काठमाडौं। विश्वकै प्रतिष्ठित होटल समूह म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणले पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायीमा नयाँ उत्साह थपेको छ। विश्वव्यापी होटल ब्रान्डका शीर्ष नेतृत्वले नेपाल आएर पर्यटन सम्भावना, लगानी वातावरण र बजार विस्तारबारे सकारात्मक धारणा व्यक्त गरेपछि उद्योगी–व्यवसायीबीच ‘गुड भाइब’ बढेको हो।
नेपालमा पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय होटल ब्रान्डको उपस्थिति बढिरहेको छ। यस्तो अवस्थामा म्यारियटका अध्यक्षको भ्रमणलाई केवल औपचारिक कार्यक्रमभन्दा पनि नेपालप्रतिको अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको बढ्दो विश्वासका रूपमा हेरिएको छ। पर्यटन पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय उडानको वृद्धि, उच्चस्तरीय होटलमा बढ्दो लगानी र विदेशी पर्यटक आगमनमा सुधारका संकेतले समेत सकारात्मक वातावरण सिर्जना गरेको व्यवसायी बताउँछन्।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले डेबिडको नेपाल भ्रमण र म्यारियट इन्टरनेसनलसँगको सहकार्यलाई नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा आएको सकारात्मक संकेतका रूपमा लिनुपर्ने बताउछन्। सिजी हस्पिटालिटीमार्फत नेपालमा विश्वप्रसिद्ध लक्जरी होटल ब्रान्ड द रिट्ज–कार्लटन र द वेस्टेन काठमाडौं सञ्चालनमा ल्याउने सम्झौताले नेपालमा लगानी वातावरण बनेको सन्देश दिएको उनको भनाइ छ।
‘विश्वका ठूला लगानीकर्ता र उच्च खर्च गर्ने धनाढ्य पर्यटकको नजर अहिले नेपालतर्फ पर्न थालेको छ,’ अध्यक्ष चौधरीले भने, ‘जुन देशको पर्यटन सम्भावना र आर्थिक अवसरप्रतिको बढ्दो अन्तर्राष्ट्रिय चासोको संकेत हो।’ उनले यसलाई नेपालप्रतिको विश्वासका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै विश्वस्तरीय होटल ब्रान्डहरूको आगमनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत नेपालमा अवसर खोज्न थप प्रेरित गर्ने विश्वास व्यक्त गरे।
नेपालमा पहिलोपटक एकैसाथ दुईवटा म्यारियट भित्र्याएका काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले डेभिडको भ्रमणले विश्व बजारमा एकपटक फेरि नेपालको प्रचार भएको बताउँछन्।
अध्यक्ष डेभिड म्यारियटको भ्रमणबारेमा म्यारियट होटल्स ग्रुपका सबै ब्रान्ड र होटलका सदस्यहरूमा जानकारी जाने भएकोले पनि थाहा नभएकालाई नेपालबारे जानकारी भएको र निःशुल्क प्रचारसमेत विश्व बजारमा भएको उनको भनाइ छ। अर्कोतर्फ अध्यक्ष डेभिड म्यारियट नै नेपालमा आएर सम्झौता गर्नुले नेपालप्रतिको विश्वासलाई दर्शाउने बताउदै अन्य लगानीकर्ताको नजरमा समेत सकरात्मक प्रभाव पार्ने उनले बताए।
नेपाल प्राकृतिक सौन्दर्य, हिमाली पर्यटन, सांस्कृतिक सम्पदा र साहसिक गतिविधिका कारण विश्वभर परिचित भए पनि पछिल्ला वर्षमा उच्चस्तरीय तथा लक्जरी पर्यटन गन्तव्यका रूपमा पनि आफ्नो पहिचान विस्तार गरिरहेको छ।
कुनै पनि ब्रान्ड नेपाल आउनुअघि सम्भाव्यता अध्ययन गर्ने गरेको बताउँदै अहिले आउन लागेका लक्जरी ब्रान्डले नेपालमा पर्यटन क्षेत्रको ठूलो सम्भावना देखेकै कारण आएको उनको भनाइ छ। यसले पर्यटन व्यवसायीलाई सकरात्मक ऊर्जा दिएको उनको धारणा छ।
अग्रवालले भक्तपुरमा जे डब्लू म्यारियट सञ्चालनका लागि सम्झौता गरेका छन्। योसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले केशरमहलमा द लक्जरी कलेक्सन यही अक्टोबरबाट सञ्चालनमा ल्याउने गरी सम्झौता गरिसकेका छन्। डेभिड म्यारियटले निर्माणधिन होटलको निरीक्षणसमेत गरेका थिए।
