँग जोड्दा वृत्तचित्र टोलीले बाघको यस्तो व्यवहार कैद गर्न सफल भयो, जुन पहिले कहिल्यै देखिएको थिएन।

मैले सुशीलालाई नेपालगन्ज विमानस्थलमा भेटेँ र हामी बर्दिया राष्ट्रिय निकुञ्ज वरिपरिका गाउँतर्फ लाग्यौँ। तराईका ताता र धुलाम्मे मैदानहरूमा धानखेत, मकै, तरकारीका प्लट, सिँचाइका कुला, गाईवस्तु र बाख्राहरूको ताँती देखिन्थ्यो।
सुशीलाको परिवार अहिले कङ्क्रिटको घरमा बस्छन्, जुन उनीहरूले हात्तीबाट बच्न बनाएका हुन्। ‘हामी पहिले माटोको घरमा बस्थ्यौँ, जुन हिउँदमा न्यानो र गर्मीमा चिसो हुन्थ्यो। तर एउटा हात्तीले त्यसलाई भत्काइदियो,’ सुशीलाले भनिन्, ‘हामी त भागेर ज्यान जोगाउन सफल भयौँ, तर हात्तीले वर्षभरिको लागि थुपारेको धान खाइदियो। मेरी बहिनी र मैले गाइड बनेर कमाएको पैसाले यो नयाँ घर बनायौँ।’
यहाँ मानव–वन्यजन्तु द्वन्द्व एउटा यथार्थ हो। तर सुशीला भन्छिन्, ‘वन्यजन्तु यहाँ नभएको भए मेरो जागिर पनि हुने थिएन।’

बुढान वाइल्डरनेस क्याम्पः संरक्षणको नयाँ मोडल
हामी एउटा सामुदायिक वन हुँदै ‘बुढान वाइल्डरनेस क्याम्प’ पुग्यौँ। यो क्याम्प एउटा टापुमा बनाइएको छ। यो नेपाली संरक्षणवादी मनोज गौतम र उनकी दिदी प्रभाको एउटा ‘प्यासन प्रोजेक्ट’ हो। उनीहरूले यो जमिनलाई प्लटिङबाट जोगाउन किनेका थिए। यहाँको क्याम्पले स्थानीयलाई रोजगारी दिएको छ, जसले गर्दा पर्यटकले हेर्न आउने वन्यजन्तु जोगाउन स्थानीय बासिन्दा आफैँ उत्साहित छन्।
नेपालमा बाघको संख्या बढ्नुको मुख्य कडी नै यही हो- जब स्थानीय बासिन्दाले संरक्षणबाट प्रत्यक्ष लाभ पाउँछन्, तब मात्र संरक्षण सफल हुन्छ।
बाघसँगको त्यो साक्षातकार
ड्रोनबाट बाघ हेर्नु एउटा कुरा थियो, तर म बाघलाई आमनेसामने देख्न चाहन्थेँ। बर्दियाको झण्डै १,००० वर्ग किलोमिटर क्षेत्रमा घना जङ्गल छ। यहाँ बाघ भेट्टाउन सुशीला जस्ता विज्ञको सीप र अलिकति भाग्यको पनि आवश्यकता पर्छ।
भोलिपल्ट बिहानै हामी जङ्गलतर्फ लाग्यौँ। सुशीलाले कानमा हात राखेर ध्यान दिएर सुनिन्। कतैबाट ‘अलार्म कल’ आएको थियो। बाँदर र मृगहरूले बाघ नजिकै भएको सङ्केत गरिरहेका थिए। अचानक हामी दुवैको मुखबाट एकैसाथ ‘आह’ निस्कियो।

एउटा पाटे आकृतिले केही गज अगाडि बाटो काट्यो र ओझेल भयो। मैले वाइनाकुलरबाट हेरेँ, झाडीको गहिराइमा सुन्तला रङको भुत्लाको झलक देखियो। ‘उनी गइन्,’ मैले लामो सास फेरेँ। मेरो जीवनको पहिलो जङ्गली बाघको दर्शन- क्षणिक तर भव्य।
तर कथा त्यहाँ सकिएन। अचानक एउटा ठूलो आवाजका साथ त्यो बाघ झाडीबाट बाहिर निस्किइन्। मुख खोलेर, तीखा दाँत देखाउँदै उनले एउटा भयानक गर्जन गरिन्, जसले वरिपरिको सबै वातावरणलाई स्तब्ध पारिदियो। समय रोकिएझैँ भयो। त्यसपछि उनी फेरि ओझेल भइन्, तर त्यो गर्जन र दृश्य मेरो मानसपटलमा सधैँका लागि गढिएर रह्यो।
(केट हम्बल एक प्रसिद्ध बेलायती टेलिभिजन प्रस्तोता र लेखिका हुन्। उनले नेपालमा बाघ संरक्षण र स्थानीय समुदायको भूमिकाबारे बीबीसीको ‘टाइगर आइल्याण्ड’ कार्यक्रमका लागि यो यात्रा गरेकी थिइन्।)