×

कांग्रेसको आर्थिक एजेन्डा, नीति र बहसमा नयाँ कोर्ष डिजाइन गर्दै विनोद चौधरी

images

कोभिड–१९ र त्यसपछिको लकडाउन नभएको भए उद्योगपति विनोद चौधरी नेपाल कम विदेश बढी हुन्थे । तर, लकडाउनका कारण सक्रिय व्यावसायिक जीवनमा लामो समय एकैपटक नेपाल बसे । विश्वभर जारी लकडाउनका बीच जब नेपालमै बसेर पनि विश्वका विभिन्न मुलुकमा छरिएको व्यवसाय राम्रोसँग ‘मनिटरिङ’ गर्न सकिने रहेछ भन्ने विश्वास जागेपछि भने चौधरीले व्यावसायिक जीवनलाई कम गर्दै राजनीतिक जीवनलाई चलायमान बनाउन थाले । 

कोभिड र त्यसपछिको समयले उनलाई नयाँ तरिकाले सोच्न बाध्य बनायो । राजनीतिमा उनको रुचि त छँदै थियो । तर, एकै पटक कार्यकर्ता, पार्टी, जिल्ला भ्रमण र राजनीतिमा समय दिने वातावरण उनलाई यही बेला मिल्यो । र, सक्रिय राजनीतिमा उनको उडान हुन थाल्यो । 

तर, चौधरी राजनीतिमा एकैपटक उदाएका भने होइनन् । संविधानसभाको निर्वाचनसम्म व्यावसायिक र राजनीति जीवन सँगसँगै दौडाएका चौधरीले पछिल्ला वर्षहरूमा आफ्नो जीवनलाई बढी राजनीतिमा दौडाउन थालेका छन् ।

एकजना धनाढ्य उद्योगी व्यवसायी राजनीतिमा आउनुको अर्थ राजनीतिमा आकर्षण मात्र होइन, परम्परागत राजनीति गर्ने नेता र उनीहरुको शैलीबाट आजित जनतालाई नयाँ विचार, कार्ययोजना र  कार्यान्वयनमा नयाँपन पनि आउनु हो । चौधरी आफ्ना यस्तै केहि ठोस उद्देश्य रहेको विचार सार्वजनिक गरिसकेका छन् । 

उद्योगी, व्यवसायी राजनीतिमा प्रवेश गरेर सांसद र यदाकदा मन्त्री भइरहने क्रम नेपालमा चलिरहेकै छ । तर, चौधरी नेपाली कांग्रेसबाट सांसद भएर आफ्नो राजनीतिलाई ‘फास्ट फरवार्ड’ बनाइरहँदा कांग्रेसभित्र प्रभावशाली नेताका रूपमा स्थापित भइसकेका छन् । 

फोब्र्समा सूचीकृत अर्बपति भएर मात्र विनोद चौधरीको राजनीतिक यात्रा ‘ग्ल्याम’ बनेको भने होइन । नेपालको हरेक व्यवस्था परिवर्तनमा पार्टी र नेताको सामिप्यमा रहेकै कारण चौधरीको राजनीतिक उडानको अर्थ बदलिएको हो । 

२०३६ सालको व्यवस्था परिवर्तनका लागि घोषणा भएको जनमत संग्रहसँगै २४ वर्षीय चौधरीको राजनीतिसँग पहिलो जम्काभेट भएको थियो । प्रधानमन्त्री सूर्यबहादुर थापाले पञ्चायत जिताउन चौधरीका बुबालाई बोलाएर आर्थिक सहयोग माग्दा चौधरीसँगै थिए ।

उनले पहिलो राजनीतिक दाउपेच, रणनीति र छलफल त्यही ताका सुने, देखे र भोगे पनि । उनी त्यो बेला आफैं राजनीतिमा नहोमिए पनि व्यवस्था, पार्टी र नेतासँग नजिक हुँदा प्रारम्भिक राजनीति बुझिसकेका थिए । 

त्यसपछि उनी दरबारसँग नजिक र दूरीमा रहे । २०४६ सालको जनआन्दोलनमा चौधरी पूर्णरूपमा होमिए । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष हुँदा पनि उनी जनआन्दोलनमा होमिएर व्यवस्था परिवर्तनमा लागे । २०४६ सालअघि पञ्चायती व्यवस्थामा सूर्यबहादुरका विरोधी नेताहरूले दिएको दुःखका कारण पनि चौधरी पञ्चायत विरोधी बन्न पुगे ।  

