काठमाडौं। पशु सेवा विभागले काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलिएको जनाएको छ। विभागले देशभर ८२ स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएकाले किसान, व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालले प्रेसविज्ञप्तिमार्फत विभिन्न जिल्लामा बर्डफ्लु देखिएको बताएका हुन्। विभागका अनुसार गत चैत ४ मा मोरङमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमण विस्तार हुँदै देशका ११ जिल्लाका ८२ स्थानमा पुगेको छ।
हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु संक्रमण देखिएको विभागले जनाएको छ। सुरुमा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीमा सीमित रहेको संक्रमण पछि मधेसको बारा र महोत्तरी हुँदै चितवन तथा नवलपरासीसम्म फैलिएको छ।
काठमाडौँ उपत्यकाका तीनै जिल्लामा समेत संक्रमण पुष्टि भएको छ। केही दिनअघि ललितपुरस्थित सदर चिडियाखानामा रहेका चराचुरूंगीमा पनि बर्डफ्लु संक्रमण भेटिएपछि चिडियाखाना बन्द गरिएको छ। संक्रमण नियन्त्रण तथा थप फैलावट रोक्न आवश्यक निगरानी, नमुना परीक्षण र जैविक सुरक्षासम्बन्धी उपाय अपनाइएको विभागले जनाएको छ।
विभागले कुखुरा तथा अन्य पक्षीपालन व्यवसायीलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, बिरामी वा अस्वाभाविक रूपमा मरेका पक्षी देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा संक्रमणको आशंका भएका पक्षीसँग प्रत्यक्ष सम्पर्क नगर्न आग्रह गरेको छ।
साथै संक्रमण फैलिन नदिन पशुपक्षी ओसारपसार, बिक्री वितरण तथा फार्म व्यवस्थापनमा विशेष सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ।