सोमबार, माघ ३ २०७८ १०:०४ PM

×

कर्पोरेट क्षेत्रलाई पुँजीखाता सधै बन्द गर्न संभव छ ?

images

पुँजी खाता खोल्ने विषयमा विभिन्न समयमा वहसहरु भएका छन् । यस विषयमा नेपाल राष्ट्र बैंकले पनि समय समयमा अध्ययनहरु गरेको छ । सोही अध्ययनका आधारमा केन्द्रीय बैंकले अहिलेसम्म पुँजीखाता खोल्ने निर्णय गरेको छैन । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि पुँजी खाता परिवत्र्यको विषयमा अध्ययन थाल्ने बताएका छन् । पुँजीखाता खोल्ने, नखोल्ने वा आंशिक मात्रामा खुलाउने भन्ने निर्णय अध्ययनपछि मात्र आउने छ ।  

के हो पुँजीखाता परिवत्र्य ? 

नेपाली रुपैयाँलाई पुँजीखाता कारोबार देश बाहिर लैजानका लागि सटही सुविधा दिने व्यवस्थालाई पुँजीखाता परिवत्र्यता (क्यापिटल एकाउन्ट कन्भर्टबिलिटी) भनिन्छ । नेपालमा अहिले पुँजीको एकतर्फी मात्र व्यवस्था छ । विदेशीले नेपालमा पुँजी ल्याउन पाएका छन् ।  बैंक तथा वित्तीय संस्था, ऊर्जा, उद्योग र होटललगायत सेवा क्षेत्रमा विदेशी लगानी आएको छ । तर, नेपाली लगानीकर्ताले विदेशी उद्योग, व्यवसाय, बैंक तथा वित्तीय संस्था, जलविद्युत र सेयर बजारलगयत अन्य क्षेत्रमा लगानी गर्न पाएका छैनन् ।

पुँजीखाता परिवत्र्यताले के सुनिश्चित गर्छ भने यदी नेपालीहरु विदेशमा उद्यमी छन भने उनीहरुले पुँजी लैजान सक्छन् । विदेशमा गरेको नाफा  लाभांशको रुपमा नेपालमा भित्र्याउन सक्छन् । यसबाट उद्यमशीलताको विकास हुन्छ । पुँजीको आवगमनले गर्दा अर्थतन्त्रलाई घनिभूत बनाउँछ । विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्छ । उदार नीति लिएको रहेछ भन्ने सन्देश लगानीकर्तामाझ जान्छ । नेपालले विदेशमा लगानी गर्न दिएको छ भने हाम्रो लगानी पनि फिर्ता गर्न चाहेमा सहज हुन्छ भन्ने सन्देश जान्छ । 

खुला गर्न छैन सहज

यति भनिरहँदा पुँजीखाता परिवत्र्य गर्न चुनौतिहरु धेरै छन् । नेपालमा पुँजी राखिराख्न गाह्रो छ । किनभने यहाँ पूर्वाधार छैन । कर्मचारीतन्त्रको ढिलासुस्ती छ । हुनेखाने पुँजीपतिहरु आफनो लगानी र उद्योग व्यवसाय देशबाहिर लैजान चाहान्छन । खुला गर्यो भने अहिलेसम्म भएको उद्योग व्यवसाय चौपट होला भन्ने डर हुन्छ । किनभने हाम्रा प्रणाली र पूर्वाधारहरु बलिया छैनन् ।

यस्तै संस्थागत सुशासन पारदर्शीता पनि बलियो छैन । निजी क्षेत्रमैत्री नीति र प्रक्रिया छैनन् । त्यसैले एउटा डर नेपालमा भएका पुँजीपतिहरुले ढोका खोल्नसाथ आफ्नो पुँजी भारतलगायत अन्य मुलुकमा लैजालान र यसबाट नेपालमा रोजगारी, उत्पादन र उद्योग नै नहुने अवस्था आउला । भोलीका दिनमा भएको सम्पत्ति बेचेर विदेशमा लगानी गर्छु भनेको अवस्थामा नेपालमा विदेशी विनिमय हुँदैन ।

विदेशी विनिमय सञ्चिती सखाप हुन्छ भन्ने डरका कारणले पुँजीखाताको बाहिर लैजाने पाटो हामीले खुला गरेका छैनौं । पुँजी बाहिरबाट ल्याउन (इनफलोज) खुला छ । तर, नेपालबाट बाहिर पुँजी लैजान (आउट फ्लोज) बन्द छ । अर्थात नेपालबाट बाहिर पुँजी लैजानलाई नियन्त्रण गरिएको छ । यसले गर्दा हाम्रा नीतिहरु अनुदार भए भन्ने आलोचना पनि छ । त्यही कारणले वैदेशिक लगानी पर्याप्त नआएको भन्ने आरोप बेलाबेलामा लाग्ने गरेको छ ।

