काठमाडौं । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को चैत २८ र २९ हुन लागेको साधारणसभा तथा चुनाव स्थगित हुने भएको छ ।
महामारीकै रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासपछि एफएनसीसीआईले केही समयका लागि साधारणसभा तथा चुनाव स्थगित गर्न अनौपचारिक घोषणा गरेको हो ।
चुनावका लागि अहिले उम्मेदवारहरुले मत माग्न थालिसकेका छन । एक साताअघि महासंघले चुनाव सार्ने कि नसार्ने १० दिनपछि निर्णय गर्ने जनाएको थियो ।
‘अहिले सामाजिक दुरी बढाउने अभियान नै चलिरहेको छ, यस्तो समयमा चुनाव गर्नु राम्रो होइन,’ महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने । चुनाव सर्दा कसलाई घाटा नाफा हुन्छ त्यो हेरिनुहुन्न, यो बेला सचेत रहने समय हो, त्यसैले निर्वाचन केही समयका लागि पछि सर्ने उनले बताए ।
महासंघकी अध्यक्ष भवानी राणाले सरकारले मेला महोत्सव, सम्मेलनलगायत कुनै पनि ठूला कार्यक्रम नगर्न निर्देशन दिएको अवस्थामा महासंघको निर्वाचन हुन नसक्ने बताइन् ।
‘देश सङ्कटमा परेको बेला यस्ता सम्मेलन गर्नु उचित पनि नहुने भएकाले केही समयका लागि सार्न लागिएको हो,’ अध्यक्ष राणाले भनिन्, ‘केही दिनमा बस्ने पदाधिकारी बैठकले निर्णय गरेर अहिलेको चुनावको मिति पछि सार्छ ।’
निजी क्षेत्रका अन्य सङ्गठन कोरोना भाइरसविरुद्ध लड्न सरकारसमक्ष उभिएका बेला एफएनसीसीआई चुनावमा होमिएको भन्दै आलोचना समेत भएको थियो ।
अहिले सभा सम्मेलन गर्न जुट्ने भन्दा पनि मिलेर कोरोना भाइरसको सामना गर्नुपर्नेमा एफएनसीसीआईको नेतृत्व चुनाव प्रचार प्रसारमा लागेको आरोप समेत लागिरहेको थियो ।
एफएनसीसीआई नेतृत्वले यस अघि नै चुनाव स्थगित गरेर कोरोना विरुद्ध लड्न तयार हुनुपर्ने थियो । ‘तर, नेतृत्वले सही समयमा निर्णय गर्न सकेन ।
अहिले ढिलै भए पनि राम्रो निर्णय हुन लागेको छ,’ पूर्व अध्यक्ष रवीभक्त श्रेष्ठले भने, ‘अहिले चुनाव वा सम्मेलन गर्ने बेला होइन । यो चुनावलाई तीन महिना पछि गर्दा पनि केही बिग्रिन्न ।’
एफएनसीसीआईको चुनावमा देशभरबाट एक हजार २ सय भन्दा बढी प्रतिनिधि आउँछन् । यति ठूलो सङ्ख्यामा मान्छे काठामाडौंमा जम्मा हुँदा कोरोना भाइरस एकअर्कामा सर्न सक्ने कुरालाई मध्यनजर गर्दै सरकारले ठूला सम्मेलन नगर्न गरेको आग्रहलाई सबैले मान्नुपर्ने एफएनसीसीआईका पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठले जानकारी दिए ।
‘अहिले सभा सम्मेलन आयोजना गर्ने समय होइन्,’ उनले भने, ‘यो बेला सरकारलाई सहयोग गर्ने र मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्छ ।’
ं