राजश्व तिरेको रसिद नै सवारी लाइसेन्स कहिलेसम्म ?

account_box अनिस मिजार ,
प्रकाशित: २०७६ माघ २८, मङ्गलबार,०५:३१:PM  
राजश्व तिरेको रसिद नै सवारी लाइसेन्स कहिलेसम्म ?

काठमाडौं । सवारी चालक अनुमति  पत्र (स्मार्ट लाइसेन्स) नपाँउदा करिब ७ लाख चालकले राजश्व तिरेको रसिदलाई नै लाइसेन्स बनाउदै आएका छन् । सवारी चालकहरुले करिब २ बर्षदेखि आवश्यक सम्पूर्ण प्रकृया पुरा गरे पनि स्मार्ट लाइसेन्स नपाएका हुन् ।

यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ वितरण सहज बनाउने भने पनि समस्या अझै पनि उस्तै रहेको छ । स्मार्ट लाइसेन्स नहुँदा कहिलेकाहि  ट्राफिक प्रहरीले पनि रसिद देखाउदा नमान्ने गरेको सवारी चालक असोक भुजेलले बताए । ‘चार वर्षसम्म राजश्व तिरेको रसिदले नै सवारी चलाइरहेको छु,’ उनले भने‘ लाइसेन्स लिन जादा एक महिना पछाडी आउनुस भन्यो, फेरि एक महिनामा पछि जादा बनेको छैन भनेकोले अहिले गएको छैन ।’

सरकारले समयमै नै स्मार्ट लाइसेन्स वितरण गर्ने नसक्दा फोटो विनाको रसिद   प्रयोग भइरहेको छ । जसले गर्दा रसिदको दुरुपयोग हुने सम्भावना अत्याधिक छ । कुने एक ब्यक्तिले दुर्घटना गरेर अर्कोलाई दोषी देखाउन पनि सक्छ । 

सरकारले २०७२ मंसिर १४ देखि कागजको लाइसेन्स प्रतिस्थापन गरेर डिजिटल घोषणा गरेको थियो । त्यतिबेला सरकारले पाँच वर्ष भित्र यातायात क्षेत्रलाई उच्च प्रविधि मैत्री बनाउने बताएको थियो ।

आधुनिक प्रविधि र उच्च गुणस्तरको लाइसेन्स नक्कली छाप्न नमिल्ने, आगोले नडढ्ने, अक्षर नमेटिने, सेवाग्राहीमैत्री र ई–गभर्ननेन्स लागू गर्न सहयोगी पुग्नेलगायतको हुने प्रचार प्रसार गरेको थियो ।

तर, सरकारले वितरण गरेका करिब साढे १० लाख स्मार्ट लाइसेन्स निक्कै न्युन गुणस्तरको रहेको पाइएको छ । केहि समयमै अक्षर मेटिने तथा चिप्स उक्कीने समस्या आएका छन । 

सरकारले स्मार्ट लाइसेन्सको समस्या समाधान गर्न एकै पटक धेरै कार्ड छाप्न मिल्ने मास प्रिन्टर सात महिना अगाडी नै ल्याएको छ । भारतको मद«ास सेक्युरिटी प्रिन्टर मार्फत स्मार्ट लाइसेन्स र मास प्रिन्टर ल्याएको थियो । 

मास प्रिन्टरले दुई महिनामा सबै समस्या समाधान गर्ने यातायात विभागले बताएको थियो । तर, मेसिन जडानमै दुई महिना बित्यो । अहिले सफ्टवयर जडान गरेर छाप्न शुरु भएको विभागको भनाई छ । अहिले मास प्रिन्टरले तीन सिफ्टमा काम गरिरहेको विभागका महानिर्देशक गोगनबहादुरले बताए ।

उनले भने ‘हामीले मास प्रिन्टर आउने वितिकै दुई महिनामा स्मार्ट लाइसेन्सको वितरण समस्या हल हुने भनेका थियौं । तर, प्रिन्टरमा प्रविधिक समस्याले गर्दा केही ढिलाई भएको हो । अब केही समस्या छैन, चाडै पुराना सात लाख स्मार्ट लाइसेन्स छपाइ सकेर वितरणमा सहजता ल्याउछौं ।’ देशभर अहिले स्मार्ट लाइसेन्स १ लाख ५० हजार माग हुदै आएको विभागले जनाएको छ । 

 दक्ष कर्मचारीको अभाव 

स्मार्ट लाइसेन्स प्रविधिमैत्री बनाउने भनिएपनि त्यीता कर्मचारीको अभाव रहेको एक अधिकारीले बताए । उनका अनुसार अहिले स्मार्ट लाइसेन्स सरकारको प्रतिष्ठा भन्दा पनि लज्जाको विषय बनाएको छ ।

उनले भने ‘विभागसँग स्मार्ट प्रविधिको प्रयोग गर्ने प्राविधिक जनशक्ति, उपकरण र त्यसलाई व्यवस्थापन गर्न साधन र स्रोत पर्याप्त छैन । त्यसले आम नगरिक पिडित हुनु परेको छ ।’ विभागमा आईटी इन्जिनियर कम भएकाले काम गर्न कठिन भएको हो । 

काठमाडौंमा छपाइ प्रदेशमा वितरणले समस्या

मुलुक भरका यातायात कार्यालयले वितरण गर्ने स्मार्ट लाइसेन्स काठमाडौंमा नै छापिन्छन् । केन्द« सरकारले नै व्यवस्थित गर्न नसकेको स्मार्ट लाइसेन्स वितरण भर्खरै गठन भएको प्रदेश सरकारलाई जिम्मा दिदाँ झन् समस्या थपिएको छ ।

अहिले विभागमा सात ओटा मेसिन छन । तर, तीन ओटा मेसिनले मात्र कार्ड छपाइ गरिरहेको विभागले जनाएको छ । 

 

 

अनिस मिजार

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप

Top