काठमाडौं । सरकारले औपचारिक अनुमति नदिदैं काठमाडौंसहित देशभरका रेष्टुरेन्ट तथा क्याफेहरु खुल्न थालेका छन् । सरकारले टेक वे (प्याकिङ) का लागि मात्र रेष्टुरेन्ट सञ्चालनको अनुमति दिएकाेे भएपनि अहिले रेष्टुरेन्टहरुमा चहलपहल सुरु भएको हो ।
लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यका भित्रका रेष्टुरेन्ट र क्याफेहरु भरिन थालेका छन् । घरभाडा र बैंकको ब्याजको चेपुँवामा परेका व्यवसायीहरुले रेष्टुरेन्ट तथा क्याफेलाई सरसफाई गर्दै सुरक्षित रुपमा सञ्चालन गर्न थालेका हुन् ।
सरकारले असार १ गतेबाट रेष्टुरेन्टहरु ‘टेकवे’ का लागि खोल्न दिने निर्णय गरेको थियो । तर, तीन महिनाभन्दा बढी समय देखि बन्द हुँदा रोजीरोटी नै गुम्ने अवस्था आएको भन्दै व्यवसायीहरुले स्वतःस्फूर्त रुपमा सामाजिक दुरी कायम गरेर रेष्टुरेन्ट सञ्चालन गरेका हुन् ।

रेष्टुरेन्टहरु खुल्न थालेपछि ग्राहकहरुको चहलपहल समेत सुरु भएको छ । लामो समयदेखि घरभित्रै रहेका सर्वसाधारणहरु पनि अहिले सामाजिक दूरी र जनस्वास्थ्यप्रति चनाखो बन्दै रेष्टुरेन्टमा आउन थालेका छन् । अहिले अधिकांशं रेष्टुरेन्टहरुले ज्वरो नाप्ने देखि स्यानिटाइजर र हात धुने व्यवस्थालाई अनिवार्य गरेका छन् ।
यो सँगै टेबल कुर्सीलाई समेत दूरी कायम गरिएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले विस्तारै विस्तारै रेष्टुरेन्टहरु खुल्न थालेको बताए । ‘लामो समयदेखि घरभाडा नतिरेको, कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि व्यवसायीहरु आफैले स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आफ्नो व्यवसायहरु खोलेका हुन्,’ उनले भने ।
अहिले ठमेल, दरबारमार्ग, लाजिम्पाट, धुम्बाराही, महाराजगन्ज, कालिकास्थान, अनामनगर, नयाँ बानेश्वर, झम्सीखेल लगायतका क्षेत्रका रेष्टुरेन्टहरु धमाधम खुलिरहेको छन । केही ठूला र चेन रेष्टुरेन्ट नखोलेपनि मध्यम र साना रेष्टुरेन्टहरुले सेवा सञ्चालनमा ल्याएका हुन् ।
प्याकिङ र होम डेलिभरीबाहेक रेष्टुरेन्ट भित्रै पनि विस्तारै सेवा दिन सुरु गरिएको कालिका स्थानको क्याफे लुवाकका सञ्चालक सन्तोष भण्डारीले बताए । सरकारले दोश्रो चरणमा रेष्टुरेन्टहरुलाई पूर्ण रुपमा खोल्न दिने निर्णय गरेको भएपनि बाध्यताले अहिलेबाटै खोलेको उनको भनाई छ ।
व्यवसाय बन्द गरेर ऋण तिर्न नै मुस्किल हुने अवस्था आएपछि बाध्य भएर रेष्टुरेन्ट खोल्न थालिएको ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ नयाँ बानेश्वरका सञ्चालक विष्णुकुमार पाख्रिनले जानकारी दिए ।
होम डेलिभरीसँगै रेष्टुरेन्टमा आउने ग्राहकलाई पनि सेवा दिन थालिएको उनको भनाई छ । लकडाउनका कारण पर्यटक लक्षित रेष्टुरेन्टहरु करिब २ हजार ५ सय भन्दा बढी बन्द भएका थिए ।
त्यहाँ आबद्ध करिब ६० हजार कर्मचारीहरु समस्यामा परेका छन् । रेष्टुरेन्टमा मात्र निजीक्षेत्रको करिब २० अर्बभन्दा बढी लगानी रहेको छ ।