काठमाडौं। संघीय संसद्मा बजेटमाथिको छलफल चलिरहँदा मन्त्रीहरूको अनुपस्थितिलाई लिएर सांसद राजेन्द्र कुमार राईले कडा विरोध जनाएका छन्।
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि छलफल गर्न रोस्ट्रममा पुगेका राईले मन्त्रीहरू नआएसम्म आफ्नो मन्तव्य सुरु नगर्ने अडान लिएका हुन्।
संसद बैठकमा नौवटा मन्त्रालयका शीर्षकहरूमा छलफल हुने कार्यसूची रहे तापनि हलमा जम्मा दुई जना मन्त्री मात्र उपस्थित रहेको देखेपछि सांसद राईले आपत्ति प्रकट गरे। उनले सभामुखलाई सम्बोधन गर्दै भने, ‘आज नौ वटा मन्त्रालयको बजेटमा छलफल छ। तर यहाँ जम्मा दुई जना मन्त्री हुनुहुन्छ। बाँकी मन्त्रीहरू खोइ? सम्बन्धित मन्त्रीहरू नभएसम्म म कसलाई आफ्ना कुरा सुनाऊँ?’
सभामुखले छलफललाई अगाडि बढाउन र उपस्थित मन्त्रीहरूले नै सबै विषय टिपोट गर्ने भन्दै पटक-टक आग्रह गरेका थिए। तर, सांसद राईले संसद्को विधि र पद्धतिको कुरा उठाउँदै उपस्थित हुन बाँकी सातै जना मन्त्री नआएसम्म नबोल्ने जिद्दी गरे।
उनले थपे, ‘म मन्दिर जान्नँ तर जनतालाई जीवित भगवान मान्छु। जनताले मलाई संसद्को थिति र नियम पालना गर्न पठाएका हुन्, त्यसैले म यो थिति बिगार्न चाहन्नँ।’
सांसद राईको अडानका कारण संसद्मा केही बेर गतिरोध सिर्जना भएको थियो। सभामुखले पटक–पटक ‘विषयवस्तुमा प्रवेश गरौँ भन्दा पनि राई रोस्ट्रममै उभिइरहे। अन्ततः मन्त्रीहरूको उपस्थितिलाई लिएर उठेको प्रश्न र सिर्जना भएको गतिरोधका कारण सभामुखले संसद्को बैठक १५ मिनेटका लागि स्थगित गर्नुपरेको थियो।
बजेट जस्तो महत्वपूर्ण विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीहरू संसद्मा अनुपस्थित हुनुले सरकार संसद्प्रति जवाफदेही नभएको सन्देश जाने भन्दै यसअघि पनि पटक(पटक प्रश्न उठ्ने गरेको छ।