काठमाडौं। सन् २०२६ को ग्लोबल पासपोर्ट इन्डेक्स सार्वजनिक भएको छ। ग्लोबल पासपोर्ट इन्डेक्स रेसिडेन्सी एन्ड सिटिजनसिप एडभाइजरी फर्म ग्लोबल सिटिजन सोलुसन्सले पासपोर्ट इन्डेक्स सार्वजनिक गरेको हो।
विश्वका शीर्ष १० सबभन्दा शक्तिशाली पासपोर्टमध्ये ९ वटा युरोपेली देशका रहेका छन्। यस वर्ष स्वीडेनले विश्वकै सबभन्दा शक्तिशाली पासपोर्टका रूपमा पहिलो बनेको छ। बिनाभिसा यात्रा (भिसा–फ्री ट्राभल)लाई आधार मान्ने परम्परागत वरीयताभन्दा फरक यसमा १४ विभिन्न सूचकका आधारमा पासपोर्टको शक्ति मूल्यांकन गरिएको छ।
सूचकलाई तीन मुख्य स्तम्भमा विभाजन गर्ने गरिन्छ। भ्रमण सहजतालाई ५० प्रतिशत, लगानीका अवसर र जीवनस्तरमा २५÷२५ प्रतिशत अंक कायम गरिएको छ ।
प्रतिवेदनमा कुनै देशको पासपोर्टले अन्तर्राष्ट्रिय यात्रामा मात्र नभई बसाइँसराइ, लगानी तथा समग्र विश्वव्यापी अवसरमा कस्तो प्रभाव पार्छ भन्ने विषयको पनि मूल्यांकन गर्ने गरिन्छ। यसका लागि विश्व बैंक, विश्व आर्थिक मञ्च, दिगो विकास प्रतिवेदनलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाका तथ्यांकलाई आधार बनाइएको छ।
ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ को पछिल्लो प्रतिवेदनानुसार नेपाली पासपोर्ट विश्व वरीयतामा १६४औं स्थानमा छ। नेपाली पासपोर्टवाहकले विश्वका १० देशमा बिनाभिसा वा आगमनमा भिसा (भिसा अन अराइभल)को सुविधा प्राप्त गर्न सक्छन्। सन् २०२५ मा नेपालको पासपोर्ट १६६औँ स्थानमा थियो।
नेपाली नागरिकका निम्ति भारत, प्यालेस्टाइन, डोमिनिका, माइक्रोनेसिया, हाइटी, फिलिपिन्स, पाकिस्तान, सिंगापुरलगायत देशले बिनाभिसा वा आगमनमा भिसाको सुविधा उपलब्ध गराउँदै आएका छन्। नेपाली नागरिकले विश्वका करिब १०७ गन्तव्यमा प्रवेश गर्न भने पहिल्यै भिसा लिनुपर्छ।
ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ मा समावेश १९७ देशमध्ये भारत १२५औं स्थानमा छ। गत वर्ष भारत १२४औँ स्थानमा थियो। चीन १०४औं स्थानमा छ। पाकिस्तान १८८औं स्थानमा छ। भुटान भारतभन्दा अगाडि १३२औं स्थानमा छ। माल्दिभ्स १०७औं, श्रीलंका १४१औँ र अफगानिस्तान १९७औं स्थानमा छन्। यो सूचीको सबैभन्दा अन्तिम स्थानमा अफगानिस्तान छ।
विश्वका १० सबैभन्दा शक्तिशाली पासपोर्टमध्ये ९ युरोपेली देशका छन्। यी देशका नागरिकले भिसाबिनै संसारका अधिकांश मुलुकमा सहज यात्रा गर्न सक्छन्।
शीर्ष १० शक्तिशाली पासपोर्ट भएका देशमा क्रमशः स्वीडेन, स्वीट्जरल्यान्ड, फिनल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स र डेनमार्क (संयुक्त पाँचौं स्थान), आयरल्यान्ड, युके, नर्वे र सिगापुर छन् ।अमेरिका र फ्रान्स दुवै यो सूचीमा ११औं र क्यानडा १३औं स्थानमा छ।
इन्डेक्सको पुछारमा रहेका १० देशमा क्रमशः सुडान, कंगो (ब्राजाभिल), मध्य अफ्रिकी गणतन्त्र, कंगो (किन्सासा), इरिट्रिया, सिरिया यमन, दक्षिण सुडान, सोमालिया र अफगानिस्तान (सबैभन्दा कमजोर) छन्।