काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले (सीईओ) अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको छानविनमा परेका छन् ।
हाल क्रियाशिल रहेका २७ वटा वाणिज्य बैंकको सीईओमध्ये दुई जना सीईओले अकुत सम्पत्ति कमाएको प्रारम्भिक अनुसन्धानमा खुलेको विभाग स्रोतले बताएको छ । सबै बैंकका सीईओहरुको कमाईको विभागले गरेको अनुसन्धानमा १० जनाको व्यक्तिगत सम्पत्ति अनुचित तवरले बढेको पाइएको विभागका एक अधिकारीले क्यापिटल नेपाललाई बताए ।
‘विभागले गरेको अनुसन्धानमा १० सीईओमध्ये २ सीईओको सम्पत्ति अस्वभाविक देखिएको पुष्टि भएको छ’ ती अधिकारीले क्यापिटल नेपाललाई भने, अनुसन्धान अझै नटुङ्गिएकाले कुनकुन सीईओ र कत्ति सम्पत्ति अस्वभाविक हो भन्ने अझै एकिन भएको छैन, तर, दुई जना सीईओको अस्वभाविक सम्पत्ति देखिएको छ । सबै सीईओको वास्तविक स्थिति नसकिएसम्म नाम बताउन सकिँदैन ।’
बैंकले प्रदान गर्ने तलब र सुविधासहित व्यक्तिगत विवरण मागेको विभागले त्यसमध्ये १० सीईओका हकमा बैंकले प्रदान गर्ने तलब, सुविधासहित व्यक्तिगत अन्य सम्पत्तिको विवरणहरुसँगै राखेर अनुसन्धान गरेको छ । सीईओको तलवमान हेरेर शंकास्पद सम्पत्ति देखिएपछि ती सीईओहरुको अनुसन्धान थालिएको हो ।
विभागले गत असोजमा २८ वटा वाणिज्य बैंकका सीईओको तलब र सुविधाको विषयमा गरेको छानविनलाई थप तीव्रता दिएको हो । त्यसैअनुसार बैंकका सिईओ छानबिनको दायरामा परेका हुन
।
राष्ट्र बैंकलाई वाईपास गर्दै बैंकमाथि शुद्धिकरण विभाग, बैंकर्स संघ बचाउमा
बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंक भएपनि विभागले सिधै बैंकहरुमाथि अनुसन्धान थालेको हो । बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारी सबैको तलबभत्तासहितको विवरण राष्ट्र बैंकमा वार्षिक प्रतिवेदन तथा अन्य समयमा पनि छुट्टै रुपमा बुझाउनुपर्छ ।
विभागले राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थासँग आवश्यक जानकारी माग्नु पर्नेमा गत असोजमा केन्द्रीय बैंकसँग कुनै समन्वय नगरि तत्कालिन २८ वटा वाणिज्य बैंक (हाल २७)का सबै सीईओको तलब तथा अन्य सेवासुविधाको जानकारी मागेको हो । विभागले २८ वटै बैंकको नाममा पत्र काटेर तलब र सुविधाको जानकारी मागेको हो । जनता र ग्लोबल बैंक मर्ज भएर अहिले ग्लोबल आईएमई बैंकको नाममा सञ्चालनमा हुँदा एउटा बैंक घटेको हो ।
विभागको पत्रमा ‘प्रारम्भिक जाँचबुझको शिलशीलामा त्यस बैंकमा हाल कार्यरत सीईओलाई बैंकले प्रदान गर्ने तलब भत्ता र अन्य सुविधाको निर्धारित मापदण्ड आधारसहितको खुद भुक्तानी पाउने एकमुष्ट मासिक तथा वार्षिक रकमको विवरण यथाशिघ्र उपलब्ध गराई दिनुहुन अनुरोध छ’ भन्ने व्यहोरा उल्लेख छ ।
विभागको यो पत्रपछि सबै बैंकले सीईओको तलबभत्तासहितको विवरण पठाइसकेका छन् । विवरण प्राप्त गरेपछि विभागले एक महिनापछि फेरि सिईओहरुलाई अर्काे पत्र पठाएर व्यक्तिगत विवरण खुल्ने परिचय पत्रको फोटोकपी पनि मागेको थियो । विभागको अर्काे पत्रअनुसार पनि उनीहरुले परिचय खुल्ने पत्रको फोटोकपी विभागलाई उपलब्ध गराईसकेका छन् ।
तर, बैंकरहरुको छाता संगठन नेपाल बैंकर्स संघले भने यस्तो पत्र सिधै नभएर राष्ट्र बैंकमार्फत आएको उल्लेख गरेको छ । संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले कुनै कारण परेर सम्पत्ति शुद्धिकरणले पत्र पठाएको हुनसक्ने बताए । ‘एउटा अनुसन्धान निकायले कुनै पनि व्यक्तिको बारेमा बुझ्न र हेर्न त पाउँछ,’ उनले भने, ‘तर, बैंकर्सलाई यस्तो पत्र राष्ट्र बैंकमार्फत नै आएको हो ।’
क्यापिटल नेपाललाई प्राप्त पत्रमा भने बैंकहरुमा पुगेको पत्र राष्ट्र बैंकमार्फत नभई विभाग आफैंले सिधै पत्र काटेर सिईओको तलब र सुविधाको विवरण मागेको छ ।
के भन्छन् बैंकरहरु ?
ग्लोबल आइएमईका तत्कालिन निमित्त सीईओ महेश ढकालले सम्पत्ति शुद्धिकरण विभागबाट तलब र सुविधाको विवरण माग भएअनुसारको विवरण जानकारी गराई सकिएको बताए । ‘सबै बैंकलाई त्यो व्योहोराको पत्र आएको थियो, हामीलाई पनि आयो जवाफ पठायौं,’ उनले भने ।
नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारीले नियमकारी निकायले यस्तो विवरण माग्न सक्ने र यो नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए । ‘यो नियमित प्रक्रिया हो मैले यसलाई सामान्य रुपमा नै लिएको छु,’ उनले भने ।
एक बैंकका सीईओले राष्ट्र बैंकमा नै हुने जानकारी पनि सम्पत्ति शुद्धिकरणले पत्र काटेर जानकारी माग्नु अर्थपूर्ण भएको बताए । ‘विगतमा यस्तो थिएन, बैंकले आफ्नो अधिकृत तहभन्दा माथिका सबै कर्मचारीको तलबसहितको जानकारी राष्ट्र बैंकमा पठाएको हुन्छ, त्यहिबाट लिन सकिने जानकारी पनि पत्र काटेर बैंकमा नै आउनुले गम्भिर आशंका जन्माएको छ,’ उनले भने ।
किन भैरहेको छ अनुसन्धान ?
कमसल धितोमा अत्याधिक ऋण प्रवाह गरेको एउटा बैंकमाथिको उजुरीको आधारमा अनुसन्धान गर्ने क्रममा विभागले सबै बैंकको सीईओहरुको तलब र सुविधाका अतिरिक्त सीईओहरुले काम गरेको अवधि र उनीहरुको सेवासुविधा तथा जोडिएको सम्पत्तिको अवस्थामा अध्ययन गर्नु परेको हो ।
पछिल्लो पटक बैंक अफ काठमाण्डूले कमसल धितोमा ५ करोड रुपैयाँ ऋण दिएको भेटिएपछि बैंकका सीईओ तथा अन्य कर्मचारीहरुको पनि मिलोमतोमा बैंकलाई ठग्ने प्रपञ्च हुने गरेको आशंका गरिएको छ । बैंकका तत्कालिन सीईओ अजय श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यसअघि नै पनि एपेक्स डेभलपमेन्ट बैंक (हाल नेपाल क्रेडिट एन्ड कमर्स बैंक), ग्रान्ड बैंक नेपाल (हाल प्रभु बैंक) जस्ता बैंकहरुमा सीईओको मिलोमतो भेटिएको थियो । यसअघि सीआईबीले मात्रै अनुसन्धान गरेर बैंकिङ कसुरमा कारवाही हुने गरेकोमा अहिले अकुत सम्पत्ति आर्जन भएको भन्दै सम्पत्ति शुद्धिकरणले अनुसन्धान थालेको हो ।
विभागका अधिकारीहरुले ऋण प्रवाह गर्दा कमिशन लिने र न्यून मूल्याँकनको धितोमा अधिक ऋण प्रवाह गर्ने गरेका धेरै उजुरी अहिले विभागमा छन् । ‘सीईओ मात्रै होइन विभागमा अरु कर्मचारीहरुको पनि मिलोमतोमा अकुत सम्पत्ति कमाएको भन्दै बैंकका कर्मचारी र अन्य व्यक्तिहरुका बारेमा उजुरीको चाङ्ग छ’ ती अधिकारीले भने, ‘पहिलो चरणमा सीईओहरुको वास्तविक अवस्थाको मूल्यांकनपछि थप फाइल खोल्ने कि नखोल्ने भन्ने निर्णय गर्न सहज हुन्छ ।’
पछिल्लो समय बैंकका सञ्चालक र सीईओहरुका विरुद्ध उजुरी निरन्तर आउन थालेपछि सबैको विवरण राख्न थालिएको छ । अहिले त्यसमाथि अनुसन्धान थालिएको ति अधिकारीले बताए । विभागले चर्चित ललिता निवास बालुवाटारको जग्गामा दिएको ऋण, ह्याकरहरुसँग विभिन्न बैंकका कर्मचारीहरुको मिलोमतोका विषयमा पनि विभागले अध्ययन गरिरहेको जनाएको छ ।