काठमाडौं । मोटरसाइकल एसेम्बल्ड फ्याक्ट्रीले दुई पाङ्ग्रे सवारीसाधनका पार्टपुर्जा नेपालमै उत्पादन गर्ने भएका छन् ।
अहिले बजाज र टीभीएसले नेपालमै बाइक एसेम्बल्ड गरिरहेका छन् । उनीहरूले दुई पाङ्ग्रेका लागि आवश्यक पर्ने पार्ट्समध्ये ३० प्रतिशत यहीँ उत्पादन गर्न लागेका हुन् । त्यसका लागि थप २ अर्ब रुपैयाँ लगानी थपिने भएको छ ।
विगत ३ वर्षदेखि गोल्छा ग्रुपले नवलपरासीमा बजाजका हरेक मोडल उत्पादन गर्दै आइरहेको छ । बाइकको एसेम्बल्ड प्लान्टसँगै अरू धेरै एनसीलरी (सहायक) उद्योगहरू पनि स्थापना गर्न लागेको ग्रुपका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । ‘सिट कभर, सिट बनाउन आवश्यक पर्ने फर्म, मोटरसाइकलको भाइजरलगायतका धेरे प्रडक्टहरू यहीँ बनाउन लागिएको हो,’ उनले क्यापिटल नेपालसँग भने, ‘केही समयपछि विदेशबाट बाइकका इन्जिनलगायतका पार्टपुर्जा आयात हुनेछन् ।’
अहिले सुरुआती चरणमा ३० प्रतिशत सामग्री यहीँ उत्पादन गर्न लागिएको र त्यसका लागि आवश्यक संरचना बनाउने तयारी भइरहेको छ ।
बजाजसँगै टीभीएसले पनि नेपालमै एनसिलरी उद्योग लगाउने तयारी गरेको छ । शंकर ग्रुपले वीरगंजमा टीभीएसका मोटरसाइकल, स्कुटर तथा तीन पाङ्ग्रे सवारी साधन बनाइरहेको छ । अहिलेसम्म सम्पूर्ण पार्ट्स विदेशबाट ल्याएर यहाँ जोड्ने काम भइरहेको छ । अब धेरैजसो उत्पादन यही बनाउने शंकर ग्रुपको तयारी छ ।
पहिलो चरणमा ३० प्रतिशत पार्टपुर्जा यहीँ बनाउने र एक वर्षपछि बाँकी ७० प्रतिशत पार्टपुर्जा पनि नेपालमै बनाउने तयारी छ ।अहिले बजाजका सम्पूर्ण मोटरसाइकल नेपालमै एसेम्बल्ड हुँदै आएका छन् । सरकारले प्रतिस्थापन बजेटमार्फत मोटरसाइकलको भन्सार बढाउनुका साथै स्वदेशमा एसेम्बल्ड गर्नेलाई अन्तःशुल्कमा थप २५ प्रतिशत सहुलियत दिएपछि नेपालमै एनसिलरी उद्योग लाग्न सुरु भएका हुन् ।
सरकारले मोटरसाइकल एसेम्बल्ड गर्दा पहिलो वर्ष कम्तीमा १० प्रतिशत र पाँच वर्षको अन्त्यसम्ममा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्ने गरी कानुन ल्याएपछि नेपालका एसेम्बल प्लान्टहरू एनसिलरी उद्योग स्थापना गर्नतर्फ लागेका हुन् ।
नेपालमै पार्टपूर्जा बनाउँदाबित्तिकै एकातिर रोजगारीको अवसर सिर्जना हुन्छ भने अर्कोतिर विदेशबाट त्यस्ता सामानको आयात रोकिने गोल्छाले बताए । ‘हरेक देशमा यसैगरी उद्योगको विकास भएको हो,’ उनले भने, ‘पहिला सीकेडी लाग्ने हो । पछि एसकेडीमा जाने हो । अहिले नेपालका मोटरसाइकल एसेम्बल्ड प्लान्ट सोही प्रक्रियामा अघि बढेका छन् ।’