बुधबार, असार २ २०७८ ०८:०५ PM

×

‘सरकारी उदासीनताले अक्सिजन अभाव भयो, हामी जिम्मेवारीबाट भागेका छैनौं’

images

एक वर्षअघि नेपालमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहरले संक्रमितहरूलाई अहिलेको जस्तो धेरै अक्सिजनको  आवश्यकता परेको थिएन् । 

छिमेकी मुलुक भारतमा पनि संक्रमितहरूलाई अहिलेको जसरी धेरै अक्सिजनको आवश्यकता परेको थिएन र अहिलेकै जस्तो हाहाकार भएको थिएन । त्यही भएर नेपालका अस्पतालहरूले आफूलाई जति चाहिन्छ, त्यति मात्र अक्सिजन उत्पादन र भण्डारण गर्दै आएका थिए ।

तर, एक्कासि फैलिएको दोस्रो चरणको नयाँ भेरियन्टका बिरामीहरूलाई अक्सिजनको आवश्यकता पर्यो र बजारमा एकाएक हाहाकार भयो । भारतमा हाहाकार भएको समाचारहरू प्रकाशन भएसँगै नेपालमा पनि त्यसका तयारीमा सरकार लाग्नुपर्ने हो ।

तर, यहाँ त सरकारसँग त्यस विषयमा एक दिन पनि छलफल र समन्वय भएन । स्थानीयहरू आफु नै सचेत भएर घर–घरमा अक्सिजन सिलिण्डरको जोहो गर्न थाले । जसको कारण बजारमा अक्सिजन सिलिण्डरको कृतिम हाहाकार भयो ।

अस्पतालमा भएका सिलिण्डरहरू बिरामीहरू नै भरिभराउ भएको र बजारमा रहेका सिलिण्डरहरू केही पैसा हुनेहरूले किनेर घर घरमा भण्डारण गरेर पनि हाहाकार मच्चियो । यसमा सर्वसाधारणको कुनै दोष नै देखिँदैन । दोषी भनेको सरकार नै हो । सरकारले कहिल्यै पनि नेपालमा दोस्रो लहरको कोभिडको संक्रमण आउला र अक्सिजन अभाव भएर दैनिक सयौं जनाले ज्यान गुमाउला भनेर तयारी कहिल्यै गरेको थिएन र गरेन पनि ।

अक्सिजन प्लान्टका सञ्चालकहरूसँग सरकारले पहिलानै सोध्नु पथ्र्यो कि अहिलेको अवस्था कस्तो छ र दोस्रो लहर आयो भने कति चाहिन्छ भनेर । अहिले कति उत्पादन भइरहेको छ र अब त्यसलाई बढाउनु पर्यो भने त्यसको तयारी के कस्तो गर्ने भनेर तयारी हुनुपर्ने हो । तर, सरकारले यस विषयमा कहिले पनि सोचेन ।

अहिले आएर अक्सिजन उद्योगहरूले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन । जति उत्पादन क्षमता हो, त्योअनुसार भइरहेको छ । त्यसमा पनि बेला–बेलामा बिजुली जाने समस्यामा मेसिनमा आउने समस्याको कारण पूर्णरूपमा उत्पादन गर्न सकिरहेको हुँदैन । 

अक्सिजन भन्ने चिज लुकाएर लुकाउन सकिँदैन । सिलिण्डरहरू सर्वसाधारणले जोहो गरेको हुनाले केही मात्रामा लुकाएको हुनसक्छ । तर, यो पनि गलत हो । सर्वसाधारणले त्यसरी राखेको रहेछ भने पनि सरकारलाई फिर्ता दिएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।

अहिलेको अवस्थामा अक्सिजनको अभाव भएकै हो । अक्सिजन नै नभएपछि अस्पतालहरूले बिरामी भर्ना गरेर मात्र के गर्ने ? त्यही भएर अहिले निजी अस्पतालहरूले बिरामी लिन नसक्ने जानकारी दिएका हुन् ।

यसमा सरकार ‘फेलिएर’ भएकै हो । बेलैमा जनताको स्वास्थ्यको विषयमा गम्भीर भएर अक्सिजन लगायतका आवश्यक औषधीहरूको जोहोमा लागेको भए अहिले यो अवस्था आउँदैन थियो । सरकारमा बस्नेहरूको ध्यान अर्कैतिर हुँदा जनताले यो हालत व्यहोर्नु परेको छ ।

अहिले त अक्सिजन मात्र अभाव छ, अबको केही सातापछि औषधीको पनि अभाव हुन्छ । यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिएको देखिँदैन । खाली अरूलाई गाली गर्ने र जिम्मेवारीबाट पन्छिन मात्र खोज्ने प्रवृत्ति सरकारी निकायहरूमा देखिएको छ । हुन त सरकारले कहिले नै हेरेको छ र ? सरकारले हेरेन भनेर भन्नुभन्दा पनि हामी आफैं सचेत हुनुपर्छ ।

सरकारले यदि कोभिडका बिरामीहरूलाई हेर्ने हो र जनतालाई अक्सिजन अभावमा मर्नबाट जोगाउने हो भने तत्कालै भारत वा चीनबाट जहाँबाट भए पनि ठूलो अक्सिजन प्लान्ट नराखेसम्म तपार्इं हामीले मिडियामा लेखेर, प्लान्टवालालाई गाली गरेर र सरकारलाई गाली गरेर केही हुने वाला छैन ।

पहिला त निजी क्षेत्रले प्लान्ट राखेकै हो । तर, त्यो बेला उनीहरूको उत्पादनको माग नै कम थियो । अहिले भएका प्लान्टहरू आफूलाई चाहिने जतिमात्र राखेको हुन्छ । अस्पतालहरूले पनि सीमित मात्र राखेको हुन्छ । अहिले अस्पतालहरूमा उत्पादन भएको प्लान्टले ५ देखि १० प्रतिशत पनि पुग्दैन । अहिले अक्सिजन र सिलिण्डर दुवै अभाव हो । अक्सिजन पर्याप्त मात्रामा नपाएकै कारण सिलिण्डरको अभाव भएको हो । 

निजी अस्पतालहरू कोभिडका बिरामीको उपचार गर्ने जिम्मेवारीबाट भागेको होइन । हामी त जति धेरै बिरामीलाई उपचार गर्न पायौं त्यति नै खुसी हुने हो नि ! तर, बरामीलाई बेडमा राखेर अक्सिजन नदिएर छटपटाएर राख्न त हाम्रो नैतिकताले दिँदैन । 

त्यही भएर बिरामीलाई छटपटाएर राख्नुभन्दा उपचारमा लिँदैनौं भनेका हौं । जसले गर्दा अरू अस्पतालमा कम्तीमा राम्रो उपचार त पाउन सक्छ भन्ने हाम्रो धारणा हो । तर, हामी जिम्मेवारीबाट भागेका छैनौं, सरकारले आवश्यक अक्सिजन उपलब्ध गराउने हो भने बिरामीको उपचार गर्न तत्पर छौं ।

( थापा अल्का अस्पतालका सञ्चालक एवम् एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल(अफिन)का वरिष्ठ उपाध्यक्ष हुन् )
 

शनिबार १ जेठ २०७८ ०४:१० PM मा प्रकाशित

प्रतिक्रिया