काठमाडौं । सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्वमा महामारीका रुपमा फैंलिएको कोरोना भाइरस(कोभिड—१९) को रोकथाम र न्युनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख किट ‘अर्डर’ गरिएको उद्योग राज्यमन्त्री मोतीलाल दुगडले बताए ।
उनले सो मास्क र कीट एक हप्ता भित्र नेपाल आइपुग्ने बताए । ‘स्वदेशमा पनि मास्क र स्यानेटाइजर उत्पादन सुरु भयो । त्यो बाहेक थप २५ लाख मास्क र १ लाख कीट हामीले चाइनाबाट पनि ल्याउन ‘अर्डर’ गरिका छौं ’ उनले भने, ‘एक हप्ता भित्र मास्क र कीट आइपुग्छ ।’
त्यसपछि निरन्तर रुपमा आवश्यक परेका बेला थप ल्याउन सकिने उनले बताए । मन्त्री दुगडले मास्कलगायतका वस्तु पनि अब अभाव नहुने बताए ।
यसअघि चीन सरकारले आवश्यक परेको बेला कोरोना विरुद्ध लड्न आवश्यक पर्ने वस्तु, मास्क, स्यानेटाइजर र स्वास्थ टोली पठाउन तयार भएको बताएको थियो ।
कोरोना विरुद्ध बच्न मास्क, कीट र स्यानेटाइजर लगायतका वस्तु अति आवश्यक हुन्छ । तर, नेपाली बजारमा त्यस्ता वस्तुको अभाव हुँदा संकमणको जोखिम उत्तिकै छ ।
भारततर्फको खुल्ला सिमानाकामा पनि हेल्थ डेस्क राखिसकिएको दुगडले बताए । अन्य नाकामा पनि हेल्थ डेस्क राखिने उनले बताए ।
अहिले स्वदेशमा नै निजी क्षेत्रकाव्यवसायी, महिलाउद्यमी, सेनालगायतले मास्क उत्पादन गरिरहेका छन् ।