काठमाडौं। अमेरिकी सिनेटले युद्धसम्बन्धी एक प्रस्ताव पारित गरेको छ। उक्त प्रस्तावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्धको युद्ध अन्त्य गर्न वा सैन्य कारबाहीलाई निरन्तरता दिनुअघि अमेरिकी संसद्को स्वीकृति लिन निर्देशन दिइएको छ।
अमेरिकी सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेकाले यसलाई उनका लागि ठूलो राजनीतिक झट्काका रूपमा हेरिएको छ।
मंगलबार भएको मतदानमा केही रिपब्लिकन सांसदहरूले डेमोक्रेटिक पार्टीका सांसदहरूसँग मिलेर प्रस्तावको समर्थन गरेका थिए। इरानसँगको युद्धप्रति डेमोक्रेटिक सांसदहरू मात्र नभई केही रिपब्लिकन सांसदसमेत असन्तुष्ट रहेकाले यस्तो परिणाम आएको विश्लेषण गरिएको छ। प्रस्ताव ५० मा ४८ मतले पारित भएको हो।
यही प्रस्ताव यसअघि जुन महिनामा प्रतिनिधिसभाबाट पनि पारित भएको थियो। त्यहाँ चार रिपब्लिकन सांसदहरूले सबै डेमोक्रेटिक सांसदहरूसँग मिलेर २१५ मा २०८ मतले प्रस्ताव अनुमोदन गरेका थिए।
यद्यपि, यो प्रस्ताव मुख्यतः प्रतीकात्मक मानिएको छ। संसद्का दुवै सदनबाट पारित भए पनि यसलाई राष्ट्रपतिको स्वीकृतिका लागि पठाइने छैन र यसले कानुनी रूपमा बाध्यकारी प्रभाव पार्ने छैन।
सन् १९७३ मा युद्ध अधिकारसम्बन्धी प्रस्ताव लागू भएपछि कुनै राष्ट्रपतिलाई सैन्य कारबाही अन्त्य गर्न निर्देशन दिने प्रस्ताव संसद्का दुवै सदनबाट पहिलोपटक पारित भएकाले यस घटनालाई विशेष महत्वका साथ हेरिएको छ।
यस प्रस्तावले इरानसँगको युद्ध अन्त्य गर्न ह्वाइट हाउसमा थप दबाब सिर्जना गरेको मानिएको छ। युद्धका कारण इन्धनको मूल्य वृद्धि भएको छ भने युद्धविरोधी जनमत पनि क्रमशः बढ्दै गएको छ।
तर, ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएअनुसार अप्रिल ७ मा भएको युद्धविरामपछि हाल अमेरिकी सैनिकहरूलाई फिर्ता बोलाउनुपर्ने अवस्था सिर्जना गर्ने कुनै सक्रिय सैन्य कारबाही भइरहेको छैन।
ती अधिकारीका अनुसार रिपब्लिकन सिनेटर मिच म्याककोनेल र डेभ म्याककोर्मिक मतदानका बेला अनुपस्थित रहेकाले मात्र यो प्रस्ताव पारित हुन सकेको हो।
रिपब्लिकन सिनेटरहरू र्यान्ड पल, लिसा मर्कोव्स्की, सुसन कोलिन्स र बिल क्यासिडीले डेमोक्रेटिक सांसदहरूसँग मिलेर प्रस्तावको पक्षमा मतदान गरेका थिए।
डेमोक्रेटिक सिनेटर जोन फेटरम्यान भने आफ्नै दलका एकमात्र सांसद थिए, जसले प्रस्तावको विपक्षमा मतदान गरे।
आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि रिपब्लिकन पार्टीभित्र बढ्दो मतभेदको अर्को संकेतका रूपमा यस मतदानलाई हेरिएको छ।