नेपाल प्राकृतिक सौन्दर्य, हिमाली पर्यटन, सांस्कृतिक सम्पदा र साहसिक गतिविधिका कारण विश्वभर परिचित भए पनि पछिल्ला वर्षमा उच्चस्तरीय तथा लक्जरी पर्यटन गन्तव्यका रूपमा पनि आफ्नो पहिचान विस्तार गरिरहेको छ। रिट्ज कार्लटन, द लक्जरी कलेक्सन, जेडब्लु म्यारियट र इन्टरकन्टिनेन्टलजस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको नेपाल प्रवेशले थप उर्जा हासिल गरेको कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्य बताउँछन्।
विश्वप्रसिद्ध लक्जरी होटल ब्रान्डको नेपाल आगमनले देशको पर्यटन क्षेत्रको स्तरलाई नयाँ उचाइमा पुर्याएको छ। उनका अनुसार यस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूले नेपाललाई विश्व लक्जरी पर्यटन बजारमा थप विश्वसनीय र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नेछन् तथा उच्च खर्च गर्ने पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नेछन।
तर, निजी क्षेत्रको यो लगानीलाई पूर्ण रूपमा परिणाममुखी बनाउन सरकारले विमानस्थलको स्तरोन्नति, सडक तथा पर्यटन पूर्वाधार सुधार, पदयात्रा मार्गको व्यवस्थापन र थप अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालमा आकर्षित गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। निजी क्षेत्र र सरकारबीचको प्रभावकारी सहकार्यबाट मात्र नेपालले आफ्नो विशाल पर्यटन सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्दै विश्वस्तरीय लक्जरी पर्यटन गन्तव्यका रूपमा प्रतिस्पर्धा गर्न सक्ने अमात्यको विश्वास छ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपकराज जोशीले डेभिडको भ्रमणपछि विश्व पर्यटन बजारमा सकरात्मक प्रचार भैरहेको जानकारी दिए। ‘यति सानो मुलुकमा हस्पिटालिटी क्षेत्रको सबभन्दा ठूलो चेन होटलको अध्यक्षको नेपाल भ्रमण नै यो पहिलो हो,’ पूर्वसीईओ जोशीले भने, ‘उहाँको छोटो बसाइले नेपालको पर्यटनका लागि दीर्घकालीन फाइदा दिएको छ, यसले पर्यटन क्षेत्रमा नयाँ ऊर्जासमेत दिलाएको छ।’
सानो मुलुक भए पनि दुईतिर सबभन्दा ठूलो जनसंख्या भएको भारत र चीन रहेको र ती मुलुकका जनताको आर्थिक स्थिति निकै माथि पुगेकोले उनीहरूको घुमघामको गन्तव्य नेपाल पर्ने अपेक्षा अहिले विश्व ब्रान्डमा परेको छ। त्यसैले पनि संख्यात्मक रुपमा वर्षमा ठूलो मात्रामा पर्यटक आगमन नहुँदा पनि लक्जरी र महँगा ब्रान्डको रुपमा परिचित होटल एकपछि अर्को आइरहेको उनको विश्लेषण छ।
को हुन् डेभिड म्यारियट
नेपालमा पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय होटल ब्रान्डको उपस्थिति बढिरहेको छ। यस्तो अवस्थामा म्यारियटका अध्यक्षको भ्रमणलाई केवल औपचारिक कार्यक्रमभन्दा पनि नेपालप्रतिको अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको बढ्दो विश्वासका रूपमा हेरिएको छ।
डेभिड म्यारियट हाल म्यारियट इन्टरनेसनलका बोर्ड अध्यक्ष हुन्। उनी सन् २०२१ मा कम्पनीको बोर्डमा निर्वाचित भएका थिए। सन २०२२ मा आफ्ना पिता जे डब्ल्यु म्यारियट (बिल म्यारियट)को उत्तराधिकारीका रुपमा बोर्ड अध्यक्ष बनेका थिए। उनी म्यारियटको झन्डै १०० वर्षको इतिहासमा तेस्रो पुस्ताका अध्यक्ष हुन्।
डेभिड म्यारियटले सन १९९९ देखि कम्पनीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। बोर्ड अध्यक्ष बन्नुअघि उनी म्यारियटको अमेरिकी फुल–सर्भिस होटल व्यवसायका अध्यक्ष थिए, जहाँ उनले १४ वटा ब्रान्डअन्तर्गत सञ्चालन भएका ३३० भन्दा बढी होटलको नेतृत्व गरेका थिए।
उनले स्टारवर्ड होटल्स एन्ड रिसोट्र्स अधिग्रहणपछि एकीकरण प्रक्रियामा समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए। हाल म्यारियट इन्टरनेसनलका १४६ देश तथा क्षेत्रमा ९ हजार ९०० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन्। कम्पनीअन्तर्गत ३० भन्दा बढी अन्तर्राष्ट्रिय होटल ब्रान्ड रहेका छन्।