काठमाडौं । नेपालमा पूर्वाधार परियोजना निर्माण तथा उद्योग स्थापनाको लागि झमेलामुक्त वातावरण सिर्जना गर्न सरकारले स्थापना गरेको (वान स्टप सर्भिस) एकल विन्दु सेवा केन्द्रको भुमिका महत्वपुर्ण भएको छ ।
अब विदेशी तथा स्वदेशी लगानीकर्ता एउटै कामको लागि धेरै निकायमा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए।
‘अब नेपाल लगानीको लागि साच्चिकै आकर्षक मुलुक बनेको छ’ उनले भने । नीतिगत सुधार सधै भइरहने प्रक्रिया भएकाले कुनै कठिनाइ भए त्यसलाई सुधार गर्दै लैजाने उनले बताए ।
वाणिज्य, उद्योग तथा आपूर्ति सहसचिव दिनेश भट्टराइले वैदेशिक लगानी आकर्षित गर्नको लागि औद्योगिक व्यवसाय ऐन, सार्वजनिक निजी साझेदारी ऐन, श्रम ऐनलगायत ३ दर्जन कानून संसोधन गरिरहेको जानकारी दिए । सहसचिव भट्टराईले एकल सेवा केन्द्रमार्फत पछिल्लो ४ महिनामा १ खर्ब २० अर्ब रुपैयाँको लगानी गर्ने ११० योजनालाई सहायता गरिसकेको जानकारी दिए ।
‘एकल सेवा केन्द्रमार्फत उद्योग स्थापना गर्नको लागि कति समयमा काम हुने भनेर स्पष्ट गर्नुको साथै, भविष्यमा हुने कानून परिवर्तनले कुनै लगानीलाई कुनै असर नगर्ने ग्यारेण्टी गरिएको छ’ उनले भने । उद्योग स्थापनको लागि विभिन्न ठाँउमा धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।
एउटा उद्योग स्थापना गर्न धेरै नै समस्या झेल्नुपर्ने अवस्था थियो । अब लगानीकर्ता विभिन्न स्थानमा जानुनपर्ने उहाँको भनाइ छ ।
विद्युत विकास विभागका महानिर्देशक मधुप्रसाद भेटुवालले पछिल्लो समयमा जलविद्युतमा लगानी उत्साहजनक देखिएको बताए। त्यसको लागि विभागले प्रयास पनि गरिरहेका र स्वदेशी र विदेशी दुवै पक्ष आकर्षित भइरहेको उनको भनाइ छ ।
सरकारले जलविद्युतमा गरिने लगानीलाई सुरक्षित बनाउन हेजिङ सम्बन्धी कानूनी तयार गरिरहेका जानकारी उनले दिए । सहसचिव भेटुवालले बंगलादेशसँग विद्युत निर्यात गर्ने सम्बन्धमा पनि सकारात्मक दिशामा विषय अघि बढिरहेको छ जानकारी दिदै अहिले देशभर १२५ वटा आयोजना निर्माण भइरहेको जानकारी दिए ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले नेपाललाई चीन र भारतबाट जोड्ने गरी रेल विकासको काम थालिएको बताए । ‘पूर्व सम्भाव्यता अध्ययन भइसकेको छ, अध्ययनले सम्भावना देखाएको छ’ उनले भने । भारतसँग ५ वटा अन्तरदेशीय रेलमार्ग निर्माण गर्ने काम अनुसार जयनगर जनकपुर रेलमार्ग सञ्चालनमा आउन लागेको र २ वटा डेमो रेल खरिद प्रक्रिया पुरा भइ आयात गर्न लागिएको र सन् २०१९ भित्र नै सञ्चालनमा ल्याउने जानकारी गराए ।
होङ्सी शिवम सिमेण्ट कम्पनीका प्रबन्ध निर्देशक गौरव गोयल नेपालमा लगानी गर्नको लागि थालनीमा केही अफठ्यारो अनुभव भएपनि लगानी बोर्ड र अन्य निकायको सहयोगमा काम गर्न सजिलो भएको सुनाए । नेपालमा लगानी गर्नको लागि स्थानीय चुनौतिहरुलाई बुझ्न आवश्यक रहेकोमा जोड दिए ।