साझा यातायात हाम्रो प्रतिस्पर्धी हुन सक्दैन, निजी कम्पनी हुन सक्छन् : सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाको विचार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन ६, साेमबार,०५:१६:PM  
साझा यातायात हाम्रो प्रतिस्पर्धी हुन सक्दैन, निजी कम्पनी हुन सक्छन् : सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाको विचार

मेरो पुख्र्यौली घर गुल्मी हो । तर मेरा बुबा नेपाल आर्मीको जागिरे भएकाले जागिरको सिलसिलामा उहाँहरु २०२६ सालतिर काठमाडौं आउनुभएको रहेछ । त्यसैले मरो जन्म काठमाडौंको डिल्लीबजारमै भयो । बाल्यकाल पनि यतै बित्यो । 

डिल्लीबजारमै कक्षा ११ सम्म अध्ययन गरेँ । तर लामो समयसम्मको शारीरिक अस्वस्थताले गर्दा पढाइ बीचमै छुट्यो । करिब ३ वर्षसम्म म बिरामी भएँ । 

शारीरिक अवस्था स्वस्थ भएपछि म रोजगारीकै सिलसिलामा डेढ वर्ष कोरिया बसेँ । फर्केपछि काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कको ठेक्का लिने मौका पाएँ । त्यतिबेला म २३ वर्षको थिएँ । 

त्यतिबेला मलाई सबैभन्दा सानो उमेरको भएर होला फुच्चे ठेकेदार भनेर धेरैले चिन्थे । नयाँ जाँगरिलो युवा र फुच्चे ठेकेदारलाई सहयोग गर्नुपर्छ भनेर काठमाडौं महानगरका कर्मचारीले भन्नुहुन्थ्यो । त्यसले पनि मलाई केही गर्नुपर्छ भन्ने भावना पलायो । 

त्यति बेला भर्खरभर्खर माओवादी द्वन्द्व सुरु हुँदै थियो । अस्तव्यस्त बसपार्क चलाउने जिम्मा पाएपछि पश्चिमबाट आएको फुच्चेले बसपार्क चलाउन सक्ला र भनी शङ्का गर्थे । दिनरात नभनी द्वन्द्वका समयमा पनि बसपार्क चलाउन सफल भएँ । त्यो बेला केही क्षति र उतारचढाव नआएका भने होइनन् । यद्यपि हाम्रै बेला होला, पुरानो बसपार्क सुध्रिएको । पहिले बसपार्कमा गाडी छिरेपछि कहाँ धसिन्छ कसैलाई पत्तो हुँदैनथ्यो । 


काठमाडौं महानगरसँग सहमति गरेर बसपार्कमा हलुका भए पनि ढलान गर्यौँ । सबै ठाउँमा बत्ती हाल्न सफल भयौँ । पछि जग्गा प्लटिङको ठेक्का पाएँ । चितवन र काठमाडौंका केही ठाउँमा जग्गा प्लटिङबाट मेरो आम्दानीको स्तर बढ्दै गयो । 

ठेक्का लिने क्रममा धेरैजसो ठेक्का सफलतापूर्वक सम्पन्न गर्न सफल भएँ । मैले केही वर्ष ठेक्का सञ्चालन गरेपछि आम्दानी बढ्दै गयो । त्यसपछि यातायात क्षेत्रमा लाग्नुपर्छ भनेर श्री गोसाइँ नामको यातायात सञ्चालनमा ल्यायौँ । त्यो बस अहिले पनि सञ्चालनमै छ ।

विदेश घुम्ने अवसर पनि मिल्यो । विदेशमा विद्युतीय बस चलेको देखेर नेपालमा पनि किन नचालउने त भन्ने सोच आयो । खासगरी कोरिया, सिङ्गापुर, हङकङ र चीन सहरमा पनि विद्युतीय सवारी चलेको अवलोकन गर्ने अवसरमा पाएँ । त्यसले मलाई नेपालमा पनि यस्तै गरी विद्युतीय बस सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । 

२०७२ तिरको कुरा हो । त्यति बेला देशमा चुनावको माहोल बढ्दै थियो । भ्रमणबाट फर्केपछि यातायात व्यवस्था विभाग, तत्कालीन एमाले अध्यक्ष तथा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि यो कुरा राखियो । उहाँ पनि विद्युतीय बस सञ्चालनमा सकारात्मक भएको पाइयो । 

चुनाव सकिएपछि पुनः हामीले ओलीसमक्ष विद्युतीय सवारीबारे कुरा गर्यौँ । उहाँले तपाईंहरु पिद्युतीय सवारी सञ्चालन गर्न सक्नुहुन्छ भने अघि बढ्नुस्, त्यस विषयलाई हामी नीति तथा कार्यक्रममै सम्बोधन गर्छौं भन्ने आश्वासन दिनुभयो । त्यति बेलासम्म साझा यातायातले विद्युतीय बस ल्याउने कल्पना पनि गरेको थिएन । 

हामी सरकारी निकाय र सरोकारवालासँग छलफल गरेर अघि बढ्यौँ ।  त्यसपछि नीति तथा कार्यक्रम विद्युतीय सवारी सञ्चालन गर्ने भनेर केही कुरा उल्लेख भयो । सञ्चालन गर्ने भनियो तर सार्वजनिक सवारी भनेर कहीँ पनि उल्लेख गरिएन । यसले गर्दा निजी बसका लागि मात्रै विद्युतीय गर्ने भन्ने अर्थ लाग्यो ।

त्यसपछि देशमा इलेक्ट्रिक सवारीसाधनको व्यापक चर्चा र बहस सुरु भयो । हामी पुनः त्यति बेलाका प्रधानमन्त्री ओली र अर्थमन्त्रीलाई भेटेर नीति तथा कार्यक्रममा सार्वजनिक सवारीमा विद्युतीय बस सञ्चालन हुने भन्ने कुरा उल्लेख गर्न आग्रह गर्यौँ । र उहाँहरुले सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाउनुभयोे । 

त्यसमा तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले पनि महत्वपूर्ण भूमिका खेल्नुभयो । विद्युतीय सवारी नल्याएसम्म पर्यटक आकर्षित गर्न नसकिने र यसले पर्यटन वर्ष २०२० सफल हुने बताउनुभयो । त्यसपछि मात्रै हामीले सुन्दर यातायात प्रालि विद्युतीय सवारी सञ्चालन गर्ने कम्पनी भनेर दर्ता गर्यौं । अहिले सुन्दर यातायात प्रालिको कार्यसमिति ११ जना र सञ्चालक ८१ जना छौं ।

कम्पनी दर्ता भएको छोटो सयममै चीनको बीएके कम्पनीसँग व्यावसायिक सम्झौता गर्यौं । बीएके चीनको विद्युतीय सवारी उत्पादन गर्ने कम्पनी हो । उक्त कम्पनीले संंसारका विभिन्न देशका लागि सवारी उत्पादन गर्ने रहेछ । बीएकेको महत्वपूर्ण विशेषता उसले उत्पादन गरेको गाडीको पार्टपुर्जा १० वर्षसम्म दिने ग्यारेन्टी हुने सुविधा रहेछ । 

त्यसमा मात्रै सीमित नभई १० वर्षसम्म ग्यारेन्टी दिने अवस्था नहुँदा पनि त्यसबापतको निश्चित मार्जिन जम्मा गर्ने सहमतिसमेत भयो । त्यसपछि चिनियाँ प्राविधिक, सुन्दर यातायात प्रालिका केही प्राविधिक, नेपाल इन्जिनियरिङ कलेजका प्रध्यापकहरुको सहयोग, विभिन्न वातावरण विज्ञ, ब्याट्रीसम्बन्धी विज्ञ, चार्जिङ स्टेसनसम्बन्धी विज्ञ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको सहयोग र सल्लाह लिएर गाडी डिजाइन गर्न सफल भयौं । त्यसबीचमा धेरै निजी कम्पनीले प्रतिस्पर्धा गर्न सक्दैनौ भनेर भन्ने गर्थे । 

यसअघि हाम्रो कन्सेप्ट नै ट्रली बसको रहेछ । हामीले मन्त्री, सचिव र सहसचिव गएर भेटेर कुरा राख्दा भन्नुहुन्थ्यो कि सडकमा त पोल गाडिएका छन्, कसरी चल्छ र विद्युतीय सवारी भन्नुहुन्थ्यो ।

पछि हामीले गाडी आयातका लागि सुन्दर यातायात ट्रेडर्स दर्ता गर्यौं । त्यसपछि मात्रै बीएके कम्पनीलाई (ऋणपत्र) एलसी पठाउन सफल भयौं । हामीले पठाएको रकमले धेरै गाडी आउने अवस्था थिएन । त्यसपछि बीएके कम्पनीलाई थप बसका लागि आग्रह गर्यौं । हामीले खरिद गर्ने बराबरका गाडी थप पठाइदिने प्रतिबद्धता बीएके कम्पनीले गर्यो । यसले हामीले थप हौसला मिल्यो । 

अहिले सुन्दर यातायातले ७ ओटा विद्युतीय बस आफ्नै लगानीमा ल्याउँदै छ भने थप ७ ओटा बीएके कम्पनीले थप गर्ने सहमति जनाइसकेको छ । ११ ओटा बस खरिद गर्न हामीलाई बैङ्कले लोन दिएको छ ।  यसरी २५ ओटा बस खरिद गर्न सक्ने अवस्थामा हामी अघि बढेका हौं । बैङ्कले लगानी गरेको ११ ओटा बसमा पनि थप गरिदिनुपर्छ भनेर हामीले कम्पनीलाई भनिसकेका छौं । र, थप ९ ओटा दिने भनेर कम्पनीले सहमति जनाएको छ । 

परिवर्तित राजनीतिले पनि विद्युतीय सवारीको धारणा बुझाउन समय लाग्यो । फलस्वरुप, गत वर्षकै मङ्सिरमै विद्युतीय बस चलाउने हाम्रो योजना केही ढिलाइ भयो । 

यसबीचमा सुन्दर यातायातले विद्युतीय सवारी चलाउनुपर्छ भनेर जुन खालको माहोल बन्यो, त्यसमा पनि सञ्चार मिडिया, यातायात व्यवसायी, सरकारी निकाय, कर्मचारी र अन्य सरोकारवालाहरु महत्वपूर्ण सहयोग रह्यो । तर, विद्युतीय बस चलाउने भन्ने माहोलमा टेकेर धमिलो पानीमा माछा मार्न खोजे । यसै साउन महिनाभित्रै बस चलाउने योजना अन्तिम चरणमा छौं । 

जति विद्युतीय सवारीतर्फ लगानी गर्न सक्यौं भने देशको आन्तरिक स्रोत दह्रो हँुदै जाने हो । अहिले साझा यातायातले पनि विद्युतीय बस चलाउने भनेको छ । साझालाई हामीले प्रतिस्पर्धी ठानेका छैनौं । साझा सरकारी लगानीको कम्पनी होला । किनकि यसअघि पनि साझाले ल्याएका विद्युतीय बस त्यसै थन्किएका छन् । 

नयाँ हुँदा मात्रै चल्ने तर पुरानो र पार्टपुर्जा बिग्रिनासाथ थन्किने साझासँग हाम्रो प्रतिस्पर्धा रहँदैन । बरु, हाम्रो प्रतिस्पर्धा त अब आउने निजी कम्पनी हुन सक्छ । 

हामी साउनभित्र सुन्दर यातायात प्रालिमार्फत विद्युत्तीय बस ‘पब्लिक भेहिकल’को रुपमा चलाउदै छौँ । 

त्यसपछि भित्री रुटमा चलाउँछौं । बिस्तारै हामीले ५ नम्बर प्रदेशको बुटवलमा सञ्चालन गर्ने योजना छ । त्यसका लागि त्यहाँका पर्यटन र उद्योगमन्त्रीसँग कुरा गरिसकेका छौं । भैरहवामा गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्म जोड्ने गरी एउटा विद्युतीय गाडी चलाउने योजना छ । त्यस्तै, लुम्बिनी केन्द्रित गरेर एउटा गाडी सञ्चालन ल्याउने योजना छ । जसले एयरपोर्टबाट आउने पर्यटक लुम्बिनीमा घुम्न सहज हुने अपेक्षा लिएका छौं । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');