काठमाडौं । नेपालको निर्यातमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको पाम आयललाई भारतले आयात प्रतिबन्ध गरेपछि सिंहदरबारमा खैलाबैला मच्चिएको छ ।
नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको पाम आयल आयातमा भारतले रोकेपछि प्रधानमन्त्री, मन्त्री, सचिवदेखि सहसचिवसम्म भारतीय पक्षसँग कुरा गर्न थालेका छन् । अहिले निर्यात व्यापारलाई सुधार ल्याउन पाम आयातको निर्यात उच्चकोटीमा छ ।
भारतले मलेसियाबाट आउने पाम आयललाई मात्रै रोक्न खोजेको बुझाइ सहित नेपाली पक्षले भारतीयसँग नेपालबाट जाने पाम आयललाई खुलाउने प्रयास थालेको हो ।
भारतले बुधबार एक सूचना जारी गरेर पाम आयल आयात रोकेको जानकारी दिएको थियो । सोही सूचनापछि नेपालले आफ्नो सक्रियता बढाएको छ ।
एक मन्त्रीका अनुसार भारतले नेपालबाट जाने पाम आयललाई रोक्न खोजेको होइन । केही दिनमै पाम आयल नेपालबाट निर्यात सुरु हुने छ । भारतको मुख्य उद्देश्य भनेको मलेसियाबाट आउने पाम आयल रोक्ने हो । सोही अनुसार उक्त सूचना निकालिएको नेपाली पक्षको बुझाइ छ ।
स्रोतका अनुसार आजै भारतीय उच्च तहमा कुरा भइसकेको छ । ‘कोसँग कुरा भयो नखुलाउँ,’ वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘अहिलेको समस्या समाधान हुन्छ ।’
भन्सार विभागको तथ्याङ्क अनुसार नेपालबाट ५ महिनामा ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको पाम आयाल भारत निकासी भएको छ । वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले पाम आयातको प्रतिबन्धको सूचना आएपनि नेपालबाट निकासी हुनेमा प्रतिबन्ध लागे नलागेको विषय कोड हेरिरहेको बताए ।
नेपालमा उत्पादन नभए पनि व्यापारीहरुले इन्डोनेसिया र मलेसियाबाट पाम आयल ल्याएर यहाँँ प्याकेजिङ गरेर बिक्री गर्दै आएका थिए ।