काठमाडौं । बन्दाबन्दी (लकडाउन) का बीच पनि बैंकको ब्याज, विद्युत् प्राधिकरणको डिमान्ड शुल्क र मजदुरको तलब दिनुपर्ने समस्याले पिरोल्न थालेपछि मेलोमेसो मिलाएर उद्योगी/व्यवसायीले बन्द रहेका उद्योग सञ्चालन गरे ।
उद्योग बन्द हुँदा पनि बैंकसँग लिएको ऋणको ब्याज मिनाह हुने कुरै भएन । कर्मचारीलाई तलब नदिई हुँदैन । यतिसम्म कि उपभोग नै नगरिकन पनि विद्युत् प्राधिकरणलाई डिमान्ड शुल्कबापत ठुलो रकम तिर्नैपर्छ । त्यही भएर उद्योगीले विभिन्न अवरोधबीच पनि उद्योग सञ्चालन गरे ।
कोरोना संक्रमणलाई फैलन नदिन सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि सम्पूर्ण उद्योगधन्दा बन्द भए । लकडाउनको केही दिन पनि उद्योगीले विभिन्न निकायसँग समन्वय गरेर बन्द भएको उद्योगलाई त चलाए, तर उद्योगबाट उत्पादन भएको वस्तु बजारमा पठाउन सकेनन्, ।
किनभने बजारमा अत्यावश्यक वस्तु तथा सेवा बिक्री गर्ने पसलहरु मात्रै खुला छन् । उद्योगीले उत्पादन गरेको सबै उत्पादन अत्यावश्यकताभित्र पर्दैनन् ।
‘अब उद्योगीले जेनतेन चलेका उद्योग पनि बन्द गर्ने अवस्थामा पुगेका छन्, किनभने उत्पादित सामग्री राख्ने ठाउँ अभाव । उत्पादित सामग्रीले गोदाम भरिसकेको छ,’ विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले भने, ‘उत्पादित सामग्रीले गोदाम भरिसक्यो । बिक्री छैन् । उत्पादन गरेको सामान राख्ने ठाउँको अभाव हुन थालिसक्यो । बाध्य भएर उद्योग बन्द गर्नुपर्ने अवस्था आयो ।’
रिलायन्सले उत्पादन गरेको ७५ प्रतिशत धागो निर्यात हुन्थ्यो भने २५ प्रतिशत स्वदेशमा खपत हुने गरेको छ । अहिले न निर्यात छ, न आन्तरिक खपत नै । त्यही भएर उद्योग बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक अग्रवाल बताउँछन् । रिलायन्समा झण्डै ४ हजार मजदुरले काम पाइरहेका छन् ।
अहिले उद्योगीले हरतवरबाट पीडित बनेका छन् । उद्योग नचलाउँदा पनि संकटमा छन्, भने चलाउँदा पनि संकटबाट मुक्त हुन सकेका छैनन् । फरक यति हो, चलाउँदा एउटा समस्या छ भने नचलाउँदा अर्को समस्या । तर, जसरी पनि समस्याबाट मुक्त छैनन् ।
अहिले खुलेका मध्ये धेरै उद्योगको हालत एउटै छ । न्यून क्षमताका चलेका दाना उद्योगको हालत पनि उस्तै छ । उद्योगीले आफ्नो नोक्सानलाई थोरै मात्र कम गर्न सकिन्छ कि भनेर उद्योग सञ्चालन गरे । तर, उत्पादित सामग्री एउटा पनि बजारमा जान सकेन ।
‘कुखुरा फर्म र व्यावसायिक रुपमा पशुपालन गर्नेले दाना लैजाने हो । तर, खाद्यान्न, औषधि, तरकारीबाहेकका कुनै पनि पसल खुलेका छैनन्, त्यसो हुने बित्तिकै उत्पादित दाना गोदाममै थन्काउनुपर्ने बाध्यता छ,’ दाना उद्योगी नारायणहरि खत्री भन्छन्, ‘उत्पादन गर्दै बजारमा पठाउँदै गर्न पाए पो हुन्छ । पठाउन सकिएको छैन कसरी अर्थतन्त्र चलायमान हुन्छ र उद्योगीलाई केही राहत हुन्छ ।’
उत्पादन मात्रै गर्ने र बजारमा नजाने हो भने उत्पादन गर्नुको कुनै अर्थ नभएको उद्योगीहरु बताउँछन् । अहिले खाद्यान्न, औषधिलगायतको मात्रै माग छ । त्यसमध्ये पनि औषधिको माग ह्वात्तै घटेकाले उद्योगले आफ्नो क्षमता झन घटाएको उनीहरुले बताउँछन् । अहिले अधिकांश अस्पतालको ओपीडी सेवा बन्द छन ।
ओपीडी सेवा बन्द हुने बित्तिकै औषधि खपत पनि कम हुने औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपकप्रसाद दाहाल बताउँछन् । आफ्नो नोक्सान कम गर्न उद्योग चलाए पनि त्यसो हुन नसकेको उद्योगीहरुले बताउँदै आएका छन् । त्यही भएर उद्योगीले उद्योग बन्द गर्ने सोच बनाइरहेको उद्योगी अग्रवाल बताउँछन् ।
‘जबसम्म बजार पूर्ण रुपमा खुल्दैन । तबसम्म उद्योग खोल्नुको कुनै अर्थ छैन्, उनले भने, ‘यसले उद्योगीलाई झन पीडा दिएको छ ।’