काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रको अनुगमन गर्ने जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने सोच सधैका लागि हटाउनुपर्ने बताएका छन् ।
सरकारले राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक मार्फत निजी क्षेत्रलाई पनि अनुगमन गर्ने जिम्मेवारी दिने तयारी गरि संशोधन विधेयक प्रस्ताव गरेको थियो ।
उद्योगीसमेत रहेका राज्यमन्त्री दुगडले निजी क्षेत्रको सुझाव लिदैं प्रधानमन्त्रीलाई व्रिफिङ गरेपछि हाल संशोधन विधेयक कार्यसूचीबाट हटेको छ । यद्यपी विधयेक छलफलमा आउने जोखिम टरेको छैन ।
‘निजी क्षेत्रलाई नियमन गर्ने धेरै निकाय छन्, अख्तियारलाई दिएर निजी क्षेत्रलाई हतोत्साहित गर्नु हुँदैन,’ उनले क्यापिटल नेपालसंग भने । अहिले चौतर्फि विरोध भएपछि सरकारले सो विद्ययेकलाई कार्यसुचिबाट हटाएको छ ।
तर, जुन सुकैबेला पनि सरकारले सो विद्ययकलाई अगाडी बढाउन सक्ने भन्दै व्यवसायीहरु त्रसित बनेका छन् । यसैबीच राज्यमन्त्री दुगडले भने सो विद्ययकलाई सधैंका लागि फिर्ता गराउन छलफल अगाडी बढाइरहेको बताए ।
‘अहिले पनि मैलेनै सो प्रस्तावलाई कार्यसूचीबाट हटाउन पर्छ भनेको हुँँ,’ मन्त्री दुगडले भने । ‘निजी क्षेत्रका साथीहरु यसमा ढुक्क भए हुन्छ ।’
निजी क्षेत्रलाई अनुसन्धान गर्ने, नियन्त्रणमा राख्ने अरु पनि निकायहरु भएकोले अख्तियारलाई जिम्मा दिने तयारी गलत भएको उनको भनाई छ ।
अख्तियारलाई धेरै ठाउँको जिम्मेवारी दिदाँ प्रभावकारी नहुने र निजी क्षेत्रमा पनि त्रास बढ्ने भएकोले यसलाई अगाडी बढाउन नहुने उनले बताए ।
‘निजी क्षेत्रलाई त्रासमा राखेर कहिले पनि देशमा समृद्धी आउँदैन र व्यवसायी सबै चोर हुन्छ भन्ने हुँदैंन, गलत काम गर्नेहरु सबै क्षेत्रमा हुन्छ,’ मन्त्री दुगडले भने, सबैलाई चोर र कालोबजारीको संज्ञा दिएर देशलाई समृद्ध कसरी गर्ने ?’
‘झन अहिले कोभिड १९ ले लाखौं नेपालीहरु बेरोजगार भएका छन् । सरकारको मुख्य चुनौती भनेको तिनीहरुलाई रोजगारी दिनु हो,रोजगारी दिन देशमा उद्योग कलकारखानाहरु खोल्न आवश्यक छ त्यसका लागी निजी क्षेत्रलाई बिच्काउनु हुन्न,’ उनले भने ।
निजी क्षेत्रलाई औधोगिक वातावरण दिएर सम्मान दिनु पर्ने बेला विभिन्न बहनामा कस्दै जाने हो भने भएका उद्योग व्यवसायहरु पनि बन्द हुदै जाने भएकोले त्यस तर्फ हामी सरकारमा बस्नेले ध्यान दिन आवश्यक रहेका बताए ।
त्यसका लागि आफ्नो तर्फबाट निजी क्षेत्रलाई लगानीमैत्री बनाउन र विदेशी लगानीकर्ताहरुलाई भित्राउन आवश्यक वातावरण बनाइरहेको उनले जानकारी दिए ।
‘जुन देशमा सियो, बटन, धागो लगायत दैनिक उपभोग गर्ने सामाग्रीको उद्योग नै नभएको बेला हामी किन घमण्ड गरिरहन्छौं,’ उनले भने ‘त्यसका लागि उद्योग र उद्योगीलाई बढावा दिनुपर्छ ।’