काठमाडौं। नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोयन्का परिवारद्वारा प्रवद्र्धित घराना फूड्सले ९ महिनामै सवा अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा १ अर्ब २० करोड रुपैयाँ बराबरको व्यापार गरेको हो।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले आफ्नो व्यापारलाई अर्बको स्तरमा कायम राख्दै ६४ करोड रुपैयाँ बराबरको बैंकिङ ऋणको साख (रेटिङ) पुनः पुष्टि गराएको छ। प्रतिवेदनअनुसार इक्रा नेपालले कम्पनीको २० करोड रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि एल डबल बी माइनस र ६२ करोड रुपैयाँ बराबरको अल्पकालीन ऋणका लागि एफोर रेटिङलाई निरन्तरता दिएको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्दछ।
सन् २००८ देखि सञ्चालनमा आएको घराना फूड्सको व्यापारिक ग्राफमा विगतका वर्षहरूमा केही उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०२४/२५ मा कम्पनीले १ अर्ब ५८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो। त्यसअघि आर्थिक वर्ष २०२३/२४ मा १ अर्ब ४८ करोड र आर्थिक वर्ष २०२२/२३ मा १ अर्ब ८२ करोड ५० लाख रुपैयाँको उच्च कारोबार गरेको थियो। चालू आवको ९ महिनामा भएको १ अर्ब २० करोडको व्यापारले कम्पनी आफ्नो साख र बजार हिस्सा जोगाउन सफल रहेको देखिन्छ।
व्यापारको आकार अर्बमाथि भए तापनि कम्पनीको नाफाको मार्जिनमा भने उल्लेख्य गिरावट आएको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२३/२४ मा ५.४ प्रतिशत रहेको सञ्चालन नाफा चालू आवको ९ महिनामा घटेर मात्र २.९ प्रतिशतमा खुम्चिएको छ। कच्चा पदार्थको बढ्दो मूल्य र अन्तर्राष्ट्रिय बजारमा गहुँ आपूर्तिमा देखिएको अवरोधका कारण नाफामा दबाब परेको हो।
नाफा घट्दा ऋण तिर्ने क्षमता पनि १.८ गुणाबाट झरेर १.४ गुणामा पुगेको छ। यसको अर्थ कम्पनीको कमाइले बैंकको ब्याज धान्न निकै कठीन भइरहेको छ। तरलता व्यवस्थापनका लागि कम्पनीले कहिलेकाहीँ बैंकबाट स्वीकृत ऋण सीमा भन्दा बढी रकम उपयोग गर्नुपरेको रिपोर्टले औँल्याएको छ।
घराना फूड्समा गोयन्का परिवारका दुई सदस्य विनय कुमार गोयन्का र विकास गोयन्काको पूर्ण स्वामित्व रहेको छ। प्रवद्र्धकहरू आफैँ व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुनु र उनीहरूसँग खाद्यान्न उद्योगमा डेढ दशकभन्दा लामो अनुभव हुनुलाई रेटिङमा सकारात्मक पक्ष मानिएको छ। रूपन्देहीको सिद्धार्थनगरमा रहेको यस उद्योगको वार्षिक उत्पादन क्षमता ७५ हजार २२० मेट्रिक टन रहेको छ।
यो एक पूर्ण स्वचालित गहुँ प्रशोधन उद्योग हो जसले ‘घराना’ ब्रान्डमा मैदा, चक्की आट्टा, सुजी, बेसन र चोकर उत्पादन गर्दै आएको छ। कम्पनीले ठूला फास्ट मुभिङ कन्जुमर गुड्स कम्पनीहरूलाई कच्चा पदार्थ आपूर्ति गर्नुका साथै १ देखि ५० केजीका प्याकेटमा सिधै उपभोक्तालाई पनि सामान बिक्री गर्ने गरेको छ।
भारतीय सीमा नजिक कारखाना हुनुले कच्चा पदार्थ आयात र ढुवानी लागतमा कम्पनीलाई ठूलो राहत मिलेको छ। यद्यपि, गहुँको ९० प्रतिशत हिस्सा आयातमा निर्भर हुनु र भारत सरकारले गहुँ निर्यातमा लगाउने प्रतिबन्ध यस उद्योगका लागि मुख्य जोखिम हुन्। यस्तै, नेपाल सरकारले मैदामा दिँदै आएको भ्याट फिर्ता नीति हटाउनु र आट्टालाई भ्याटको दायरामा ल्याउनुले पनि वित्तीय स्वास्थ्यमा असर पारेको छ। अर्बौँको व्यापार गर्ने तर नाफाको प्रतिशत निकै कम हुने प्रवृत्तिले कम्पनीलाई वित्तीय रूपमा जोखिमपूर्ण बनाउँदै लगेको प्रतिवेदनको निष्कर्ष छ।