काठमाडौं । कोरोना भाइरस महामारी (कोभिड १९) का कारण शारडा र राठी ग्रुपका साथै सौरभ समूहसहित केही व्यवसायीले संयुक्त लगानीमा ल्याउन लागेको नयाँ परियोजना बीचमै रोकिएको छ । तीन व्यावसायिक घरानाले ल्याउन लागेको दुई नयाँ परियोजना कोरोनाका कारण बीचमै अलपत्र परेका हुन् ।
शारडा–राठी समूहले सुनसरीमा नयाँ स्टिल उद्योग लगाउने काम अघि बढाएका थिए । यस्तै सौरभ समूहले वीरगन्जमा सर्वोत्तम स्टिल उद्योगको काम सुरु गरिसकेको थियो ।
दुईओटै ग्रुपले आवश्यक मेसिनरी सामान मगाइसकेका थिए । सौरभ समूहले त स्टिल उद्योगको धेरैजसो मेसिन जडान गरिसकेको थियो । अहिले नयाँ उद्योगको काम ठप्प प्राय भएको सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले बताए ।
शारडा–राठी समूहको संयुक्त लगानी रहेको प्रिमियर स्टिलमै स्क्याबबाट रड बनाउने उद्योग लगाउने काम अघि बढाएका थिए । उनीहरुले पनि बैंकबाट ऋण स्वीकृत गरेर मेसिन मगाउन चरणमा पुगेका थिए ।
‘त्यही बेला कोरोना महामारी फैलिएकाले काम रोकिएको छ’ शारडा ग्रुपका अध्यक्ष शिवरतन सारदाले भने, ‘स्क्याबबाट रड बनाउने उद्योग लगाउने सोचमा थियौ । त्यसका लागि लगानी पनि स्वीकृत भइसकेको थियो । कोरोनाले गर्दा रोकिएको छ ।’
सौरभ समूहले सर्वोत्तम ब्रान्ड र शारडा–राठी समूहले प्रिमियर ब्रान्डमा स्टिल ल्याउन लागेका थिए । अध्यक्ष सारदाका अनुसार झण्डै ३ अर्ब रुपैयाँ लगानीमा उद्योग स्थापना गर्न लागिएको थियो । सुनसरीस्थित अहिले भएकै उद्योगमा नयाँ मेसिन जडान गरेर त्यहीबाट स्क्याबलाई पगालेर रड बनाउने योजना रहेको छ ।
त्यसैगरी, सिमेन्ट उत्पादनमा अग्रणी सौरभ समूहले पनि वीरगन्जका स्थापित उद्योगी व्यसायीसँगको साझेदारीमा नयाँ स्टिल उद्योग लगाउन सुरु गरेको थियो । न्यौपानेका अनुसा नयाँ उद्योगमा ३ अर्ब २७ करोड रुपैयाँ लगानी गर्न लागिएको छ । उद्योग चालू आर्थिक वर्षबाट सञ्चालनमा ल्याउने काम भएको थियो । कोरोनाले पछि धकेलेको उनको भनाइ छ ।
सौरभ समूहले लगाउन लागेको उद्योगबाट बिलेटसमेत उत्पादन हुने छ । कम्पनीले विदेशबाट स्तरीय स्पन्ज आइरन र स्क्याब मगाएर बिलेट उत्पादन गर्ने योजना बनाएको हो ।
शारडा–राठी समूहसँग अहिले पनि प्रिमियर स्टिल उद्योग छ । यसको दैनिक क्षमता ८०० टन छ । यो नेपालको पूर्वी क्षेत्रको एक मात्रै स्वचालित स्टिल उद्योग हो ।