×

हेटौंडामा ब्याट्रीको प्लान्ट बनाउँदै एसटीसी इनर्जी, वैशाखदेखि उत्पादन थाल्ने

images

काठमाडौं । एसटीसीे ग्रुपअन्र्तगतको एसटीसी इनर्जीले हेटौंडामा ब्याट्री उत्पादनका लागि उद्योग स्थापना गर्ने तयारी थालेको छ । कम्पनीले पहिलो चरणमा दुईपांग्रे सवारी साधनका लागि चाहिने ब्याट्री उत्पादनको तयारी थालेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिडका कारण २ वर्षदेखि उद्योग स्थापनाको काम प्रभावित हुँदा ढिलाइ भएको हो । अहिले विदेशबाट मेसिन ल्याएर उद्योगमा ‘सेटअप’ को तयारी गरिरहेको एसटीसी इनर्जीका प्रवक्ता मिलन पौडेलले बताए ।

विभिन्न अटो पाटर््सको बिक्री–वितरण गर्दै आइरहेको सियाट टायरको आधिकारिक वितरक एसटीसीले ब्याट्रीको सेल पनि नेपालमै उत्पादन गरी दुईपांग्रेका लागि आवश्यक ब्याट्रीहरु नेपालमै बनाउने भएको हो ।

प्रारम्भिक चरणमा दुई पांग्रे सवारी साधनका लागि ब्याट्री उत्पादन गर्ने र क्रमशः विद्युतीय दुईपांग्रे लगायत सबै खाले ब्याट्री उत्पादन गर्ने पौडेलले बताए । आउँदो वैशाखदेखि ब्याट्रीको परीक्षण उत्पादन गर्ने कम्पनीको योजना छ । 

दक्ष प्राविधिकहरुको टिमबाट काम भइरहेको र अहिलेको उद्योग निर्माणको काम अन्तिम चरणमा पुगेको पौडेल बताउँछन् । विश्व बजारका ख्याती प्राप्त कम्पनीका मेसिनहरु प्रयोग भइरहेको हुँदा ब्याट्री उत्पादन गुणस्तरीय हुनेमा कम्पनी विशवस्त छ ।

उद्योग स्थापना तयारी चरणमै रहेकाले ब्याट्रीको प्रकार तथा लगानी विवरण भने उनले खुलाउन चाहेनन् ।

गत आर्थिक वर्ष ०७७/७८ को तथ्यांकअनुसार नेपालमा ४ अर्ब ६६ करोड ७२ लाख ६४ हजार रुपैयाँको ब्याट्री विदेशबाट आयात भएको छ । जसमा लिड एसिड, निकेल क्याडमियम, निकेल आइरोन, निकेल मेटल हाईड्रिड, लिथियम आयन तथा पावर बैंक ब्याट्रीहरु आयात हुने गरेका छन् ।

खास गरी नेपालमा ब्याट्री तथा ब्याट्रीजन्य सामाग्रीहरु अस्ट्रिया, बंगलादेश, चीन, फ्रान्स, जर्मनी, भारत, कोरिया, मेक्सिको, स्पेन, थाइल्यान्ड, अमेरिका, भियतनाम, अस्ट्रेलिया, ताइवान, नामिबिया,नेदरल्यान्ड, सिंगापुर, इटाली, जापान, मलेसियालगायतका देशबाट आयात हुँदै आइरहेका छन् । 

नेपालमा ब्याट्री उद्योगको सम्भावना र बजार ठूलो रहेको नेपाल अटोमोबाइल डिलर एसोसिएसनका पूर्वसचिव तथा अटो पाटर््ससम्बन्धी जानकार अनुप बराल बताउँछन् । बरालका अनुसार ब्याट्री महत्वपूर्ण उपभोग्य वस्तु भएकाले स्थायित्वको दृष्टिले नेपालमा यसको बजार पनि एकदमै राम्रो छ ।

‘नेपालमा धेरै ब्याट्री आयात भइरहेका छन् । जुन हिसाबले यहाँ खपत भइरहेको छ, त्यसको आधारमा यसको निर्माण र बजारको पर्याप्त सम्भावना छ’, बराल भन्छन, ‘आयात गर्नुको सट्टा यहीँ निर्माण तथा उत्पादन गर्दा फाइदा हुन्छ । देशभित्रै ‘सस्टेन’ गर्न सक्ने उद्योग हो यो । भोलिका दिनमा यो दिगो उद्योगको रुपमा विकास हुन सक्छ ।’ 

नेपालमा ब्याट्री निर्माण तथा प्रयोजनका लागि विभिन्न कम्पनीहरु दर्ता भई सञ्चालनमा समेत छन् । तर, पूर्णरुपमा सिंगो ब्याट्री उत्पादन गर्ने हालसम्म नेपालमा एउटै पनि कम्पनी छैन ।

उद्योग विभागको तथ्यांकअनुसार नेपालमा हालसम्म ३ वटा कम्पनी दर्ता भएका देखिन्छ । तर, यी कम्पनीहरुले ब्याट्री निर्माण गर्दैनन् । सामान्य मर्मत सम्भार गर्दछन् । 

अहिले एसियन ब्याट्री उद्योगले नेपाली बजारमा ब्याट्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । २०१४ सालमा स्थापना भएको एसियन ब्याट्रीजले अहिले विराटनगरस्थित उद्योगमा ब्याट्री उत्पादन गर्दै आइरहेको छ । 

