काठमाडौँ। सरकारी सेवाहरूलाई एउटै छातामुनि राखी डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा रहेको र सरकारी स्वामित्वमा रहेको "नागरिक एप" बाट कर्मचारी सञ्चय कोषको सेवा हटेको छ। सो एपबाट सञ्चय कोषसम्बन्धी फिचर सूचीबाट हटाइएपछि नियमित रूपमा आफ्नो खाता र मौज्दात विवरण हेर्दै आएका लाखौँ सेवाग्राही अन्योलग्रस्त भएका छन्।
विगत लामो समयदेखि नागरिक एपमा कर्मचारी सञ्चय कोषको छुट्टै खण्ड अर्थात् विकल्प उपलब्ध थियो, जसको माध्यमबाट सञ्चय कोषमा आबद्ध कर्मचारी, शिक्षक, सेना, प्रहरी तथा अन्य कर्मचारीहरूले आफ्नो खातामा जम्मा भएको रकम, ऋणको अवस्था र कोषको पछिल्लो मौज्दात सहजै हेर्न सक्थे। तर अहिले सो विकल्प हटाइएपछि सेवाग्राहीहरू मोबाइलबाटै आफ्नो खाताको विवरण हेर्न पाउने सुविधाबाट वञ्चित भएका छन्।
किन हट्यो कर्मचारी सञ्चय कोषको विकल्प?
नागरिक एपबाट सञ्चय कोषको विकल्प हट्नुको मुख्य कारण प्रत्येक आर्थिक वर्षको मसान्तमा पुराना हिसाबकिताब बन्द गरी साउन १ गतेदेखि नयाँ आर्थिक वर्षको ओपनिङ ब्यालेन्स प्रणालीमा समावेश गर्ने नियमित प्रक्रियाअन्तर्गतको प्राविधिक काम हो, कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रशासक जीवनकुमार कटुवालले बताए। ओपन ब्यालेन्स पूर्ण रूपमा अन्तिम नभएसम्म विभिन्न जिज्ञासा आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्राविधिक टोलीले प्रणालीलाई सुरक्षित राख्न एपबाट सेवा अस्थायी रूपमा हटाएको उनको भनाइ छ।
निर्धारित तालिकाअनुसार साउन २ गतेदेखि सो प्रणाली सर्वसाधारण वा सरोकारवालाले हेर्न मिल्ने गरी सञ्चालनमा ल्याउनुपर्नेमा प्राविधिक कारणले तोकिएको समयमा सम्पन्न हुन नसकेको कोषका उच्च तहका कर्मचारीहरूले स्वीकारेका छन्। सम्बन्धित सूचना प्रविधि टोलीले द्रुत गतिमा काम गरिरहेको कटुवालले क्यापिटल नेपाललाई जानकारी दिए। आइतबार सार्वजनिक बिदा परेका कारण केही प्राविधिकहरूले घरबाटै प्रणाली सुचारु गर्ने प्रयास गरिरहेका छन्। आज प्राविधिक समस्या समाधान हुन नसकेमा भोलि बिहानसम्ममा प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउने र अद्यावधिक भइसक्ने कटुवालको भनाइ थियो।
कोषमा आबद्ध योगदानकर्ताहरूका लागि वैकल्पिक उपाय
सरकारी स्वामित्वमा रहेको नागरिक एपमा यो सेवा पुनः सुचारु नभएसम्म सञ्चयकर्ताहरूले आफ्नो विवरण हेर्नका लागि विभिन्न वैकल्पिक माध्यमबाट आफ्नो खातामा भएको रकमको अवलोकन गर्न सक्नेछन्। कर्मचारी सञ्चय कोषको आधिकारिक वेबसाइटमा लगइन गरेर आफ्नो खाताको विवरण हेर्न सकिन्छ। साथै गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट कर्मचारी सञ्चय कोषको आधिकारिक मोबाइल एप डाउनलोड गरी आफ्नो पहिचान प्रमाणित गरेर पनि खाता जाँच गर्न सकिन्छ।
त्यस्तै, सरकारले विगत केही वर्षअघि नागरिक एपको बेटा संस्करण सार्वजनिक गर्दा नै सञ्चय कोषको मौज्दात र ऋणसम्बन्धी विवरण हेर्न मिल्ने सुविधा समावेश गरिएको थियो भने पछि २०७८ सालमा एपको पूर्ण संस्करण सार्वजनिक हुँदा सो सेवालाई अझ व्यवस्थित बनाइएको थियो।