यसअवधिसम्म चौधरीको सम्बन्ध व्यवसायमा मात्र केन्द्रित भए पनि पञ्चायती व्यवस्थाका हिमायतीहरूले दुःख दिएपछि उनी राजनीतिसँग मात्रै जोडिएनन् राजनीति नै गर्न थाले । चौधरीले आफ्नो आत्मकथामा लेखेका छन्, ‘उनीहरूले मेरो बिजनेसमाथि राजनीति गर्न खोजे, मैले उनीहरूको राजनीतिमा बिजनेस गरिदिएँ’ । 

कृष्णप्रसाद भट्टराईसँग चौधरीको बुबा लुनकरणदास चौधरीको सम्बन्ध राम्रो थियो । त्यही भएर विनोद चौधरी भट्टराईसँग नजिक थिए । जनआन्दोलनमा अर्जुननरसिंह केसीसँग सक्रियता बढ्दा गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र अरू कांग्रेसका नेतासँग चौधरी नजिकिए । 
२०५१ को मध्यावधि निर्वाचनपछि एमालेको सरकार हुँदा चौधरी महासंघको अध्यक्ष थिए । उनले एमाले सरकारको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिएपछि एमालेसँग नजिकिएका थिए । कम्युनिष्ट सरकारलाई निजी क्षेत्रले पूर्ण समर्थनसहितको अभिव्यक्ति दिँदा उनी एमालेसँग नजिकिए पनि । 

२०५५ सालमा लगानी बोर्ड गठन प्रकरणमा कांग्रेससँग मत बाँझिदा चौधरी कांग्रेससँग टाढा भए र विस्तारै एमालेसँग नजिक हुँदै पनि गए । र, राजनीति गर्ने पनि भइसकेका थिए । 

२०५६ सालमा राष्ट्रियसभामा एमालेबाट प्रतिनिधित्व गर्ने प्रस्ताव आउँदा चौथरी तयार भइसकेका थिए । तर, एमालेको आन्तरिक किचलोका कारण चौधरी संसद्मा पुग्न भने सकेनन् । एमालेले आफ्नो बचन पूरा नगरेको भन्दै उनी राजनीतिक कार्यक्रम र एमालेबाट केही टाढा भएनन् मात्रै त्यसपछि समय आफ्नै नेतृत्वमा स्थापित नेपाल उद्योग परिसंघलाई संस्थागत गर्न र चौधरी गु्रपलाई विश्वबजारमा पु¥याउन कम्मर कसेर लागे । 

२०६२/६३ को जनआन्दोलनपछि सशस्त्र विद्रोहमा रहेको माओवादी मूलधारको राजनीतिमा आयो र जनप्रतिनिधिहरूकै सहभागिता नेपालको संविधान बनाउने बाटो खुल्यो । २०६४ को संविधानसभा निर्वाचनमा पूर्वअर्थमन्त्रीद्वय भरतमोहन अधिकारी र विष्णुप्रसाद पौडेलले चौधरीलाई सहयोग गरेपछि उनी एमालेको तर्फबाट संविधानसभाको सदस्य भए ।

सदस्य भएकै भोलिपल्ट विनोद चौधरीलाई कसैले कम्युनिष्ट बनाउन सक्दैन भन्ने अभिव्यक्ति दिएर चर्चामा मात्र आएनन्, एमालेभित्र पनि विवाद सिर्जना गर्याे । 

चौधरी एमालेबाट संविधानसभाको सदस्य भए पनि उनको अन्तरमनमा भने कांग्रेस नै थियो । उनले त्यसबेलाका हरेक पल्ट दिएका अन्तर्वार्ता र मन्तव्यमा कांग्रेसीपनको झल्को दिएका छन् । संविधान नबनाइकन पहिलो संविधानसभाको २०६९ मा अवसान भयो । चौधरी फेरि व्यापारको साम्राज्य फैलाउनतिर लागे । २०७० सालमा प्रत्यक्ष रूपमा निर्वाचन लड्ने तयारी गरे पनि निर्वाचन लडेनन् । 

