काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघद्वारा संयुक्त रूपमा आयोजित नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धिका बारेमा छलफल भएको छ ।
सो कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष भवानी राणाले नेपाल भारत बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार माथि प्रकाश पारिन् उर्जावान जनशक्ति र प्राकृतिक स्रोत साधननै दुवै देशको सवैभन्दा ठूलो शक्ति भएकाले यसको समुचित उपयोग मार्फत समृद्धिको यात्राका लागि सहकार्यमा जोड उनले दिइन् ।
महासंघ र सीआईआई बीचको आपसी सम्बन्धको चर्चा गर्दै दुवै संस्थाको सहकार्यबाट आपसी हितमा थुप्रै क्षेत्रमा सहकार्य र प्रतिफल समेत प्राप्त भएको स्मरण अध्यक्ष राणाले गरिन् । कोभिड पश्चात विश्वको आर्थिक परिदृश्यमै आमुल परिवर्तन आउने कुराको संकेत गर्दै उनले आगामी दिनमा महासंघ र सीआईआई दुवै संस्था बीचको सहकार्य आवश्यक रहेको बताइन्
त्यस्तै, नेपालस्थित भारतीय राजदूतावासका द्वितिय वाणिज्य सचिव कपिध्वज प्रताप सिंले महासंघ र सीआईआईले निकै सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा खुुशी व्यक्त गर्दै आपसी लाभका क्षेत्रमा आगामी दिनमा सहकार्यलाई अझ बढी सशक्त ढंगबाट लैजानुपर्ने र त्यसका लागि भारतीय दूतावासका तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाए ।
कार्यक्रममा सीआईआई साउथ एशिया कमिटिका सहअध्यक्ष एवं हाइड्रो विजनेस जीएमआर ग्रुपका सीओओ हरविन्दर मान्चोले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै कोभिडबाट आर्थिक तथा सामाजिक जीवनमा अत्यन्त नकारात्मक असर परेको बताए । उनले कोभिड पश्चातको आपसी आर्थिक सहकार्य, व्यापार तथा लगानी विस्तारका लागि रणनीति तय गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास प्रकट गरे
भारतका तर्फबाट अशोककुमार प्रुष्टि, राकेश गउर, चैतन्य कागलकार, अन्कुल भट्टाचार्य र नेपालको तर्फबाट महासंघका कार्यकारिणी समिति सदस्य एवं निम्वसका व्यवस्थापन निर्देशक आनन्द बगारिया, एफक्यानका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डे र होटल संघ नेपालका अध्यक्ष सृजना राणाले पूर्वाधार, उर्जा, कृषि, उत्पादनमुलक र सेवा क्षेत्रमा विषयगत प्रस्तुती दिएक थिए ।
कार्यक्रमको अन्त्यमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले कार्यक्रमले दुवै देश बीच कोभिड पश्चात आपसी सहकार्य एवं आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धनमा महत्वपूर्ण मार्ग निर्देश गरेको स्पष्ट पारे