सबल र दुर्बल पक्ष 

त्यसैले क्रमिक रुपमा नेपाली उद्यमीहरुलाई कुनै नियम बनाएर विदेशमा पनि लगानी गर्ने सुविधा दियो भने दोहोरो हुन्छ । यसबाट नेपाललाई पनि फाइदा हुन्छ भन्ने एउटा विचार छ । तर, यसका सबल र दुर्वल दुबै पक्ष छन । सबल पक्ष भनेको उदार आर्थिक नीति लिएकाले विदेशी लगानी आकर्षित गर्न थप मद्धत पुर्याउने, नेपाली उद्योगी व्यवसायीहरुको उद्यमशीलता विकास हुने र आफनो क्षमता जस्तै आतिथ्य सत्कार (हस्पिटालिटी) मा नेपालको राम्रो छ भन्ने सन्देश गएकाले यसबाट पनि लाभ लिन सक्ने भन्ने तर्क पनि छ । 

यसको दुर्बल पक्ष भनेको नेपालको नियम कानुन, प्रक्रिया प्रशासनिक झन्झटका कारणले गर्दा यहाँ भन्दा विदेशमा व्यवसाय गर्न सजिलो छ । यहाँ भएका हुनेखोनेले नेपालमै व्यवसाय नगरेर नेपाली उद्यमी नभएमा विदशी मुद्रा रित्तिएला सकिएला भन्ने डर छ । यस्तो अवस्थामा पनि हामीले विनिमय दर प्रणाली परिवर्तन गर्नुपर्ने हुन्छ । नेपालबाट पुँजी बाहिर जान थाल्यो भने नेपाली मुद्रा कमजोर हुन्छ र यसले निरुत्साहित हुन्छ ।

अहिलेको विनिमय दर प्रणाली  सहाउँदो स्थिर हुँदैन । पुँजीखाता परिवत्य गर्दा मौद्रिक नीतिमा परिमार्जन गर्नुपर्ने हुन्छ । विनिमयदरमा परिवर्तन गर्नुपर्ने हुन्छ । नीतिमा सुधारका साथै महंगी मूल्य वृद्धिलाई वान्छित सीमामा राख्न चुनौति हुन्छ । वित्तीय घाटा सहनसकिने अवस्थामा राख्न विवेकशील किसिमको नियम पालना गर्न थुप्रै सुधारको काम आवश्यक छन् ।

छनौटका आधारमा निर्णय गर्दा राम्रो

पूर्ण रुपमा खुला गर्न नसके पनि जुन उद्योग व्यवसाय छ राम्रो छ भने त्यसको नेटवर्थको २० प्रतिशत वा २५ प्रतिशत विदेशमा लगानी गर्न पाउने जस्ता नियम बनाएर कर्पोरेट क्षेत्रलाई पुँजी बाहिर लैजान सक्ने र उसलाई उद्यमी बनाउने देशलाई आवश्यक पर्दा फिर्ता ल्याउने व्यवस्था विस्तारै सुरु गर्नुपर्छ भन्ने एउटा विचार रहेको छ । 

पुँजीखाता परिवर्तनको काम एकैपटक गर्नु हुँदैन । किनभने हाम्रो यहाँ वेहाल अवस्था छ । बिजनेस गर्न गाह्रो छ । यहाँ पुँजी भएकाले विदेशमा सहज छ त्यहीँ लगानी गरौं भन्ने हुन्छ । विदेशी विनिमय आर्जनको स्रोतहरु सीमित छन् । पुँजीखाता परिवत्र्य नगर्दा चालुखाता र विदेशी विनिमय सञ्चिती र शोधानान्तर घाटा १५० अर्बले ऋणात्मक भएको छ । यस्तो अवस्थामा पुँजीखाता खोलिदिने हो भने त २, ३ महिनामा विदेशी मुद्रा रित्तिने संभावना हुन्छ ।

त्यसैले क्रमिक रुपमा छनौटका आधारमा (सेलेक्टिभ वेसिस) आंशिक रुपमा भारतको जस्तो ‘फूल हैन कि फूलर कन्भर्टेवल’ दिशामा पाइला चाल्दा उत्तम हुन्छ । यसबाट अरु लगानीकर्तालाई भन्न र सुधारका काम थाल्न पनि सजिलो हुन्छ । यसमा बजारको भूमिका बढी हुन्छ । विनिमयदरको भूमिका बढी भएपछि सरकार डराउनु पर्छ । विनिमय दर के होला र मेरो पुँजी सखाप होला भने हुन्छ ।

अहिले १२० रुपैयाँ प्रतिडलर नेपाली रुपैयाँ भोली अधिक अवमूल्यन भएर ५०० रुपैयाँ भइदियो भने त ठुलो सम्पत्ति सखाप हुन्छ । त्यसैले बजारदेखि डराउनु पर्ने हुन्छ । बजारमा अनुशासन आकर्षित हुन्छ । सबैले बजारअनुसार चल्नुपर्ने हुन्छ । यसमा सरकार र निजी क्षेत्र झनै अनुशासित हुनुपर्ने हुन्छ । त्यो दिशामा जाँदा राम्रो हुन्छ । 


 

शनिबार २४ पुस २०७८ १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया