काठमाडौं। अमेरिका र इरानबीच शान्ति सम्झौता भएको घोषणा गरिएको छ। वार्तामा मध्यस्थताको भूमिका निभाइरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सम्झौताबारे जानकारी दिँदै दुवै पक्ष सैन्य गतिविधि अन्त्य गर्न सहमत भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँग सम्झौता भएको पुष्टि गरेका छन्। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले पनि सम्झौता भएको पुष्टि गरेका छन्।
यसैबीच फ्रान्स, जर्मनी, बेलायत र इटालीका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिका, इरान तथा क्षेत्रीय साझेदारहरूसँग मिलेर शान्ति स्थापनाको अवसरलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले अमेरिका, इरान, पाकिस्तान, कतार तथा अन्य मध्यस्थकर्ताहरूलाई कूटनीतिक सफलताका लागि बधाई दिएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार लामो वार्तापछि अमेरिका र इरानबीच शान्ति सम्झौता भएको हो। सम्झौताअनुसार लेबनानसहित सबै मोर्चामा तत्काल र स्थायी युद्धविराम लागू गरिनेछ।
सम्झौताको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा प्रभाव देखिएको छ। एशियाली बजारमा कारोबार सुरु हुँदा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। सम्झौताले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।
कसरी भयो सम्झौता?
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीका अनुसार कतारी मध्यस्थकर्ताहरूले तेहरानमा अमेरिका र इरानबीच प्रस्तावित समझदारीपत्र (एमओयू)को मस्यौदामा सहमति जुटाउन करिब १४–१५ घण्टा लामो वार्ता सञ्चालन गरेका थिए।
उनले अन्तिम सम्झौताका लागि आगामी ६० दिनभित्र थप वार्ता हुने जानकारी दिएका छन्। इरानको प्रमुख प्राथमिकता उसमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाउनु रहेको उनले बताएका छन्।
घरिबाबादीका अनुसार आइतबार कतारको एक प्रतिनिधिमण्डल तेहरानमा उपस्थित भई अमेरिका–इरानबीचको ‘इस्लामाबाद समझदारीपत्र’ को मस्यौदालाई अन्तिम रूप दिन सहयोग गरेको थियो।
अहिलेसम्म सार्वजनिक भएका
शहबाज शरीफका अनुसार अमेरिका र इरानबीच भएको शान्ति सम्झौताले लेबनानसहित सबै मोर्चामा जारी सैन्य अभियान अन्त्य गर्नेछ। सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने बताइएको छ।
राष्ट्रपति ट्रम्पले हस्ताक्षरपछि तेल ढुवानी पुनः निर्बाध रूपमा सञ्चालन हुने बताएका छन्। इरानका उच्च सैन्य अधिकारीहरूले यसलाई इरानको कूटनीतिक विजयका रूपमा व्याख्या गरेका छन्।
पृष्ठभूमि
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेका थिए। प्रारम्भिक आक्रमणमा इरानका केही उच्च सैन्य तथा राजनीतिक अधिकारी मारिएका थिए।
त्यसपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा इजरायलमाथि प्रतिकारात्मक आक्रमण गरेको थियो। साथै विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग होर्मुज जलडमरूमध्य बन्द गरिएको थियो।
यसका कारण विश्वव्यापी रूपमा तेल तथा ग्यास आपूर्तिमा अवरोध सिर्जना भएको थियो भने ऊर्जा मूल्यमा उल्लेख्य वृद्धि भएको थियो।
ट्रम्पका भनाइ
अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको एक अन्तर्वार्तामा होर्मुज जलडमरूमध्य स्थायी रूपमा शुल्कमुक्त र खुला रहने व्यवस्था सम्झौतामा समावेश भएको बताएका छन्।
उनले इरानसँग अन्तिम आणविक सम्झौता नभए सैन्य कारबाही पुनः सुरु हुन सक्ने चेतावनी पनि दिएका छन्। ट्रम्पले इरानविरुद्ध गरिएको सैन्य अभियानले मध्यपूर्वमा अमेरिकी प्रभाव पुनः स्थापित गरेको दाबी गरेका छन्।
उनका अनुसार शुक्रबार सम्झौतामा हस्ताक्षर भएपछि समुद्री सुरुङ (माइन) हटाइनेछ र विश्व बजारमा तेलको निर्बाध आपूर्ति पुनः सुरु हुनेछ।
इरानी सञ्चारमाध्यमले सार्वजनिक गरेका सम्भावित १४ बुँदा
इरानी अर्धसरकारी समाचार संस्था मेहरका अनुसार समझदारीपत्रको मस्यौदामा निम्न विषय समावेश छन्, यद्यपि यी बुँदाहरूको आधिकारिक पुष्टि अझै भएको छैन:
- लेबनानसहित सबै मोर्चामा स्थायी युद्धविराम।
- इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने अमेरिकी प्रतिबद्धता।
- ३० दिनभित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने।
- ३० दिनभित्र इरानको व्यवस्थापनमा होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने।
- इरानको पुनर्निर्माणका लागि अमेरिका तथा उसका साझेदारबाट कम्तीमा ३०० अर्ब डलर सहयोग गर्ने योजना।
- इरानी तेल तथा ऊर्जा उत्पादनमाथिका प्रतिबन्ध हटाउने।
- इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउने।
- अमेरिका तथा उसका साझेदारले क्षेत्रमा थप सैन्य उपस्थिति नबढाउने र नयाँ प्रतिबन्ध नलगाउने।
मेहरका अनुसार अन्तिम वार्ता सुरु हुनुअघि इरानका रोक्का गरिएका सम्पत्तिको कम्तीमा आधा हिस्सा फुकुवा गर्नुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध निलम्बन हुनुपर्ने तथा नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने सर्त पनि राखिएको छ। रिपोर्टअनुसार अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावमार्फत अनुमोदन गरिने योजना छ।