×

८ लाखको डिजेल खर्चेर नाडा इभी एक्सपोमा जेनेरेटरबाट बिजुली 

images

काठमाडौं। इन्धन खपत घटाउन विद्युतीय सवारीसाधन (इभी) मा आकर्षण बढाउने उद्देश्यसाथ पहिलोपटक आयोजना गरिएको ‘नाडा इभी एक्सपो २०२२’ मा जेनेरेटरबाट बिजुली बालिएको छ।

झन्डै ८ लाख रुपैयाँको डिजेल खर्चेर एक्सपोमा विद्युत उपलब्ध गराउनु पर्दा आयोजकले दिनभरि सास्ती भोगे। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा इभीमात्र लक्ष्य गरी बिहीबारबारट सुरु भएको एक्सपो असोज ९ सम्म चल्ने छ।

एक्सपोमा चार पाङ्ग्रे, तीन पाङ्ग्रे र दुई पाङ्ग्रे इभीका साथै त्यसमा प्रयोग हुने ब्याट्री, टायर लगायत राखिएका छन्। 

त्यहाँ गरिने भाषण, विभिन्न ब्यानरमा ‘स्वदेशी उत्पादनको बिजुली खपत बढाऔं, वातावरण प्रदुषण हुनबाट बचाऔं’ लेखिए पनि एक्स्पो हलमा प्रयोग हुने विद्युत जेनेरेटरबाट उपलब्ध गराइएको छ। 

भित्र वातावरण प्रदुषण रोक्न अब विद्युत प्रयोग बढाउने भनिए पनि हल बाहिर ठुल्ठूला जेनेरेटरमा डिजेल हालेर विद्युत आपूर्ति गराइएको छ।

एक्सपो समितिका सभापति अनुपकुमार बरालले डिजेलमार्फत सञ्चालन हुने जेनेरेटर चलाएर आवश्यक बिजुली उपलब्ध गराइरहेको बताए। नेपाल विद्युत प्राधिकरणले आवश्यक बिजुली उपलब्ध नगराएकै कारण दैनिक लाखौं खर्चेर जेनेरेटर सञ्चालन गरिरहेको उनको भनाइ छ। 

‘चार दिनमा न्यूनतम ८ लाख रुपैयाँभन्दा बढी जेटेरेटरमै खर्च हुन्छ,’ बरालले क्यापिटल नेपालसँग भने, ‘भाषण गर्नु र कार्यिन्वयन गर्नुमा धेरै फरक छ।’

प्राधिकरण केन्द्रीय कार्यालयबाट ५ सय मिटर दुरीमा रहेको भृकुटीमण्डपमा हुने अधिकांश कार्यक्रममा जेनेरेटर नै प्रयोग हुने गरेको छ। भृकुटीमण्डपमा ट्रान्सफर्मरसहितको सुविधा नदिएकै कारण महँगो शुल्क तिरेर जेनेरेटर प्रयोग गर्न बाध्य भएको भन्दै सभापति बरालले अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका छन्। 

‘विद्युतीय सवारीसाधनलाई बढावा दिन भन्दै कार्यक्रमको आयोजना गरिएको छ,’ बरालले भने, ‘तर, मैले अहिले बोलेको माइकमा जडान भएको बिजुली पनि डिजेल हालेर चलेको जेनेरेटरको हो।’

भृकुटीमण्डप सञ्चालन गर्दै आएको समाज कल्याण परिषदका सूचना अधिकारी सञ्जयकुमार मल्लिकले मागअनुसार बिजुली उपलब्ध गराउन नसकेको स्वीकारे। भृकुटीमण्डपमा प्राधिकरणले ‘थ्री फेज लाइन’ जडान गरे पनि नाडाको मागअनुसार बिजुली उपलब्ध गराउन नसकिँदा जेनेरेटरको प्रयोग गर्नुपरेको उनको भनाइ छ।

सामान्यतयाः वर्षमा दुईपल्ट यस्ता कार्यक्रम हुने र त्यतिका लागिमात्र माग बढाउँदा अरूलाई मर्का पर्ने मल्लिकको दाबी छ। ‘एकैपटक चार/पाँच गुणा बिजुली क्षमता बढाउन सक्ने अवस्थामा हामी छैनौं,’ उनले भने। 

विद्युतको पावर थप्ने विषयमा परिषदमा छलफल गरिए पनि त्यसभित्र सञ्चालनमा रहेका अन्य व्यवसायीलाई मर्का पर्ने निष्कर्षले प्राधिकरणमा कुनै जानकारी नगराएको उनले बताए। 

अर्थमन्त्री शर्माले विद्युत उपयोग बढाउन इभी प्रयोग बढाउनुपर्ने, नेपालमै इभी उत्पादन गर्नुपर्नेमा जोड दिएपछि डिजेलमार्फत जेनेरेटर चलाउनुपरेको बाध्यताबारे  कुनै प्रतिक्रिया दिएनन्।

पार्किङ शुल्क ५० हजार

भृकुटीमण्डपभित्र आयोजना गरिएको इभी एक्स्पोको चार दिनको भाडा १५ लाख रुपैयाँ निर्धारण गरिएको छ। आयोजक आफैंले ‘सेटअप’ गर्ने भए पनि हल भाडामात्र १५ लाख रुपैयाँ तिरेपछि पनि त्यहाँ जाने सवारीसाधनले पार्किङ शुल्क छुट्टै बुझाउनुपर्छ। ‘हामीले चार दिनको पार्किङ शुल्क ५० हजार रुपैयाँ छुट्टै बुझाउनुपर्छ। यो अर्को विकृति हो,’ सभापति बरालले भने।

बिहीबार ६ असोज २०७९ ०८:४० PM मा प्रकाशित

प्रतिक्रिया