एक दशकसम्म राजनीतिलाई सूक्ष्म रूपमा हेरिरहेर व्यापारलाई फैलाएका चौधरी २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्र लेखेपछि कांग्रेस प्रवेश गरे । कांग्रेस प्रवेश गरेसँगै चौधरी कांग्रेसको राजनीतिमा आक्रामक रूपमा लागिरहेका छन् । २०७४ को निर्वाचन ताका चौधरी प्रचार अभियानमा कांग्रेसका विभिन्न नेताहरूसँग सहभागी भएर जिल्ला–जिल्लामा पुगे ।

कांग्रेसको आर्थिक एजेन्डालाई जोड दिएर चौधरीले भाषणमात्र गरेनन् जनमत बटुल्न हरसम्भव प्रयास गरे । २०७४ को आमनिर्वाचनपछि चौधरी कांग्रेस समानुपातिकबाट प्रतिनिधिसभामा प्रवेश पनि गरे । कांग्रेस राजनीतिमा होमिएपछि चौधरीले निर्वाचन प्रयोजनका लागि गठित आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजक भएर काम गरे । 

कांग्रेसको लगानी पूर्वाधार रोजगारी विशेष उपसमिति संयोजक रहेका चौधरीकै नेतृत्वमा गत वर्ष ‘गरिखाने अभियान’समेत घोषणा भएको छ । नेपाली नागरिकको जीवनस्तर उकास्ने योजनासहित गरिखाने अभियान घोषणा गरिएको चौधरी बताउँछन् ।

सुरुमा गरिखाने बनाउने र कालान्तरमा हुनेखाने बनाउनका लागि आफू तल्लो वर्गसम्म जोडिएको चौधरी बताउँछन् । कांग्रेसले कोरोना भाइरसले देशको विभिन्न क्षेत्रमा पारेका असर अध्ययन गरी आवश्यक कार्य गर्न चौधरीलाई संयोजकको जिम्मेवारी दिएको हो ।  

चौधरीले व्यावसायिक जिम्मेवारी विस्तारै आफ्ना तीन भाइ छोरालाई सुम्पिँदै गएका छन् । छोराहरूलाई चाहिने परामर्श र साथ दिँदै ‘बोल्ड’ डिसिजनका लागि अगाडि आउने चौधरीको राजनीतिक ‘मुभमेन्ट’ले उनी आबद्ध नेपाली कांग्रेसलाई पनि ‘भाइबे्रन्ट’ बनाइरहेको छ । 
कांग्रेस प्रतिपक्षमा रहँदा पनि संसद्मा उभिएर सरकारसँग आर्थिक र विकासका एजेन्डामा उनले आफ्नो अभिव्यक्ति राखिनै रहे । कांग्रेसको आर्थिक एजेन्डा, नीति र बहसमा नयाँ कोर्ष डिजाइन गरे । 

चौधरीको मान्यता छ, ‘मुलुकको समृद्धिको स्वरूप फेर्न मुलुक नै धनी हुनुपर्छ’ । र, त्यसका लागि राजनीतिबाट मात्र संभव छ । उमेरले ६५ वर्ष लागे पनि चौधरीलाई पछ्याउने पुस्ता भने युवा नै छन् । चाहे बिजनेस होस् वा राजनीति, चाहे सामाजिक सञ्जाल होस् वा भौतिक रूपमा हुने सेमिनार उनलाई सुन्न, भेट्न र छलफल गर्न युवा पुस्ता नै अग्रसर रहेको पाइन्छ । 

‘राजनीतिमा लाग्नु सामान्य विषय होइन तर सामान्य झै लिएर परम्परागत कामले जनताको जीवनस्तर माथि उठ्दैन,’ चौधरीले भने । ‘म राजनीतिको निर्णायक ठाउँमा पुगे भने परिवर्तनका लागि पूरै काम गर्ने गरी राजनीतिमा लागेको हो ।’ 

