काठमाडौं। साउदी अरेबिया र रुससहित सात सदस्य राष्ट्र (ओपेक प्लस)ले दैनिक एक लाख ८८ हजार ब्यारेल तेल उत्पादन थप गर्ने भएका छन्।
अमेरिका–इजरायल र इरानबीचको युद्धपछिको प्रभावका बीच ऊर्जा बजारमा सुधारका प्रारम्भिक सङ्केत देखिन थालेपछि ओपेक प्लसका सदस्य राष्ट्रहरूले तेल उत्पादन बढाउने योजना सार्वजनिक गरेका हुन्।
ओपेक प्लसले जारी गरेको वक्तव्यमा साउदी अरेबिया, रुस, इराक, कुवेत, काजाखस्तान, अल्जेरिया र ओमानले विश्व बजारको अवस्था तथा भावी सम्भावनाबारे समीक्षा गर्न आयोजित भर्चुअल बैठकपछि आगामी अगस्टदेखि दैनिक एक लाख ८८ हजार ब्यारेलका दरले उत्पादन बढाउने निर्णय गरेको जनाएको छ।
उत्पादन बढाउने यो निर्णय लगातार पाँचौँ महिनाको वृद्धि हो। यसले सन् २०२३ मा लागू गरिएका उत्पादन कटौतीका व्यवस्थाहरू क्रमशः हटाउने प्रक्रियालाई निरन्तरता दिएको छ।
पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन र रुस, बहराइन तथा ओमानजस्ता सहयोगी तेल उत्पादक राष्ट्रहरू सम्मिलित ओपेक प्लसले सन् २०२३ को अप्रिल र त्यसै वर्षको नोभेम्बरमा तेल उत्पादन घटाएको थियो। त्यतिबेला विभिन्न बैंकहरू धराशायी भएपछि तेलसहित वस्तु बजारमा व्यापक बिक्री दबाब सिर्जना भएको थियो।
संस्थाले जारी गरेको वक्तव्यमा सदस्य राष्ट्रहरूले बजारको अवस्थालाई निरन्तर नजिकबाट अनुगमन तथा मूल्याङ्कन गर्ने जनाइएको छ। साथै आवश्यकताअनुसार उत्पादन वृद्धि जारी राख्ने, स्थगित गर्ने वा पुनः कटौतीतर्फ फर्किने पूर्ण लचकता कायम राख्ने विषयमा पनि सहमति दोहोर्याइएको छ।
यी सात राष्ट्रले परिस्थितिको पुनः समीक्षा गर्न आगामी अगस्ट २ मा फेरि बैठक बस्ने पनि बताएका छन्।
अप्रिल महिनामा प्रतिब्यारेल १२६ अमेरिकी डलरभन्दा माथि पुगेको ब्रेन्ट कच्चा तेलको मूल्य हाल युद्धअघिकै स्तरमा फर्किएको छ। इरानसँगको द्वन्द्व स्थायी रूपमा अन्त्य हुने र होर्मुज जलडमरूमध्यमा समुद्री ढुवानी सामान्य बन्ने आशा बढेसँगै मूल्यमा गिरावट आएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसउद पेजेशकियनले जुन १७ मा युद्ध अन्त्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि उक्त जलडमरूमध्यमा जहाज आवतजावत बढ्न थालेको छ। यद्यपि यो अझै युद्धअघिको स्तरभन्दा निकै कम छ।
जहाज निगरानी मञ्च ‘मरिन ट्राफिक’का अनुसार जुलाई २ मा उक्त जलडमरूमध्यबाट ३८ वटा जहाजको आवागमन पुष्टि भएको थियो। जुलाई १ मा यो सङ्ख्या ४८ थियो भने युद्धअघि दैनिक करिब १३० जहाज आवतजावत गर्ने गर्थे।
सोमबार बिहान २ बजेर १ मिनेट (विश्वव्यापी समय) सम्म सेप्टेम्बर आपूर्तिका लागि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७२ अमेरिकी डलरमा कारोबार भइरहेको थियो। यो फेब्रुअरी २७ मा कायम रहेको प्रतिब्यारेल ७२ दशमलव ४८ अमेरिकी डलरभन्दा कम हो। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि युद्ध चर्किएको थियो।
युद्धका क्रममा विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्ति हुने होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएपछि ओपेक प्लस सदस्य राष्ट्रहरू उत्पादन घटाउन बाध्य भएका थिए। निर्यात हुन नसकेका तेलका भण्डार बढ्दै जाँदा क्षेत्रीय भण्डारण क्षमता दबाबमा परेको थियो।
ओपेकका तथ्याङ्कअनुसार मे महिनामा ओपेक प्लसको कुल उत्पादन दैनिक तीन करोड ३१ लाख ३० हजार ब्यारेलमा झरेको थियो। फेब्रुअरीमा यो दैनिक चार करोड २७ लाख ७७ हजार ब्यारेल थियो।
अष्ट्रेलियाको सिड्नीस्थित बजार विश्लेषक फाबियन यिपले ओपेक प्लसको पछिल्लो उत्पादन वृद्धि वास्तविक आपूर्ति अवस्थाको तुलनामा धेरै हदसम्म औपचारिक निर्णय मात्र भएको बताएका छन्।
उनले भने, “होर्मुज जलडमरूमध्यमा लगाइएको अवरोधका कारण वास्तविक आपूर्ति महिनौँदेखि कोटाभन्दा निकै कम रहँदै आएको थियो। अहिले त्यो अवरोध क्रमशः हट्दै गएकाले मूल्य घटिरहेको छ।”
उनका अनुसार जुन १७ यता साउदी अरेबियाले त्यसअघिका तीन महिनाको संयुक्त अवधिभन्दा दोब्बरभन्दा बढी तेल ढुवानी गरेको छ। साथै समुद्री नाकाबन्दी हटेपछि इरानले पनि करिब पाँच करोड ब्यारेल कच्चा तेल बजारमा पठाइसकेको छ।
यिपले थप भने, “ओपेक प्लसको अतिरिक्त उत्पादन, थन्किएको तेल बजारमा आउनु, चीनको माग कमजोर हुनु तथा अमेरिका र रुसबाट निर्यात बढ्नुले निकट अवधिमा आपूर्तिको अधिकता देखाउँछ। तेलको मूल्य युद्धअघिकै स्तरमा फर्कनु यही अवस्थाको प्रतिबिम्ब हो।”