आइतबार​, असोज १० २०७८ १०:३१ PM

×

विदेशी मुद्राकाे अवस्था नाजुक बनेपछि श्रीलंकामा आर्थिक संकटकाल लागू

images

काठमाडौं । श्रीलंकामा आर्थिक संकटकाल घोषणा भएको छ । श्रीलंका राष्ट्रपति गोटाबाया राजपाक्षेको संकटकाल लगाउने प्रस्तावलाई त्यहाँको संसदले अनुमोदन गरेको छ ।

राष्ट्रपतिले खाद्यान्नको मूल्य नियन्त्रण गर्न र खाद्यान्न अभाव हुन नदिन संकटकाल लगाएका हुन् । श्रीलंकामा वस्तु आयातका लागि विदेशी मुद्रा सञ्चिति पनि नाजुक अवस्थामा पुगेको अर्थमन्त्री बासिल राजपाक्षेले बताएका छन् ।

कोरोना महामारीका कारण अर्थतन्त्र ठप्प हुँदा सरकारी आम्दानी अत्याधिक खुम्चिएको छ । श्रीलंकाको पर्यटन क्षेत्रबाट आम्दानी घटेर मासिक २० लाख डलरमा सीमित भएको छ ।

दुई वर्ष अघि पर्यटन क्षेत्रको आम्दानी ४५ करोड डलर रहेको थियो । केही समय अघिसम्म श्रीलंकाको ८१ अर्ब डलर बराबरको अर्थतन्त्रमा पर्यटन क्षेत्रको हिस्सा ५% रहेको थियो । अहिले यसको विदेशी मुद्रा सञ्चिति सन् २००९ यताकै न्यून भएको छ । 

गत जुलाईको अन्त्यसम्ममा विदेशी मुद्रा सञ्चिति २.८ अर्ब डलर मात्र रहेको थियो । त्यसयता यस्तो सञ्चिति थप घटेको अनुमान गरिएको छ । सन् २०१९ को जुलाईमा भने श्रीलंकासँग ७.५ अर्ब डलर विदेशी मुद्रा सञ्चित रहेको थियो । श्रीलंकासँग विदेशी ऋणको समेत भारी रहेको छ । यसले जुलाईमा मात्र १ अर्ब अमेरिकी डलर बराबर ऋण तिरेको थियो ।

बिहीबार २४ भदौ २०७८ ०८:२९ AM मा प्रकाशित

प्रतिक्रिया