काठमाडौं। नेपालको स्टिल उद्योगमा अग्रणी नाम आरती स्ट्रिप्सले आर्थिक संकटतर्फ धकेलिएको छ। वार्षिक साढे १८ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्ने यो कम्पनीले बैंकहरूको साढे १५ अर्ब रुपैयाँभन्दा बढीको ऋण व्यवस्थापन गर्न नसकेपछि रेटिङ एजेन्सीले यसलाई नकारात्मक सूचीमा राखेको हो।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार आरती स्ट्रिप्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १५ अर्ब ६७ करोड ४२ लाख रुपैयाँ बराबरको ऋण सुविधा लिएको छ। जसमध्ये ११ अर्ब ७० करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जा मात्रै रहेको छ भने ३ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ दीर्घकालीन वैदेशिक ऋण रहेको छ। कम्पनीको कुल आम्दानीको तुलनामा ऋणको भार अत्यधिक भएपछि रेटिङ एजेन्सीले यसको वित्तीय साखमा प्रश्न उठाएको हो।
केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन बैंक कर्जा सुविधाका लागि ‘ट्रिपल बी माइनस’ र अल्पकालीन कर्जा सुविधाका लागि ‘ए३’ रेटिङ दिएको छ। भारतीय मानक ब्यूरो (बिएससी) को प्रमाणीकरण नवीकरणमा भएको ढिलाइले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बिक्री केही प्रभावित भएकाले रेटिङलाई निगरानीमा राखिएको एजेन्सीले जनाएको छ।
क्रेडिट रेटिङको भाषामा ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ को अर्थ कम्पनीको ऋण तिर्ने क्षमता कमजोर हुँदै जानु र निकट भविष्यमै यसको रेटिङ अझै तल झर्नु हो। आरती स्ट्रिप्सले आर्थिक वर्ष २०८१/८२ मा १८ अर्ब ४३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको भए पनि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा कम्पनीको आम्दानी र नगद प्रवाह अत्यन्तै कमजोर देखिएको छ। विशेष गरी बिआइएसको प्रमाणीकरण नवीकरणमा भएको ढिलाइले गर्दा ९ महिनासम्म निर्यात ठप्प हुनु र कम्पनीले लिएको ठूलो ऋणको साँवा–ब्याज भुक्तानीमा चाप पर्नु नै यसको मुख्य कारण हो।
ब्याज खर्च र नाफामा गिरावट
कम्पनीले बैंकबाट लिएको साढे १५ अर्बभन्दा बढीको ऋणका कारण यसको ब्याज खर्च निकै उच्च छ। प्रतिवेदन अनुसार कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षको १२.१० प्रतिशतबाट घटेर ९.६४ प्रतिशतमा खुम्चिएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा आएको उतारचढाव र बैंकको अस्थिर ब्याजदरका कारण कम्पनीले कमाएको नाफाको ठूलो हिस्सा ब्याज तिर्नमै खर्च भइरहेको छ। कम्पनीको ‘टोटल डेप्ट टु जीसीए’ सूचक १६.५३ गुणा पुगेको छ, जसले कम्पनीले गर्ने वास्तविक नगद आम्दानीको तुलनामा ऋणको थुप्रो निकै डरलाग्दो रहेको पुष्टि गर्छ।
आरती स्ट्रिप्सको पुँजी संरचना पनि चुनौतीपूर्ण देखिएको छ। कम्पनीको गियरिङ रेसियो १.९४ गुणा रहेको छ, जसको अर्थ कम्पनीमा आफ्नै पुँजीको तुलनामा ऋणको मात्रा झन्डै दोब्बर छ। भारतका चारवटा ठूला लगानीकर्ता कम्पनीहरू (आरती स्टिल इन्डिया लगायत)को मुख्य लगानी रहेको यस कम्पनीले विराटनगरमा वार्षिक ४ लाख ७३ हजार मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट सञ्चालन गरिरहेको छ।
कम्पनीमा भारतका चारवटा मुख्य लगानीकर्ता कम्पनीहरूको स्वामित्व रहेको छ। जसमा आरती स्टिल इन्डिया लगायतका चार भारतीय लगानी कम्पनीहरूले यसलाई प्रवर्द्धन गरेका छन्। यी भारतीय कम्पनीहरूले नै आरती स्ट्रिप्सको मुख्य लगानी व्यवस्थापन गर्दै आएका छन्। कम्पनीको नेतृत्व हाल विशाल गुप्ताले गरिरहेका छन्, जोसँग स्टिल उद्योगमा दुई दशकभन्दा लामो अनुभव छ। पछिल्लो समय कम्पनीले ९ मध्ये ७ वटा बीआईएस लाइसेन्स नवीकरण गरिसकेको र बाँकी २ वटा पनि प्रक्रियामा रहेकाले आगामी वर्ष निर्यात व्यापार अझै बढ्ने कम्पनीको अपेक्षा छ।
सन् २००१ जनवरी २१ मा स्थापना भएको आरती स्ट्रिप्सको प्लान्ट विराटनगरमा रहेको छ। यसको वार्षिक उत्पादन क्षमता ४ लाख ७३ हजार मेट्रिक टन रहेको छ। कम्पनीले आरती स्पेक्ट्रा ब्रान्डमा कलर कोटेड सिट, आरती सुरक्षामा गल्भानाइज्ड सिट र पाइप तथा आरती सिल्भर ब्रान्डमा गल्भालुम सिट उत्पादन गर्दै आएको छ।
कम्पनीले स्थापित ब्रान्डमार्फत बजारमा पकड बनाए पनि साढे १५ अर्बको ऋणको भारी र कमजोर नगद प्रवाहले गर्दा कम्पनी अहिले वित्तीय जोखिमको घेरामा परेको छ। अब कम्पनीले आफ्नो ऋण घटाउन र कार्यमूलक पुँजी व्यवस्थापन गर्न नसकेमा यो कम्पनी थप संकटमा पर्ने निश्चित देखिएको छ।