काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रलाई दिने प्रतिवद्धता जनाएको भन्दा कम भोल्टेज बिजुली दिदै आएको पाइएको छ ।
गुणस्तरीय विद्युत् उपलब्ध गराउँछु भनेर उद्योगीसँग सम्झौता गरेर सोही अनुसार रकम लिँदै आएको प्राधिकरणले प्रतिवद्धता जनाएको बिजुली नदिएको पाइएको हो ।
भैरहवा, वीरगन्ज तथा हेटौडा औद्योगिक करिडोरमा रहेका उद्योगलाई प्राधिकरणले गुणस्तरहीन विद्युत् दिएर हैरानी बनाएको उद्योगीले बताएका छन । भैरहवाका एक उद्योगीका अनुसार प्राधिकरणले ३३ केभिए भोल्टेज उपलब्ध गराउनुपर्नेमा हाल २६.७५ प्रतिशत मात्रै भोल्जेज दिइरहेको छ ।

प्राधिकरणले विभिन्न बहाना देखाउँदै खस्किएको गुणस्तर सुधार्न अझै कुनै पहल नगरेको उद्योगीहरुको भनाइ छ । लाइन ट्रिपिङको मार खेपिरहेका उद्योगीलाई प्राधिकरणले पूरा भोल्जेट समेत नदिएको पाइएको छ ।
वीरगन्जका उद्योगीका अनुसार कोरोनाको त्रास बढेपछि अधिंकाश उद्योग बन्द छन् । बन्द उद्योगले विद्युत् खपत गर्ने कुरै भएन । अलिअलि चलेका उद्योगलाई पनि प्राधिकरणले कम भोल्टेज दिइरहेको छ ।
प्राधिकरणको प्रदेश कार्यालयलाई यस विषयमा पटक पटक जानकारी गराउँदासम्म समस्या समाधान गर्नेतर्फ नलागेको उद्योगीको गुनासो छ ।
वीरगन्जमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएपछि त्यहाँका ५० प्रतिशत उद्योग बन्द छन् । केही खाद्य उद्योग चलेका छन् । ती उद्योगलाई पनि प्राधिकरणले दिन्छु भनेर सम्झौता गरेअनुरुप विद्युत उपलब्ध गराउन सकेको छैन् ।
त्यसैगरी भैरहवामा पनि कोरोना संक्रमणपछि धेरै उद्योग बन्द भइरहेका छन् । त्यहाँ पनि कुल उद्योग मध्ये ५० मात्रै चलेका छन् । ती उद्योगले पनि दिन्छु भनेअनुसारको विद्युत नपाएको गुनासो गरेका छन् ।
त्यहाँका उद्योगीका अनुसार अहिले पनि लाइन ट्रिपिङको समस्या ज्यूँका त्यूँ रहेका छन् । त्यसमाथि कम भोल्टेजको समस्या पनि थपिएको छ । कुनै बेला ह्वात्तै विद्युत आउने र भएभरमा विद्युतीय सामग्री बिग्रिने गरेको छ । कहिले चाहिने विद्युत् नआएर मेसिन नै चलाउन नसकिने अवस्था आएको उद्योगीहरु बताउँछन् ।
अहिले खासगरी, भैरहवा, बुटवल, हेटौडा, वीरगन्ज क्षेत्रका उद्योगमा चरम विद्युतको समस्या छ । पूर्व, पोखरा, चितवन तथा काठमाडौंका उद्योगमा विद्युतको कुनै समस्या छैन् ।
अत्यधिक विद्युत् खपत गर्ने उद्योग भैरहवा, बुटवल, वीरगन्ज र हेटौडा करिडोरमा छन् । त्यहीका उद्योग विद्युत् प्राधिकरणबाट पीडित बनेको हेटौडाका एक उद्योगीले बताए ।