काठमाडौं। निर्जीवन बिमा कम्पनी शिखर इन्स्योरेन्सको वित्तीय साख थप सबल र सुरक्षित देखिएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको वित्तीय अवस्थाको सूक्ष्म विश्लेषण गर्दै यसअघिको ‘डबल ए माइनस’ इस्युअर रेटिङलाई पुनः पुष्टि गरेको हो।
विशेषगरी सन् २०२५ सेप्टेम्बरमा भएको देशव्यापी दङ्गा र त्यसपछिको बाढीका कारण सिर्जित बिमा दाबीले कम्पनीको वित्तीय स्वास्थ्यमा पार्न सक्ने असरका कारण यसलाई नकारात्मक निगरानीको सूचीमा राखिएको थियो। तर, पछिल्लो विश्लेषणले कम्पनी ती दाबी भुक्तानी गर्न पूर्ण रूपमा सक्षम देखिएपछि इक्रा नेपालले कम्पनीलाई उक्त नकारात्मक निगरानीको सूचीबाट हटाउँदै यसको साख सुरक्षित रहेको स्पष्ट पारेको छ।
इक्रा नेपालले प्रदान गरेको यो रेटिङको सीधा अर्थ शिखर इन्स्योरेन्स आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्न उच्च स्तरमा सक्षम छ र यसमा लगानी वा बिमा गर्दा क्रेडिट जोखिम निकै न्यून छ भन्ने बुझिन्छ। यो रेटिङले कम्पनीको व्यवस्थापकीय कुशलता, बजारमा यसको वर्चस्व र बीमितप्रतिको उत्तरदायित्व बहन गर्ने क्षमतालाई उच्च श्रेणीमा राखेको छ।
कम्पनीले बेहोर्नुपरेको दाबीको भार र त्यसको व्यवस्थापन पक्षलाई हेर्दा शिखर इन्स्योरेन्सको जोखिम व्यवस्थापन नीति निकै परिपक्व देखिएको छ। सन् २०२५ को दंगासँग सम्बन्धित करिब २ अर्ब ७५ करोड ७० लाख रुपैयाँ बराबरको ठूलो बिमा दाबी प्राप्त भए पनि कम्पनीले बुद्धिमानीपूर्वक आफ्नो थाप्लोमा करिब १३ प्रतिशत अर्थात् ३६ करोड ३० लाख रुपैयाँ मात्र भार राखेको छ।
बाँकी ८७ प्रतिशत रकम पुनर्बिमामार्फत कभर हुने भएकाले कम्पनीको पुँजी र सञ्चित कोषमा खासै ठूलो नकारात्मक असर नपर्ने देखिएको हो।
यो रकम कम्पनीको आर्थिक वर्ष २०८१÷८२ को करअघिको नाफाको करिब ५५ प्रतिशत मात्र हुन आउँछ। यसरी अर्बौंको दाबी पर्दा पनि कम्पनीको नेटवर्थ र तरलतामा खासै धक्का नलाग्नुले यसको पुनर्बीमा व्यवस्थापन कति बलियो छ भन्ने पुष्टि गर्छ।
कम्पनीले विश्वकै नामुद पुनर्बिमा कम्पनी जर्मनीको ह्यानओभर रेसँग साझेदारी गरेको छ, जसको आफ्नै अन्तर्राष्ट्रिय साख रेटिङ निकै उच्च रहेको छ। यसले गर्दा महाभूकम्प वा दंगाजस्ता ठूला विपत्तिहरूमा पनि शिखरका बीमितले दाबी भुक्तानी पाउने सुनिश्चितता अन्तर्राष्ट्रिय स्तरकै रहेको देखिन्छ।
वित्तीय सूचकहरूको विस्तृत विश्लेषण गर्दा शिखर इन्स्योरेन्स निर्जीवन बिमा बजारको मार्केट लिडरको रूपमा अझै पनि सुरक्षित छ। कम्पनीले कुल बजारको करिब १२ देखि १३ प्रतिशत हिस्सा ओगटेको छ। आर्थिक वर्ष २०८१÷८२ मा कम्पनीले ५ अर्ब ६३ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो भने चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४ अर्ब १ करोड ७० लाख रुपैयाँ आर्जन गरिसकेको छ।
यद्यपि, दाबी भुक्तानीको चापका कारण चालु आर्थिक वर्षको ९ महिनामा बिमा व्यवसाय सञ्चालनबाट हुने नाफामा केही दबाब देखिएको छ। सन् २०२५ मा ३५ करोड ८० लाख रुपैयाँ रहेको यस्तो नाफा सन् २०२६ को ९ महिनामा दंगा र बाढीको दाबी भुक्तानीका लागि छुट्याइएको प्रोभिजनिङका कारण ५ करोड २० लाख रुपैयाँ नोक्सानीमा देखिएको छ।
तर, कम्पनीको व्यवस्थापन खर्च अनुपात ५५ प्रतिशतबाट घटेर ५० प्रतिशतमा झर्नुले आन्तरिक सञ्चालनमा कम्पनी अझ बढी मितव्ययी र कुशल बन्दै गएको संकेत गर्छ।
बिमा कम्पनीको वास्तविक तागत त्यसको शोधभर्ना क्षमता अर्थात् सोल्भेन्सी मार्जिनले देखाउँछ। यस मामलामा शिखर इन्स्योरेन्स उद्योगकै सबैभन्दा मजबुत कम्पनीमध्ये एक हो। सन् २०२५ जुलाईसम्मको तथ्यांकअनुसार कम्पनीको शोधभर्ना क्षमता ४.७४ गुणा रहेको छ, जबकि नियामक निकायले तोकेको न्यूनतम सीमा १.३ गुणा मात्र हो।
यसले के देखाउँछ भने शिखर इन्स्योरेन्ससँग नियामकले तोकेभन्दा करिब साढे तीन गुणा बढी जोखिम वहन गर्ने क्षमता छ। कम्पनीको चुक्ता पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ छ भने नेटवर्थ ५ अर्ब ८१ करोड १० लाख रुपैयाँ पुगेको छ। यसले बीमित र लगानीकर्ता दुवैका लागि कम्पनी पूर्ण रूपमा सुरक्षित रहेको बलियो आधार प्रदान गर्दछ।
लगानी पोर्टफोलियोको पाटोलाई हेर्दा कम्पनीले ८ अर्ब ३८ करोड ३० लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ। तर, पछिल्लो समय बजारमा ब्याजदर घट्दै जाँदा लगानीबाट प्राप्त हुने प्रतिफलमा भने केही कमी आएको छ। विगतमा ८ प्रतिशतको हाराहारीमा रहेको लगानीको प्रतिफल अहिले घटेर ४.४ प्रतिशतमा सीमित भएको छ।
कम्पनीको ५२ प्रतिशत लगानी बैंकको मुद्दती निक्षेपमा र १८ प्रतिशत ऋणपत्रमा रहेकाले ब्याजदरको उतारचढावले लगानी आम्दानीमा केही संकुचन ल्याएको हो। यद्यपि, कम्पनीको नेटवर्थ र पुँजीगत आधार बलियो भएकाले यसले दीर्घकालीन रूपमा खासै ठूलो जोखिम निम्त्याउने देखिँदैन।
शिखर इन्स्योरेन्सका लागि आगामी दिनमा केही चुनौती र थुप्रै अवसरहरू विद्यमान छन्। नेपालमा बिमाको पहुँच अझै पनि न्यून रहेकाले शिखरजस्तो स्थापित कम्पनीका लागि बजार विस्तार गर्ने प्रशस्त ठाउँ छ। देशभर रहेका १२९ शाखा र अनुभवी व्यवस्थापन टोली कम्पनीका मुख्य हतियार हुन्।
कम्पनीकाे पुँजी संरचनामा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर छ। कम्पनीका प्रमुख सेयरधनीमा गौरव अग्रवाल, चन्दा शेर्पा र बुद्ध एयरजस्ता प्रतिष्ठित व्यक्ति तथा संस्था रहेका छन्। कम्पनीमा गौरव अग्रवालको करिब १२ प्रतिशत, चन्दा शेर्पाको करिब ६ प्रतिशत, बुद्ध एयरको करिब ६ प्रतिशत र विकास जे.बी. राणाको करिब ३ प्रतिशत सेयर स्वामित्व छ। विगत २० वर्षदेखि सञ्चालनमा रहेको यो कम्पनीले आफ्नो साखलाई निरन्तर कायम राखेको छ।
सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीको कुल चुक्ता पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको छ। कम्पनीको नेटवर्थ (खुद सम्पत्ति) सोही अवधिमा ५ अर्ब ८१ करोड १० लाख रुपैयाँ रहेको छ। तर, बिमा क्षेत्रमा भइरहेको मर्जरपछि ठूला प्रतिस्पर्धीको उदय हुनु र कुल बिमा शुल्कमा मोटर क्षेत्रको हिस्सा करिब २९ प्रतिशत हुनुले केही जोखिम भने देखाउँछ। मोटर बिमा क्षेत्रमा नियामकले गर्ने कुनै पनि फेरबदलले कम्पनीको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।
यस्तै, दीर्घकालीन लगानीका क्षेत्र सीमित हुनु र ब्याजदरको अस्थिरताले लगानीको प्रतिफलमा पार्ने प्रभावलाई कम्पनीले सूक्ष्म रूपमा व्यवस्थापन गर्नुपर्ने रिपोर्टमा औंल्याइएको छ।