दैनिक ५ सयको हाराहारीमा (फुलफ्लेजमा सञ्चालन हुँदा) कम्पनीले ब्याट्री उत्पादन गर्दै आइरहेको एसियन ब्याट्रीका महाप्रबन्धक मनोज श्रेष्ठ बताउँछन् । 

नेपालको ब्याट्री बजारमा एसियन ब्याट्रीको बजारहिस्सा औसत २० प्रतिशतको हाराहारीमा रहेको श्रेष्ठको भनाइ छ । कम्पनीले लिड एसिड प्रविधिमा सोलार, इन्भर्टर, गाडी तथा ई–रिक्साका लागि ब्याट्री उत्पादन गर्दै आइरहेको छ । कम्पनीले ब्याट्रीका लागि आवश्यक प्लेट, लिड अक्साइड, क्याल्सियम तथा सेल भारतबाट ल्याउने गरेको छ । 

एसियन ब्याट्रीबाहेक २३ वर्षदेखि कुलायन ब्याट्री उद्योग पनि विराटनगरमा सञ्चालन छ । उक्त कम्पनीले भने सोलार प्रविधिका ब्याट्रीहरु निर्माण गर्दै आइरहेको छ । यसबाहेक विभिन्न साना कम्पनीले स्थानीय तहमा पुरानो ब्याट्रीलाई रि–एसेम्बल तथा रिमेकको काम गरिरहेको बरालले बताए । 

हाल केही ब्याट्री उद्योग सञ्चालनमा रहे पनि तिनले सेल ल्याएर एसेम्बल मात्र गरिरहेको अवस्थामा एसटीसीले सेलसमेत नेपालमै निर्माण गरी ब्याट्री उत्पादन गर्ने पहिलो कम्पनी बन्ने दाबी उद्योगको छ । 

नेपालको ब्याट्री उद्योग पनि विविधीकरण हुँदै गइरहेको बरालले बताए । ‘अटो उद्योगलाई सरकारले सधैं उत्पादनमा आउन पर्यो भन्छ । सरकारले भोलिका दिनमा यसलाई उत्पादन गर्दा चाहिने समाग्रीमा आवश्यक भन्सार छुट तथा सुविधाहरु दियो भने यो ‘अटो कम्पोनेन्ट’ को ठूलो उद्योग बन्न सक्छ’, उनले भने, ‘अहिले व्यापार कम्पनीले जति राजस्व तिर्छन्, रोगजारी सिर्जना गर्छन् त्यसभन्दा धेरै रोजगारी र राजस्व सिर्जना उद्योगहरुले गर्न सक्छन् ।’

सरकार विस्तारै ब्याट्री उद्योगप्रति उदार बन्दै गइरहेको र उद्योग सञ्चालनका लागि नेपालमा पनि राम्रो वातावरण रहेको महाप्रबन्धक श्रेष्ठले सुनाए । 

‘हामीले  कम्पनी सञ्चालन गरेको ८ वर्ष जति भयो । विस्तारै सरकारले पनि छुट तथा अनुदानमार्फत विभिन्न शीर्षकमा सुविधा दिएका कारण नीतिगत वातावरण त उत्साहजनक नै छ’ श्रेष्ठले भने । पछिल्लो समय विभिन्न कारणले गर्दा बजार ब्याट्रीको व्यवसाय घट्दै गइरहेको श्रेष्ठले क्यापिटल नेपाललाई सुनाए । 

केही वर्षअघि दैनिक १८ घण्टासम्म विद्युतभार कटौती (लोडसेडिङ) हुँदा ब्याट्रीको माग चरम थियो । उद्योगहरुलाई माग जति उत्पादन पुर्याउन नै हम्मेहम्मे पथ्र्यो । लोडसेडिङ बन्द भएपछि ब्याट्री बिक्न छाडे । 

सोलार व्यवसायमा सरकारमा सरकारको स्पष्ट नीति अभावका कारण उक्त उद्योग धराशायी हुँदै जाँदा सोलार ब्याट्रीको खपत पनि ओरालो लागेको उनको भनाइ छ । 

‘आजभन्दा ६/७ वर्षअघि हाम्रो सोलार ब्याट्रीको सेल्स भोल्युम करिब ६० प्रतिशत थियो । तर, अहिले साँघुरिएर करिब १० प्रतिशतमा झरेको छ । यसले व्यवसाय पनि धेरै घटाएको छ’ श्रेष्ठले सुनाए ।

सरकारले ग्रिन मोबिलिटीको अवधारण अघि सार्दै विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि भने ब्याट्री उद्योगले उत्पादनलाई विविधीकरण गर्नुपर्ने समय आएको पूर्वसचिव बराल बताउँछन् ।

उनका अनुसार पहिले वर्षमा डेढ/दुई सय वटा विद्युतीय गाडी बिक्री हुन्थे । अहिले भोल्युम बढेको छ । वार्षिक २ हजारदेखि २५ सयसम्म ईभीको बिक्री हुन्छ । ब्याट्री उद्योग पनि यतातिर सिफ्ट हुनुपर्ने आवश्यकता छ । विस्तारै हुँदै पनि छ ।

एसियन ब्याट्री उद्योगले पनि आफ्नो उत्पादनलाई विविधीकरण गर्ने नीति लिएको छ । पछिल्लो ४ वर्षयता कम्पनीले विद्युतीय अटोमोटिभ र तराईमा चल्ने ई–रिक्साको ब्याट्री उत्पादनतर्फ आफूलाई केन्द्रित गरेको छ । 


 

शुक्रबार​ २० फागुन २०७८ ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया