काठमाडौं । व्यापारीले बिल बिना नै कारोबार गर्न थालेको भन्दै आन्तरिक राजस्व विभागले निगरानी बढाएको छ । राजधानीका फर्म तथा पसलहरुले बिना बिलमा कारोबार गर्न थालेको पत्ता लगाएपछि आन्तरिक राजस्व विभागले क्षेत्र छुट्याएर निगरानी बढाएको हो ।
उद्योगीले नक्कली बिल बनाएर सामान राजधानी भित्र्याउने र राजधानीका पसललाई बिना बिलमा सामान दिने प्रवृत्ति मौलाएपछि विभागले सक्रियाता देखाएको छ । ‘मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर छल्न उद्योगीले बिना बिलबाट कारोबार सुरु गरेको भन्ने गुनासो विभागका व्यापक आएको छ,’ विभागका एक कर्मचारीले भने ।
विभागले मङ्गलबार नै राजधानीका २० ओटा कर कार्यालयका प्रमुखलाई बोलाएर यस विषयमा चनाखो बन्न निर्देशन दिइसकेको छ । ‘विभागका महानिर्देशक विनोद कुँवरले राजधानीका सबै कर अधिकृतलाई बोलाएर यस विषयमा गम्भीर हुन निर्देशन दिनुभएको छ,’ एक कर अधिकृतले क्यापिटल नेपालसंग भने, ‘आ–आफ्नो कसरी कारोबार भइरहेको छ, भ्याटमा कारोबार भएको छ कि छैन्, भन्ने कुरा सुक्ष्म रुपमा अध्ययन गर्न निर्देशन भएको छ ।’
सरकारले केही उत्पादनमा भ्याट फिर्ता खारेज गरेपछि व्यवसायीले बिना बिलको कारोबार सुरु गरेको आशङ्का विभागले गरेको छ । खासगरी, वर्कसप तथा मैदा र आँटा उत्पादक कम्पनीले खुद्रा व्यापारीलाई बिना बिलमा सामान बेच्ने गरेको सुनिएको छ ।
उद्योगले उत्पादन गरेको सामानको नक्कली भ्याट बिल काट्ने, बाटोमा सामान ल्याउँदा अनुगमनकारीको फेला परेमा त्यही नक्कली बिल देखाउने, त्यो सामान ल्याएर काठमाडौंमा व्यापारीलाई बिना बिल बेच्न प्रवृत्ति मौलाउँदै गएपछि विभागले सबै कर कार्यालयका प्रमुखलाई अलर्ट गराएको हो ।
एकातिर कारोबार कम देखाउने र त्यही आधारमा भ्याट÷आयकर छल्न अहिले यस्तो खेल भइरहेको ती कर अधिकृतले बताए ।
भेइकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लागू गरेपछि साना व्यवसायी डराएको बहाना देखाएर बिना बिलमा सामान बेचिरहेको सरकारको बुझाइ छ । एकातिर कारोबार नदेखाउने तर, बजारमा बिक्रीका लागि सामान पठाइरहेका छन् ।
विभागका महानिर्देशक कुँवरले बजार अनुगमनलाई तीब्रता दिन काठमाडौंका सबै कर अधिकृतलाई निर्देशन दिएको बताए । बजारमा बिना बिलको कारोबार बढेको भन्ने गुनासो बढेपछि सबै कर कार्यालयका प्रमुखलाई अलर्ट रहन निर्देशन दिएको बताए ।