काठमाडौ । गत आर्थिक वर्षमा लिएको लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल भएको छ । असार ३१ गते मंगलबारसम्म सरकारले ८ खर्ब ३५ अर्ब रुपैयाँ हारहारीमा मात्र राजश्व संकलन गरेको छ ।
गत वर्ष सरकारले ९ खर्ब ४५ अर्बको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य अनुसार १ खर्ब ३५ अर्ब रुपैयाँ उठाउन सरकार असफल भएको हो । आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क लक्ष्यअनुसार असुली नभएपछि यसको असर समग्र राजश्व परिचालनमा परेको हो । अर्थ मन्त्रालयका प्रवत्ता तथा सहसचिव उत्तरकुमार खत्रीले ८ खर्ब ३५ अर्ब रुपैयाँ हारहारीमा मात्र राजश्व संकलन भएको जानकारी दिए
लक्ष्यअनुसार नउठ्ने भएपछि ६ महिनाको मध्यवाधि मूल्याँकनमा राजश्व लक्ष्य घटाएर ९ खर्ब १७ अर्ब रुपैयाँमा झारिएको थियो । यो लक्ष्य पनि पुरा नहुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा ८ खर्ब ६० अर्ब रुपैयाँ संशोधित अनुमान सार्वजनिक गरेका थिए ।
पछिल्लो लक्ष्य पनि भेट्टाउन सरकार असफल भएको हो । पछिल्लो अनुमान भन्दा २५ अर्ब रुपैयाँ कम राजश्व संकलन भएको छ । गत वर्षको अवस्थालाई हेर्दा यो वर्ष पनि ९ खर्ब ८० अर्ब रुपैयाँ राजश्व परिचालको लक्ष्य पुरा हुने संभावना कम देखिएको छ ।
गत आर्थिक वर्षमा १ खर्ब ९० अर्ब रुपैयाँ आयकर उठेको छ । गत वर्ष २ खर्ब ९ अर्ब ६८ करोड रुपैयाँ आयकर उठाउने लक्ष्य राखिएको थियो । राजश्व लक्ष्य पुरा नहुनुमा आयकरको भुमिका महत्वपुर्ण देखिएको छ ।
यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) असुली समेत कम भएको छ । सरकारले २ खर्ब ५० अर्ब रुपैयाँ भ्याट असुलीको लक्ष्य राखेकोमा २ खर्ब ४० अर्ब रुपैयाँ मात्रै उठेको छ ।
सरकारले मोवाइल सेवा प्रदायक एनसेल प्रालिबाट झण्डै ४० अर्ब रुपैयाँ लाभकर असुल गर्न सकेन । यस्तै दुरसञ्चार सेवा प्रदायकबाट पनि साढे ४ अर्ब रुपैयाँ भन्दा बढी वक्यौता असुल भएन । एनसेलको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ ।
यस्तै सरकारले पुँजीगत खर्च गर्न नसक्दा राजश्वको थप स्रोत सिर्जना हुन सकेन । सरकारले लक्ष्यअनुसार खर्च गरेको भए आयकर, भ्याटलगायत राजश्व उठ्ने थियो । यसले पनि राजश्व संकलनमा असर गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व संकलन लक्ष्य लिएकोमा ७ खर्ब २८ अर्ब रुपैयाँ मात्र असुली भएको थियो । वेरुजु असुलीलाई पनि राजश्वमा राखेर अर्थ मन्त्रालयले ७ खर्ब ३२ अर्ब रुपैयाँ असुली भएको देखाएको थियो । राजश्व संकलन २० देखि २२ प्रतिशत हारहारीम बढ्ने गरेको छ ।