×

सञ्चय कोषले सञ्चयकर्तालाई भरतपुरमा बनाउन थाल्यो हाउजिङ

images

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि आवास निर्माणको काम सुरु गरेको छ । सञ्चय कोषले भरतपुर महानगरमा सञ्चयकर्ता ग्रुप हाउजिङको प्याकेज–१ को काम सुरु गर्न लागेको हो ।

कम्पनीले जग्गा विकासका लागि ठेक्का लगाएको छ । लोहनी एन्ड सन्स हेमन्त जेभीले ठेक्का पाएको कोषले जनाएको छ । कोषले ५ करोड ९२ लाख रुपैयाँमा ठेक्का दिएको छ । 

कोषले चितवनमा ४ बिघा १६ कठ्ठा जग्गामा पनि आवास बनाउने योजना अघि सारेको छ । आवासको डिजाइन तयार भइसकेको छ । त्यहाँ १ सय ६० वटा घर बन्ने छन् । 

कोषले आफूसँग भएको रकम आवास योजनामा लगानी गर्ने निर्णय गरिसकेको छ । आवास बनाई सञ्चयकर्तालाई सस्तो दरमा घर उपलब्ध गराउने योजना कोषको छ । 

कोषले सञ्चयकर्ताका लागि आवस बनाउन सञ्चय कोष घरजग्गा व्यवस्थापन कम्पनी स्थापना गरेको छ । कोषले सोही कम्पनीमार्फत जग्गा विकास तथा सञ्चयकर्ता आवास बनाउने भएको छ ।

मुलुकका विभिन्न सहरी क्षेत्रमा सञ्चय कोषले सञ्चयकर्ताका लागि आवास बनाउने योजना सार्वजनिक गरेको छ ।निर्माणधिन घरहरु सञ्चयकर्तालाई बेच्ने योजना कोषको छ । कोषले सञ्चयकर्तालाई आवास बनाउ ऋण दिँदै आएको छ । कोषमा ६ लाख सञ्चयकर्ता आबद्ध छन ।

आवास योजना पूरा गर्न कोषले अर्बौं रुपैयाँ लगानी गर्ने भएको छ । कोषले आफूसँग भएको अर्बौं रुपैयाँ लगानी विविधीकरण गर्न लागेको हो । बैंकको मुद्दती निक्षेपमा मात्र निर्भर कोषले अहिले विभिन्न स्थानमा व्यावसायिक भवन निर्माण गरिसकेको छ ।

नयाँ कम्पनीलाई कोषले व्यावसायिक प्रयोजनका लागि निर्माण गरेका भवनहरू भाडामा लगाउने, तिनीहरूको व्यवस्थापन गर्ने लगायतका अधिकार दिएको छ ।

कोषको स्वामित्वमा रहेकामध्ये सुन्धारामा रहेको काठमाडौं मल र ललितपुरको लगनखेलमा रहेको भवन पूर्णरूपमा भाडामा लगाइएको छ । काठमाडौंको ठमेल र ललितपुर पुल्चोकमा रहेको केन्द्रीय कार्यालय रहेको भवन आंशिक रूपमा भाडामा लगाइएको छ ।

चार वर्षअघि सञ्चय कोष ऐन संशोधन गर्दै कोषको क्षेत्राधिकार बढाइएको छ । संशोधनमार्फत सञ्चय कोषलाई आवास परियोजना अघि बढाउने अधिकार दिइएको थियो । 

यस्तै कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी र ५७ मेगावाटको साञ्जेनलगायत अन्य जलविद्युतमा गरी अर्बौ रुपैयाँ लगानी गरेको छ । यस्तै सहवित्तीयकरणमा अन्य जलविद्युतमा लगानी गरिरहेको छ । 

बुधबार १४ मंसिर २०७९ ०८:०६ AM मा प्रकाशित

प्रतिक्रिया