तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ वैशाख २६, शुक्रबार,१२:३७:PM  
तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु

मेलम्ची । कोरोना भाइरसको सम्भावित संक्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु गरेको छ । 

कोरोना भाइरस विश्वभर फैलिएपछि तातोपानी नाका केही समययता खुलेपछि स्थानीयवासी त्रासमा थिए । जिल्ला संकट व्यस्थापन समिति सिन्धुपाल्चोकको निर्णय र स्थानीय निकायसँगको समन्वयमा रेडक्रसले यो कार्यक्रमको शुरुआत गरेको हो । 

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले सवारी साधनको निर्मलीकरणको शुरुआत गर्दै रेडक्रसका गतिविधिमा स्थानीय निकाय सधैँ समन्वय गर्न तयार भएको र मानवरक्षाका लागि रेडक्रसले सबै निकायसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नपर्ने बताए । 

नाकामा आवतजावत हुने सवारी साधनको निर्मलीकरणलगायत संक्रमणको रोकथामका गतिविधि सञ्चालन गर्नेसम्बन्धी तातोपानीमा बिहीबार भएको बैठकमा नाका संवेदनशील हुने र स्थानीय निकायले संक्रमण सुरक्षा नीतिलाई व्यवहारमा कार्यान्वय गर्न समन्वयकारी भूमिका निर्वाह गरिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

कोरोना भाइरसको प्रकृतिअनुसार सवारी साधनमार्फत समुदायसम्म संक्रमण फैलन नदिन सबै निकाय सजग हुनपर्ने हुँदा सवारी साधन तथा चालक र सहचालकले अपनाउनुपर्ने सुरक्षा नीति पूर्णपालना गर्न/गराउन उक्त बैठकले सरोकारवाला निकायमा अनुरोध गरेको छ । 

सुरक्षा नीति पूर्णपालना गर्न गराउन भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा सुरक्षा निकाय, रेडक्रसकर्मी, स्थानीय क्लब र समाजसेवी रहेको समन्वय समिति निर्माण गरिएको छ ।

मानवरक्षाका लागि समुदायमा सञ्चालन गरिने हरेक गतिविधिमा नेपाल सरकारसँगको समन्वयमा नेपाल रेडक्रसले सहयोगी भूमिका निर्वाह गर्दै आएको जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले बताए । रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top