आज ७७ जिल्लामा राम्रो शिक्षाका लागि राम्रा स्कुल किन खुलेनन् ? राजधानीमा ५० वर्षअघि खुलेका राम्रा स्कुल र कलेज जिल्ला–जिल्लामा खुल्न किन गाहो भयो ? उद्यमी जन्माउनका लागि नीतिगत रूपमा किन अवरोध भयो ? निजी क्षेत्रले गरेका राम्रा कामलाई प्रोत्साहन गर्न किन कन्जुस्याइँ गरियो ? निजी क्षेत्रको सफलतालाई आत्मसाथ गर्ने कि नगर्ने ? तमाम प्रश्नहरू छन् तर यसका लागि प्रश्न मात्र गरेर भएन, निर्णायक ठाउँमा पुगेर काम गर्नका लागि उत्तम ठाउँ राजनीति नै चौधरी भन्छन् । 

अर्बपति विनोद चौधरीको राजनीतिक उडानको अर्थ

‘राजनीति एक्टिजम भनेको एउटा कुरा हो यसले ठूलो परिवर्तन ल्याउँछ । तर, राजनीति एक्टिजमले मात्र देश बन्दैन यसका साथै आर्थिक व्यवस्थापन हुन आवश्यक छ, स्रोतको व्यवस्थापन खोजेको छ, हो यसैमा हाम्रो भूमिका हुन्छ,’ उनले भने । 

२०४७ पछि डा. रामशरण महत र महेश आचार्यले गरेको आर्थिक सुधारका कार्यक्रमले मुलुकमा केही परिवर्तन आयो । निजी क्षेत्रहरू मज्जाले खुले । लाइसेन्स राजको अन्त्य भयो । त्यसपछि फेरि राजनीतिक अस्थिरता भइरह्यो, विकासले फड्को मारेन अब आर्थिक र लोकतन्त्रलाई जरैदेखि बलियो बनाएर नयाँ पुस्तालाई समृद्ध नेपाल छोड्नुपर्ने चौधरी बताउँछन् । 

‘नेपालमा उद्योगी व्यवसायी राजनीतिमा आउँदा पनि हेर्ने नजर परिवर्तन भएको छैन । यसमा मान्छेहरूको लघुताभाष छ । उद्योगी व्यापारीमा पनि छ । उनीहरूले मेरो योगदान यो देशमा कुनै पनि नेताभन्दा कम छैन भनेर भन्न सक्दैन,’ उनले भने । 

नेपालमा मात्र होइन विश्वका हरेक देशमा कोही न कोही उद्योगी व्यवसायी राजनीतिमा लागेका छन् । नेता बनेका छन्, सांसद, मन्त्री मात्र बनेका छैनन् राष्ट्रपति र प्रधानमन्त्री बनेर देशलाई नेतृत्व पनि दिएका छन् । 

अमेरिकाका डोनाल्ड ट्रम्प, चिलीका सिबास्चियन पिनेरा, लेबनानका सेद हरारी, नाजिब मिकाटी, चेक रिपब्लिकका एन्ड्रेज बेबिस, युक्रेनका पेट्रो पोरोसेन्को, इटालीका सिल्भियो बर्लुस्कोनीदेखि भारत, पाकिस्तान, बंगलादेशमा पनि व्यवसायी राजनीतिमा होमिएका छन् । नेपालमा पनि धेरै उद्योगी व्यवसायी सक्रिय राजनीतिमा छन् । 

चौधरीको राजनीतिक उडान जारी छ । संविधानसभाको सदस्य र सांसद भइसकेका चौधरी नेपाली कांग्रेसको आसन्न महाधिवेशनमार्फत पदाधिकारीमा आएर नेता र त्यसपछि संसदीय निर्वाचनमा फेरि आफूलाई उभ्याउने योजनामा छन् । 

कांग्रेसको आसन्न निर्वाचनमा सहभागिता हुँदै चौधरीले गत असोज दोस्रो साता नवलपरासीको देवचुलीबाट नगर समितिमा भोट हालिसकेका छन् । नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट चाैधरी महाधिवेशनमा सर्वसम्मत चयन भैसकेका छन् ।

देउवा र कोइराला परिवारसँग समान्तर रूपमा निकट रहेका चौधरी प्रकाशमान सिंह र विमलेन्द्र निधिको पनि रोजाइमा परेका छन् । यसले आगामी दिनमा कांग्रेसको पार्टी सभापति जो भए पनि काम गर्न सजिलो हुने बुझाइ उनको छ । 

मङ्गलबार १४ मंसिर २०७८ ०७:३७ AM मा प्रकाशित

प्रतिक्रिया