सोमबार, माघ ३ २०७८ १०:१७ PM

×

सिभिलका सिर्जनालाई पक्राउ गर्न प्रहरीको वारेन्ट, इच्छाराजलाई ८ वर्ष कैद, ५५९ करोड जरिवाना माग

images

काठमाडौं । संगठित वित्तीय अपराध र ठगी मुद्धामा परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गर्न प्रहरीले वारेन्ट जारी गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिर्जनालाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । सीआईबीका प्रमुख, डीआईजी धीरज प्रताप सिंहले मुख्य अभियुक्त नै सिर्जना भएको ठहर गर्दै उनलाई पक्राउ गर्न विशेष टोली खटाएको जानकारी दिए ।

यसअघि नै पक्राउ पुर्जि जारी गरेको बताउँदै उनले अहिले पक्राउ गर्न विशेष प्रहरी टोली नै परिचालन गरेको बताए ।मुख्य व्यक्ति नै सिर्जना भएको देखिएको उनले दाबी गरे ।

लामो अनुसन्धानपछि सीआईबीले आज शुक्रबार इच्छाराज र उनीसँग जोडिएका व्यक्तिहरुको संगठित अपराध र ठगी सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको डीआईजी सिंहले जानकारी दिए ।

सीआईबीले संगठित अपराधमा इच्छाराजलाई ८ वर्ष कैद र ५ अर्ब ५९ करोड रुपैयाँ जरिबाना माग गर्दै सरकारी वकिलको कार्यालयमा बुझाएको छ। इच्छाराज अहिले सीआईबीको हिरासतमा छन् । 

सीआईबीका अनुसार हालसम्म ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको जाहेरी परिसकेको छ । यसबीचमा ११ सय २६ जनाले आफूहरु ठगिएको भन्दै जाहेरी दिएको सीआईबीले जनाएको छ । सीआईबीले पिडितबाट जाहेरी लिइरहेको छ । 

तामाङले स्थापना गरेका २२ कम्पनीहरुमा सिभिल सहकारीको बचत लगेर लगानी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यी सबै कम्पनीको बहुमत स्वामित्व तामाङ र उनको परिवारको भएको पनि खुलेको छ । तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन् ।

अदालतले पनि संगठित अपराध ऐन विरुद्धको कसुरमा अनुसन्धान गर्न अनुमति दिएको छ । संगठित अपराध गरेको आरोप लाग्नेहरुलाई प्रहरी ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । कर्मचारी सञ्चय कोषले समेत इच्छाराजले राजधानीको सुन्धाराको ६ रोपनी जग्गामा बनाएको सीटीसी मल लिलामी गर्न लागेको छ । 

 

यो पनि हेर्नुहोस 
ऋण नतिरेपछि इच्छाराजको सम्पत्ति लिलाम गर्दै सञ्चय कोष, ४६१ करोड ठगीको जाहेरी 

शुक्रबार​ १० मंसिर २०७८ ०६:१४ PM मा प्रकाशित

प्रतिक्रिया