काठमाडौं । व्यापारीले मूल्य अभिवृद्धि कर (भ्याट) बिल बिनै कारोबार गरेको पाएपछि आइतबारबाट आन्तरिक राजस्व विभागले अनुगमन सुरु गरेको छ । उपभोक्तासँग भ्याट लिएर सरकारलाई नबुझाउने प्रवृत्ति बढ्दै गएपछि आन्तरिक राजस्व विभागको टोली अनुगमनमा खटिएको हो ।
व्यापारीले बिल बिनै कारोबार गरिरहेको भन्ने समाचार सञ्चार माध्यममा आएपछि विभागले काठमाडौंका कर कार्यालयसँग मिलेर सुक्ष्म अध्ययन समेत गरेको थियो । उनीहरुले गरेको अध्ययनमा समेत बिल बिनै कारोबार भएको पत्ता लागेपछि विभागको टोली बजारमा निस्किएको हो ।
खासगरी, ठूला वर्कसप, खाद्यान्न पसल, कपडा पसलले भ्याट बिल बिनै ठूलो मात्रामा कारोबार गरेको सरकारले फेला पारेपछि अनुगमन बढाउने तयारी थालेको हो ।
कर कार्यालयले थाल्यो बिल बिना कारोबार गर्ने व्यापारीको ‘डिटेल’ सङ्कलन
कारोबार नभएको भन्ने रेकर्ड देखाएर भ्याट छल्ने काम भइरहेको विभागको अध्ययनले समेत देखाएको छ । व्यापारीले एकै पटक भेइकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम लागू गर्ने, सामाजिक सुरक्षा लागू गर्ने, प्यान अनिवार्य गरेपछि व्यवसायमा सुस्तता आएको बताए पनि सरकारले त्यसलाई स्वीकारेको छैन् ।
‘बजारमा सामान आइरहेको छ, उद्योगबाट पनि सामान उत्पादन भइरहेको छ । तर, भ्याटमा कारोबार देखिएको छैन्, उद्योगबाट उत्पादित सामग्री गोदाममा समेत छैन्,’ एक कर अधिकृतले क्यापिटल नेपालसंगभने, ‘व्यापारीले कही न कही गडबढी गरेकाले अनुगमनमा निस्किनु परेको हो ।’
महँगा मोटरसाइकलका वर्कसप, गाडीका वर्कसप, ठूला कपडा व्यापारी, ठूला खाद्यान्न व्यापारीले भ्याट बिल बिनै कारोबार गर्ने गरेको सरकारी अध्ययनले समेत फेला पारेको छ ।
बिल बिना कारोबार हुन थालेपछि आन्तरिक राजस्वको सक्रियता बढ्यो, काठमाडौंका सबै कर अधिकृतलाई ‘अलर्ट’ हुन निर्देशन
विभागले २० ओटा कर कार्यालयबाट र आन्तरिक राजस्व विभागबाट समेत अनुगमन टोली खटाइरहेको छ । ‘सबै कर कार्यालयबाट अनुगमन टोली खटिएका छन्, विभागबाट पनि टोली खटिएको छ,’ विभागका एक अधिकारीले भने, ‘आ–आफनो क्षेत्रका व्यापारीलाई टोलीले निगरानीमा राखेका छन्, त्यसै अनुसार अघि बढ्छन् ।’
व्यापारीले भन्सारबाट छली गरेर ठूलो परिमाणमा स्पेयर पार्ट्स भित्र्याउने र सोही पाटर््स बेच्ने तर, त्यसको भ्याट बिल नदिने गरेका छन् । अनुमति पत्र लिएर ल्याएको स्पेयर पाटर््स गोदाममै थन्काएर राख्ने, सरकारी टोली अनुगमन जादा सोही स्पेयर पाटर््स देखाउने तर, चोरी गरेर ल्याएको सामान बेच्ने प्रवृत्ति मौलाउँदै गएको छ ।
महँगा मोटरसाइकल तथा महँगा गाडीका स्पेयर पाटर््स नेपाल भित्रिने र व्यापारीले सोही सामानको भ्याट बिल नदिने गरेका हुन् । क्रसफायर मोटरसाइकल मर्मतको भ्याट बिल नदिएको भन्दै उजुरी समेत परिसकेको विभागले जनाएको छ ।
त्यसैगरी, केही मैदा तथा आँटा उद्योगले पनि भ्याट बिल नदिई आफ्नो सामान बेचेको गुनासो पनि विभागमा पुगेको छ । आएका उजुरीमाथि छानविन गर्दा त्यसमा सत्यता देखिएपछि विभाग अनुमगनमा खटिएको हो ।
याे पनि पढ्नुस्
जुत्ता–चप्पलमा फस्टाउँदो कालोबजारी
स्पेयर पार्ट्सको ५० प्रतिशत बजार हिस्सा तस्करको कब्जामा, बजाज र होण्डाका पार्ट्स सबैभन्दा बढी तस्करी
स्पेयर्स पार्ट्समा व्यापक कर छली, वर्कसप र स्पेयर्स पार्ट्स कारोबारीको तथ्याङ्क सङ्कलन गर्दै सरकार
तस्करको कब्जामा स्पेयर्स पार्ट्सको बजार, अर्बौ रुपैयाँ राजस्व छली
भन्सारमा व्यापक आन्तरिक सुधार, भित्रबाट हुने अनियमितता राेकिने विश्वास