×

काठमाडौंमा ३१ सय मेगावाट आपूर्ति पूर्वाधार बनाउन जग्गा अधिग्रहण गर्दै प्राधिकरण

images

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यका र आसपास जिल्लामा थप भरपर्दो, गुणस्तरीय र नियमित उच्च भोल्टेजको बिजुली आपूर्ति पूर्वाधार निर्माणको तयारी थालेको छ।

विद्युत प्राधिकरणले काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रेपलाञ्चोक जिल्लामा विद्युत आपूर्तिमा देखिएका समस्या समधान गर्न २ सय २० केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माण प्रक्रिया अघि बढाएको हो।

यसका लागि प्राधिकरणले जग्गा अधिग्रहण सुरु गरेको छ। विद्युत प्रणालीको संरचनागत सुधार, स्तरोन्नति तथा विस्तार गरी आगामी ३० वर्षसम्म उपत्यकाभित्र बिजुली माग सहज सम्बोधन गर्न तथा प्रसारण लाइन तथा सबस्टेसनजस्ता ठूला पूर्वाधार अभावका कारण हुन सक्ने बाध्यकारी लोडसेडिङ अन्त्य गर्न सरकार र विद्युत प्राधिकरणको लगानीमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ३ र ५ मा २ सय २० केभी क्षमताको सबस्टेसन निर्माण गर्न लागेको हो।

हाल प्राधिकरणले बिजुली आपूर्ति सहज बनाउन भूमिगत विद्युत प्रणाली विकास गरिरहेको छ। उपत्यकाभित्रका प्रस्तावित प्रसारण लाइन पूर्वाधार बनाउन ४० अर्ब रुपैयाँसम्म लाग्ने अनुमान प्राधिकरणको छ। उसले आगामी केही वर्षभित्र ३ हजार १ सय मेगावाट बिजुली आपूर्ति पूर्वाधार बनाउने घोषणा गरिसकेको छ।

अहिले जेनतेन ५ सय मेगावाटसम्म बिजुली आपूर्ति धान्न सक्नेमात्र पूर्वाधार भएकाले क्षमता बढाउन प्रसारण लाइन, सबस्टेसन पूर्वाधार निर्माण तयारी गरिरहेको हो। कमजोर प्रसारण तथा सबस्टेसन पूर्वाधारका कारण ‘लाइन ट्रिपिङ’ भर्इ लगातार बिजुली आपूर्तिमा अवरोध हुँदै आएको छ।

पर्याप्त बिजुली हुँदाहुँदै प्राधिकरणले नियमित रूपमा भरपर्दो र गुणस्तरीय बिजुली उपलब्ध गराउन सकेको छैन। प्राधिकरणका अनुसार अहिले राजधानीमा साढे ३ सयदेखि ५ सय मेगावाटसम्म बिजुली खपत हुने गरेको छ। 

पुरानो तथा कम क्षमताका प्रसारण प्रणालीले काठमाडौं उपत्यकालगायत अन्य प्रमुख सहरमा बिजुली आपूर्ति अनियमित हुने गरेको छ। प्रस्तावित पूर्वाधार तयार भए झ्यापझ्याप बत्ती जाने समस्या समाधान भई दिगो र भरपर्दो बिजुली आपूर्ति हुने प्राधिकरणको दाबी छ। 

आगामी सन् २०५० सम्म काठमाडौं उपत्यकामा बिजुली माग बढेर ३ हजार १ सय मेगावाट पुग्ने अनुमान विद्युत प्राधिकरणको छ। प्राधिकरणले १ सय ३२ केभी र २ सय २० केभी प्रसारण लाइन प्रणाली भूमिगत (अन्डरग्राउन्ड) गर्न उपत्यका वरपरका डाँडालाई प्रसारण लाइनको रिङरोड बनाउने योजना सार्वजनिक गरिसकेको छ। 

ठूलो विद्युत पूर्वाधार बनाउन एसियाली विकास बैंक (एडिबी) लगायत अन्य दातृ निकायसँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ। राजधानीमा भूमिगत विद्युत प्रणाली एडिबीको सहयोगमा निर्माण भइरहेको छ। 

उपत्यका बाहिरका सहरमा पनि बन्दै 

विद्युत प्राधिकरणले काठमाडौं उपत्यका बाहिर थप १८ नयाँ सहरमा पनि प्रसारण लाइन पूर्वाधार बनाउन अध्ययन गरिसकेको छ। 

२ सय २० केभी लाइन काठमाडौं बालाजु पुर्‍याउने, बारा निजगढबाट ललितपुर डुकुछापसम्म ४ सय केभी प्रसारण लाइन बनाउने तयारी भइरहेको छ।
 
त्यस्तै इनरुवा–ढल्केबर–हेटौंडा ४ सय केभी प्रसारण लाइनअन्गतर्गत निजगढमा अर्को ४ सय केभी सबस्टेसन बनाउने योजना प्राधिकरणको छ। इनरुवा–ढल्केबरको ठेक्का तोडिएकाले ४ सय केभी प्रसारण लाइनको काम रोकिएको छ।

उपत्यकाको नदी करिडोरमा १ सय ३२ केभी प्रसारण लाइन बन्ने छ। हुलाकी राजमार्गआसपास क्षेत्रमा प्रसारण लाइन बन्दैछ। वीरगन्ज करिडोरमा २ हजार ५ सय मेगावाट बिजुली आपूर्ति प्रणाली बनाउन आवश्यक भएपछि अहिले प्राधिकरणले काम थालेको छ। हुलाकी राजमार्गमा प्रसारण लाइन बनाएपछि धेरै उद्योग आउने अनुमान गरिएको छ।


 

बुधबार ११ माघ २०७९ ०९:४० AM मा प्रकाशित

प्रतिक्रिया