काठमाडौं। सरकारले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणलाई पुनः अगाडि बढाउन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। जलस्रोत तथा सिँचाइ विभागले आयोजनाको बाँकी काम सुरु गर्न बोलपत्र मागेको हो।
सहभागी हुन चाहने कम्पनीको पछिल्लो १० वर्षभित्रका उत्कृष्ट तीन वर्षको न्यूनतम औसत वार्षिक निर्माण कारोबार ४२.१८१ मिलियन अमेरिकी डलर हुनुपर्ने योग्यता तोकिएको छ।
सूचनाअनुसार इच्छुक अन्तर्राष्ट्रिय निर्माण कम्पनी नेपाली निर्माण कम्पनीसँग संयुक्त रूपमा प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आयोजनालाई उच्च प्राथमिकतामा राख्दै चार वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गरिने उल्लेख छ।
यसअघि निर्माण जिम्मा पाएको ठेकेदार कम्पनी पटेल–रमण जेभी, जनकपुर, धनुषासँगको ठेक्का सम्झौता २०८२ कात्तिक २५ मा तोडिएको थियो।
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो डाइभर्सनको सुरुङ छिचोलिए पनि बाँध, विद्युत्गृह निर्माणलगायतका काम अझै बाँकी छन्। आयोजना निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनीले काम गर्न नसकेपछि यसअघिको सरकारले ठेक्का तोडेको थियो।
ठेक्का तोडिएको करिब सात महिनापछि बोलपत्र आह्वान गरिएको हो। यसअघि निर्माण जिम्मा पाएको ठेकेदार कम्पनी पटेल–रमण जेभी, जनकपुर–९, धनुषासँगको ठेक्का सम्झौता २०८२ कात्तिक २५ गते तोडिएको थियो। निर्माण कम्पनीले तीन वर्षमा १० प्रतिशत मात्रै काम गरेको थियो।
आयोजनाको काम सम्पन्न गरी मधेस प्रदेशका पाँच वटा जिल्लाका एक लाख २२ हजार हेक्टर क्षेत्रमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ।