सोमबार, माघ ३ २०७८ ०९:३३ PM

×

कोरोनाको उपचारमा ८ महिना, मासिक खर्च १ करोड, बेचे ५० एकड जमिन तर...

images

भारतको मध्यप्रदेश (एमपी) मा पर्ने रिवा जिल्लाका एक किसान धर्मजय सिंह आठ महिनाअघि कोरोना संक्रमित भए । संक्रमित भएपछि रिवाकै सञ्जय गान्धी अस्पतालमा उनलाई उपचारका लागि भर्ना गरियो । 

तर, फोक्सोमा धेरै संक्रमण भइसकेको थियो ।

उपचारमा परिवारले प्रतिमहिना १ करोडका दरले ८ करोड खर्च गर्यो । 

फोक्साे शतप्रतिशत संक्रमण

८ महिनापहिले रिवा जिल्लाको रकरी गाउँ निवासी सिंहलाई कोरोनाको लक्षण महसुस भयो । त्यसपछि उनले पीसीआर टेस्ट गरे । र, रिपोर्ट आयो, पोजेटिभ । यसपछि उनी एमपीकै सञ्जय गान्धी अस्पतालमा भर्ना भए । स्वास्थ्य अवस्थामा कुनै सुधार नदेखिएपछि एयरलिफ्टमार्फत चेन्नईस्थित अपोलो हस्पिटल लगियो । 

देशमा चिर–परिचित डाक्टरका साथै लन्डनका डाक्टरसमेतले उनको उपचार गरे । 

विडम्बना ! मंगलबार राति उनले अपोलो हस्पिटलमा अन्तिम सास फेरे ।

स्ट्रबेरी र गुलाबको खेती

सिंह मध्य प्रदेशका प्रगतिशील किसानमध्येका एक थिए । रकरी गाउँका निवासी सिंहको पूरै प्रदेशमा छुट्टै पहिचान थियो । उनले स्ट्रबेरी र गुलाबको खेतीबाट उक्त परिचय बनाएका थिए । २६ जनवरी २०२१ मा मुख्यमन्त्री शिवराज सिंह चौहानले उनलाई सम्मानसमेत गरेका थिए ।

दुई मे २०२१ मा कोरोनाको पोजेटिभ रिपोर्ट

आफन्तहरुका अनुसार अकस्मात् स्वास्थ्यमा समस्या देखिएपछि ३० अप्रिलमा कोभिड टेस्ट गरे । २ मेमा रिपोर्ट त आयो । तर, पोजेटिभको । पोजेटिभ देखिएपछि सञ्जय गान्धी अस्पतालमा भर्ना भए । त्यहाँ उनको उपचार १८ दिनसम्म चल्यो । 

१८ दिनको उपचारले पनि सिंहको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि उचित उपचारका लागि चेन्नई लगिए । कोरोना संक्रणबाट त ४ दिनभित्रै मुक्त भइसकेका थिए । तर, फोक्सो पूरै ध्वस्त भइसकेको थियो । यसकारण उनलाई एक्मो मेसिनद्वारा नयाँ जीवन दिने कोसिस भयो । 

अचानक ब्लड प्रेसर कम

एक हप्ताअघि अचानक सिंहको ब्लड प्रेसर कम भयो । त्यसपछि चिकित्सकले आईसीयूमा सिफ्ट गरे । त्यहाँ उनलाई ब्रेन ह्यामरेज भयो । यति धेरै रोग एकसाथ देखिँदा उनी ठीक हुन सकेनन् । र, यसरी ८ महिना लामो उपचारपछि उनले मृत्युवरण गर्नुपर्यो ।

परिवारका अनुसार उनको उपचारमा ८ करोड रुपैयाँ खर्च भयो । एक्मो मेसिनको खर्च नै दैनिक दुईदेखि तीन लाखसम्म थियो । भेन्टिलेटर फेल भएपछि बिरामीलाई एक्मो मेसिनको आवश्यकता पर्छ । 

यसरी किसान धर्मजय सिंहको उपचारका लागि उनको परिवारले ५० एकड जमिन बेच्नुपर्यो । 

धर्मजयका दाजु प्रदीप सिंह वकिल हुन् । ‘हामीले भाइलाई बचाउने पूरै कोसिस गर्यौं’ उनले भने, ‘उपचारमा ८ करोड खर्च भयो । पैसाको कमीले उपचार नरोकियोस् भनी ५० एकड जमिन पनि बेच्यौं । तैपनि भाइलाई बचाउन सकिएन ।’

कुनै बेला सरकारबाट सम्मान ग्रहण गरेका सिंहको उपचारमा सरकारले ४ लाख रुपैयाँको न्यून सहयोग गर्यो । दैनिक उपचार खर्च नै ३ लाखसम्म हुन्थ्यो ।

-एजेन्सीकाे सहयाेगमा ।

बिहीबार २९ पुस २०७८ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया