काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पदाधिकारी बैठकमा सम्पूर्ण पूर्व अध्यक्षहरुलाई बोलाइएको छ । बिहीबार दिउसो २ बजे डाकिएको बैठकमा पदाधिकारीसहित सम्पूर्ण पूर्व अध्यक्षलाई आमन्तित्र सदस्यको रुपमा बोलाइएको छ ।
कोरोना संक्रमण फैलन सक्ने भयपछि सरकारले सभा सम्मेलन गर्न रोक लगाएसँगै अनिश्चित बनेको महासंघको साधारणसभाका विषयमा छलफलका लागि पूर्व अध्यक्षहरुलाई पनि आमन्त्रित गरिएको महासंघले जनाएको छ ।
महासंघले साउन २६ र २७ गते साधारणसभा गर्ने यस अघि नै निर्णय गरिसकेको थियो । तर, मन्त्रीपरिषद् बैठकले सभा, सम्मेलन, गोष्ठी, सेमिनार अनिश्चित कालका लागि स्थगित गरेपछि महासंघको साधारणसभा थप अन्योलमा परेको हो । यही विषयमाथि छलफल र पूर्व अध्यक्षहरुसँग रायसुझाव लिन उनीहरुलाई आमन्त्रित सदस्यको रुपमा बोलाइएको महासंघले जनाएको छ ।
महासंघका पूर्वअध्यक्षहरु महेशलाल प्रधान, विनोद चौधरी, पद्यम ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रवीभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज बैद्य, प्रदीपजङ्ग पाण्डेलाई आमन्तित्र सदस्यको रुपमा बोलाइएको हो ।