काठमाडाैं । अर्थतन्त्रकाे बाह्य क्षेत्र झन्-झन् बिग्रिँदै गएकाे तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेकाे छ । चालू आवकाे ४ महिनामा १५० अर्ब शाेधनान्तर घाटा थियाे । तर, ५ महिनामा शाेधनान्तरस्थिति १ सय ९५ अर्ब घाटामा गएकाे हाे । शाेधनान्तर लगातार घाटामा जान थालेपछि अर्थतन्त्रकाे बाह्य क्षेत्र बिग्रिँदै गएकाे छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तरस्थिति १०६ अर्ब ४८ करोड रूपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तरस्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको छ । विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ ।
शोधनान्तरस्थिति देशको आर्थिक स्थायित्व र सबलतासँग सीधै सम्बन्धित हुन्छ। यसले एक देशले अर्को देशसँग गर्ने वित्तीय लेनदेनको हिसाब किताबलाई जनाउँछ। देशबाट बाहिरिने रकमका तुलनामा भित्रिने रकम बढी भएमा शोधनान्तर स्थिति सकारात्मक हुन्छ, भित्रिनेभन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर घाटा हुन्छ।
विदेशबाट वस्तु र सेवा आयात, वैदेशिक भ्रमण तथा शिक्षा, हवाई यातायातको टिकट खरिद आदिका लागि देशबाट रकम बाहिरिन्छ। विदेशमा गरिने वस्तु र सेवाको निर्यात, पर्यटकले ल्याउने रकम, रेमिटेन्स आदि मार्फत देशमा रकम भित्रिन्छ। कुनै पनि देशको अर्थतन्त्रको स्वास्थ्य कस्तो छ भनेर मापन गर्ने एउटा औजार भुक्तानी सन्तुलन वा शोधनान्तर स्थिति पनि हो।
खस्किँदै गएको विदेशी विनिमयको सञ्चितिका कारण श्रीलंकाले अहिले देशको अर्थतन्त्रमा ठूलो सङ्कट बेहोरिरहेको छ। सन् १९९१ मा भारतले विदेशी विनिमय अभावको यस्तै ठूलो सङ्कट भोगेको थियो। विदेशी मुद्राको सञ्चितिले विदेशबाट एक महिनाभन्दा पनि कम समयको मात्र आयात धान्न सक्ने स्थिति निम्तिएपछि समस्या समाधानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोग माग्नुपरेको थियो।
१) आयात ५९.५ प्रतिशतले र निर्यात १०५.६ प्रतिशतले बढेको छ ।
२) विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले घटेको छ ।
३) शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा छ ।
४) कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ३ करोड अमेरिकी डलर रहेको छ ।
५) संघीय सरकारको खर्च रु.३८७ अर्ब ३ करोड र राजस्व परिचालन रु.४१२ अर्ब ४० करोड छ ।
६) विस्तृत मुद्राप्रदाय १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.९ प्रतिशतले बढेको
छ ।