काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ घोषणा गरेपछि भारतबाट बिजुली आयात लगभग बन्द हुने अवस्थामा पुगेको छ ।
लकडाउन सुरु भएपछि बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द हुँदा विद्युत्को माग ह्वातै घटेको हो ।
विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको ठुलो योगदान रहेको छ । अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत्को प्रयोग भएपछि यसको प्रभाव मागमा परेको हो ।
लकडाउनले बिजुलीको माग २५५ मेगावाट घट्यो, विद्युतीय उपकरण प्रयोग गर्न कुलमानको आग्रह
सामान्य अवस्थामा ६०० मेगावाट बिजुली भारतबाट आयात हुने गरेकोमा लकडाउन सुरु भएपछि ह्वातै घटेको हो । मागमा भारी गिरावट आएपछि नेपाल विद्युत प्राधिकरणले बिहीबार राती १२ बजेदेखि ६० मेगावाट मात्र बिजुली आयात गर्ने भएको छ ।
५० मेगावाट ढल्केबर–मुज्जफपुर र १० मेगावाट टनकपुरबाट मात्र आयात गर्न लागिएको विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । उनले यो पनि लिनुपर्ने वाध्यता भएकाले आयातलाई निरन्तरता दिएको उनको भनाई छ ।
बिजुलीको माग घटेर अहिले औसत ६२५ मेगावाटमा झरेको छ । यसअघि पिकआवरमा १ हजार २०० मेगावाटसम्म बिजुलीको माग हुने गरेको थियो । साँझमा आधा घण्टालाई ९४५ मेगावाट मात्र बिजुलीको माग हुने गरेको उनले सुनाए ।
हाल दिउँसो बिजुलीको माग ६०० र राती ४०० मेगावाट मात्र हुने गरेको छ । बढी लोड हुने राजधानीमा बिजुलीको माग घटेर २८० मेगावाटमा झरेको छ । यसअघि ४५० मेगावाटसम्म बिजुलीको माग हुने गरेको थियो ।
माग कम भएपछि अधिकाँश आयोजना रातीको समयमा बन्द गरेको उनले जानकारी दिए । विद्युतगृह बन्द भएपछि पानी खेर गएको छ । यस्तै एकमात्र जलासय कुलेखानी आयोजना पनि बन्द गरिएको छ ।
लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्याँसको अभावमा भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउन प्राधिकरणले अनुरोध समेत गरेको छ ।
विद्युत प्राधिकरणले आन्तरिक उत्पादन बढाएर विस्तारै भारतबाट आयात घटाउने रणनीति लिएको छ । आगामी वर्षदेखि ४५६ मेगावाटको माथिल्लो तामाकोसी र १११ मेगावाटको रसुवागढीलगायत अन्य ठुला आयोजना सञ्चालनमा आएपछि वर्षादमा बिजुली उत्पान बढी हुने अनुमान गरिएको छ । केही वर्षका लागि सुख्खायाममा भारतबाट आयात गर्नुपर्ने छ ।