काठमाडौं। बजाज सवारीसाधन एसेम्बलिङ गर्ने हुलास अटो क्राफ्टले ९ महिनामै साढे ९ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा ९ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो।
अटोमोबाइल बजारमा आएको सुधारका कारण कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ। इक्रा प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा ९ अर्ब १२ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। त्यसअघि सन् २०२३ मा ५ अर्ब ६१ करोड ४० लाख र २०२४ मा ५ अर्ब १३ करोड २० लाख रुपैयाँ आम्दानी भएको थियो।
व्यापारको बलियो आधारलाई दृष्टिगत गर्दै इक्रा नेपालले कम्पनीले उपयोग गरिरहेको कुल ३ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ ऋणको साख (रेटिङ) पुनः पुष्टि गरेको छ।
एजेन्सीले कम्पनीको ७६ करोड ६२ लाख रुपैयाँको दीर्घकालीन ऋणका लागि ‘एल त्रिपल बी माइनस’ र ३ अर्ब १७ करोड २१ लाख रुपैयाँको अल्पकालीन ऋणका लागि ‘एथ्री’ रेटिङ दिएको छ। यी रेटिङले कम्पनीको ऋण भुक्तानी क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको बुझाउँछ।
कम्पनीको वित्तीय अवस्था र प्रवद्र्धक समूहको अनुभवका आधारमा यो साख तय गरिएको हो। हुलास अटो क्राफ्ट गोल्छा अर्गनाइजेसनअन्तर्गतको कम्पनी हो। यसमा शेखर गोल्छाको ८० प्रतिशत र आकाश गोल्छाको २० प्रतिशत सेयर लगानी छ। शेखर गोल्छा कम्पनीका निर्देशक हुन्।
कम्पनीले आफ्ना सबै उत्पादन भगिनी संस्था हंसराज हुलासचन्द एण्ड कम्पनीलाई मात्र बिक्री गर्ने गर्दछ। यसले गर्दा कम्पनीको बजार र आम्दानी सुनिश्चित रहँदै आएको छ। वित्तीय सूचकका आधारमा कम्पनीको नाफा र ऋण तिर्ने क्षमता सबल देखिएको छ। चालू आवको ९ महिनामा कम्पनीको सञ्चालन नाफा ६.९ प्रतिशत पुगेको छ।
बैंकको किस्ता र ब्याज तिर्न सक्ने क्षमता बुझाउने ‘डीएससीआर’ अनुपात ३.३ गुणा छ। यसको अर्थ कम्पनीले आफ्नो आम्दानीबाट बैंकको दायित्व सजिलै पूरा गर्न सक्छ। कम्पनीको पुँजी र ऋणको अनुपात १.६ गुणा मात्र छ, जुन नियन्त्रित अवस्था हो।
सन् २०१३ मा स्थापित हुलास अटो क्राफ्टले नवलपरासीको रामग्राममा बजाजका दुईपांग्रे र तीनपांग्रे सवारीसाधन एसेम्बल गर्दछ। कम्पनीको ७२ प्रतिशत आम्दानी पल्सर मोटरसाइकलको बिक्रीबाट मात्र प्राप्त हुन्छ।
बजारमा अन्य ब्रान्डका एसेम्बलिङ उद्योग थपिँदा प्रतिस्पर्धा भने बढेको छ। यद्यपि सरकारले स्वदेशी उद्योगलाई दिएको भन्सार सहुलियतले कम्पनीलाई व्यावसायिक लाभ पुगेको रेटिङ प्रतिवेदनले उल्लेख गरेको छ।