काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्याधी कोभिड–१९ का कारण जनजीवन प्रभावित बन्दै गएपछि आफ्ना सदस्य तथा उद्योगीहरुलाई सरकारले निर्देश गरेको स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
कोभिडको जोखिम बढ्दै जान थालेकाले त्यसबाट जोखिम महासंघले सवैलाई आग्रह गरेको हो । खासगरी काठमाडौं उपत्यका, तराईका औद्योगिक केन्द्र मोरङ, पर्सा बा“के, धनुषा, स्याङजा लगायतका धेरैवटा जिल्ला र नगरहरू अहिले संक्रमणको उच्च जोखिममा रहेकाले संक्रमण नियन्त्रण गर्न आ आफ्ना स्थानबाट सहयोग गर्न आग्रह गरेको हो ।
‘जनताको स्वास्थ्य सुरक्षाका लागि कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू यतिखेर निरन्तर क्रियाशिल रहेका छन् । हामी सबैका तर्फबाट पनि हाम्रो उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी काम गर्नैपर्छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चालेका जतिपनि कार्यक्रम, योजना, घोषणा छन् तिनलाई सफल कार्यान्वयनमा लैजान हामी सवैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।’ महासंघद्धारा विज्ञप्तीमा भनिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले तीनै तहका सरकारले संक्रमण नियन्त्रण गर्न सबै पहललाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ ।महासंघले संक्रमणबाट जोगिन सरकारले निर्देश गरेका सवै स्वास्थ्य प्रोटोकलहरूलाई पालनगरी आफनो स्वास्थ्यको ख्याल गर्न आम जनसमुदायलाई आग्रह गरेको छ ।
त्यस्तै, महासंघ, संक्रमणबाट ग्रसित भई हाल उपचार गराएका शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्रमणबाट मृत्यु भएका आफन्तजनहरूप्रति समवेदना समेत प्रकट गरेको छ ।