काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान विभागले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायब सुब्बाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
विभागले सुब्बा झाले विभिन्न कार्यालयमा कार्यरत रहँदा गैरकानुनी रुपका अकुत सम्पत्ति आर्जन गरेको जनाएको छ ।
२०३९ मंसिर ९ मा गाविससचिव पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका झा त्यसउप्रान्त विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साउनमा अवकाश प्राप्त गरेका थिए । तर, निजको परीक्षण अवधि २०३९।४० देखि २०७७–७८ सम्मको समग्र आय÷व्यय हेर्दा आयआर्जनतर्फ पारिश्रमिक बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी संचयकोषको ऋण, कृषि आय, सवारी साधनको आय, बिमा म्याचुरीटि र न्यू थ्री ब्रदर्स एन्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आयसमेत गरी २ करोड ८२ लाख ६७ हजार १०४ रुपैया आयरआर्जन गरेको देखिएको विभागको भनाइ छ ।
यस्तै व्ययतर्फ जग्गा खरिदमा, विभिन्न बैंकबाट लिएको ऋणको सावाँब्याज, विभिन्न प्रकारका सवारी साधन (जेसिभी) स्कार्पियो, बोलेरो, ट्याक्टरसमेत खरिद, घर निर्माण, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एन्ड बिल्डर्स र नीति कन्सट्रक्सन समेतका व्यावसायिक फर्म तथा कम्पनीको दर्ता तथा सञ्चालनमा, कृषि उपकरण खरिदसमेत गरी ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँबराबरको खर्च तथा लगानी गरेका थिए ।
यसरी झाको समग्र आयबाट खर्च घटाउँदा हुन आउने २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँबराबरको वैधानिक स्रोत नखुलेको भन्दै विभागले झाउपर साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अनुसार मुद्दा दायर गरेको हो ।
झाले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये स्रोत नखुलेको १ करोड ७५ लाख १३ हजार ३२३ रुपैयाँ बराबरको सम्पत्ति तथा सोही सम्पत्तिमध्ये आंशिक रुपमा स्रोत खुलेको ६३ लाख ७३ हजार ५५ रुपैयाँ बराबरको सम्पत्ति एवं बाँकी अपुग बिगो रकम निजको नाममा रहको नेपाल इन्भेस्टमेन्ट बैंकसमेत गरी २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ जफत गर्न माग गरेको छ ।
साथै विभागले झाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत आफ्नी एकासगोलकी पत्नी मीनादेवी झा एवं एकासगोलका छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा राखेको देखिएको भन्दै निजहरुको नाममा रहेको सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र मीनादेवी झा, दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झालाईसमेत प्रतिवादी कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।