×

सानिमा बैंकले पायो आइएफसीबाट २ करोड डलर ऋण, साना तथा मझौला व्यवसायमा लगानी गर्ने 

images

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट २ करोड डलर ऋण प्राप्त गरेको छ। तरलता अभावलाई मध्येनजर गर्दै बैंकले आइएफसीसँग सो ऋण लिएको हो । 

सम्झौताअनुसार उक्त रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिनेछ । समावेशी तथा दिगो विकासको सिद्दान्तमा आधारित रही उक्त रकम ती क्षेत्रमा कर्जाका रुपमा प्रवाह गरिने बैंकको भनाइ छ ।

बैंकले गत आर्थिक वर्षमै आइएफसीसँग ऋण सम्झौता गरेको भए पनि चालू आवमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि ऋण प्राप्त भएको बैंकले जानकारी दिएको छ ।‘सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याउन सफल भएको छ,’ बैंकले जनाएको छ ।

आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस फइले भनेका छन्, ‘सानिमा बैंकमा गरिएको यो लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजिकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको छ ।’ उनले लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।

साथै, नगद प्रवाहले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव समस्या घट्ने र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई पनि कम गर्न योगदान दिने बैंकको भनाइ छ । सानिमा बैंकका सीइओ निश्चलराज पाण्डेले तरलताको असहज अपरिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमई क्षेत्रमा कर्जा प्रवाह गर्न सहज हुने बताए ।
 

बुधबार २५ साउन २०७९ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया