निषेधाज्ञा अनुभवः अर्थतन्त्रका अवयव बन्द, निस्फिक्री ओहोरदोहोर

account_box लोकबहादुर चापागाईं ,
प्रकाशित: २०७७ भदाै २७, शनिबार,०२:०७:PM  
निषेधाज्ञा अनुभवः अर्थतन्त्रका अवयव बन्द, निस्फिक्री ओहोरदोहोर

विश्व्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै नेपालमा पनि एक प्रकारको त्रास सुरु भएको थियो । माघ दोस्रो साता देखिएको पहिलो संक्रमण नेपालीहरुको मानसपटलमा पसेको देखिँदैन । कोरोना भाइरसको सन्त्रास देखाएर सरकारले चैतको पहिलो साता माध्यमिक शिक्षा परीक्षा (एसइई) बन्द गर्ने र त्यसपछि मुलुकमा लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गर्यो, त्यसपछि जनमानसमा साँच्चिकै त्रास फैलिएको थियो ।

चैत ११ मा लकडाउन सुरु गरेपछि सुरुसुरुमा केही मानिसहरु लकडाउन के रहेछ भन्दै सडकमा आउने गरेको पनि देखियो । सरकारी तथा निजी कार्यालय, सबै प्रकारका उद्योगधन्दा/व्यवसाय बन्द भएको र तत्कालका लागि सञ्चार गृहहरुले आफ्ना कार्यालय समेत बन्द गरे । मनभित्र एक प्रकारको डर थियो । अझ चिसोमा कोभिड–१९ संक्रमण छिटो हुने र गर्मी समयमा ढिलो हुने भन्न अफवाहले चैत महिना भएपनि सन्त्रासको अवस्था थियो ।

किनभने उपत्यकामा चैत लागिसक्दा पनि मौसम चिसो नै थियो । बेलाबेलामा परेको पानीले मौसमलाई तातो बनाउन सकेको थिएन । कार्यालय बन्द भएपछि घरमै बस्नुको विकल्प रहेन । घरमा बस्दा पनि तातोमा बस्ने आदत नै लाग्यो । बिहान उठेर नित्य कर्म गरेपनि चैतको चर्को घाममा बाहिर ओछ्यान लगाएर सुत्नुबाहेक अरु विकल्प थिएन र गरियो पनि त्यसै । घरमै बसेर क्यापिटल विजनेश म्याजिनका लागि आवश्यक खुराक लेख्नुबाहेक अन्य काम थिएन नै । त्यसमाथी सुरुवाती समयमै कान्तिपुर दैनिकले प्रकाशन बन्द गरेको अवस्थामा म्यागजिन प्रकाशित गर्ने÷नगर्ने दोधार जस्तै थियो । तर, म्यागजिन बन्द गरिएन ।

चैत ११ गतेदेखि घर थुनिनुको पीडा छँदै थियो । बच्चाहरु चैत पहिलो साता नै परीक्षा सकेर मामाघर गइसकेका थिए । घरमा संधैजसो श्रीमानश्रीमति मात्रै सारै बोर हुन थाल्यो । र, सडकमा निस्कने इच्छा पलायो । बच्चाहरुलाई काठमाडौं ल्याउने उद्धेश्यसहित सिन्धुपाल्चोकको चौतारा जाने कार्यक्रम बन्यो । तर, जाने कसरी ? जान पाइने/नपाइने भन्ने मनमा अनेकन कौतुहलता खेलिरहेको थियो भने अर्कोतिर आफू त सुरक्षित बसिएको छ न अन्यत्र संक्रमण भईसक्यो भन्ने डर भित्रभित्रै थियो । तथापी घर छाडेर निस्किएपछि थाहाँ भयो, खासै कहीँकतै छेकथुन छैन ।

सहजै गन्तव्य भेटियो । झन्डै २ साता गाउँ बसेपछि बाबुहरुको विद्यालयबाट अनलाइन कक्षा हुने भनेर तारन्तार खवर हुन थाल्यो । गाउँमा सहजै अनलाइन कक्षा हुने अवस्था थिएन (यद्यपी, अहिले गाउँगाउँमा अनलाइन कक्षा सुरु भईसकेको छ) । काठमाडौं आएपछि भने लगातारजस्तै कार्यालय जाने काम सुरु भयो । त्यसबीचमा बेलाबखत दिउँसो समयमा चेकजाँच हुने भएपनि बेलुका र बिहानै (६ बजेअघि) कुनै रोकतोक (चेकजाँच) थिए ।

वैशाख अन्तिम सातामा सपरिवार चितवन गइयो । त्यहाँको एक साता लामो बसाईंपछि काठमाडौं आउँदा नागढुंगा नाकामा निकै कडाइ गरेको आभास भयो । वैशाख २५ गतेबाट लकडाउन अझै कडा गर्ने निर्णय सरकारले गरेको थियो । त्यसैको पूर्वाभ्यास नागढुंगा नाकामा भएको थियो । माथिबाटै कडाई गर्नु भन्ने आदेश छ भन्दै विना पास आएका सवारीलाई फर्काउने गरिएको थियो । तथापी त्यहाँ पनि प्रहरीप्रशासनको आफन्त÷चिनजान हो भने सहजै आवागमन गर्न पाइन्थ्यो ।  

त्यसपछि उपत्यकामा नियमित काम सुचारु भयो । साउन ६ गतेसम्मको लकडाउनमा एक पटक पनि प्रेस पास कहिँ देखाउनु परेन । मैले कुनै दिन प्रेस जाकेट लगाएर हिँडिन । नियमित कार्यालय जानेक्रम जारी रह्यो । खासगरी प्रहरीप्रशासनले बिहानको समयमा चेकजाँच गर्ने र त्यसको सूचना प्रवाह गरेपछि दिनभर शान्त बस्ने गरेको पाइयो । 
सुरुवातमा नाटकै धेरै

लकडाउन गरेको सुरुवाती समयमा सरकारी तथा गैरसरकारी संघसंस्थाले आवश्यकताभन्दा धेरै तडकभडक र नाटक बढी नै गरेका थिए । जति बेला मुलुकमा संक्रमण समुदायस्तरमा फैलिने सम्भावना पनि थिएन । भर्खरै बाहिरबाट आएका एकाध यात्रीमा समस्या देखिएको थियो । त्यतिबेला जिल्ला पार गर्ने बित्तिकै चेकजाँच नभएपनि सवारीसाधनलाई ‘डिसइन्फेक्ट’ गर्नेदेखि गाउँघरमा ‘डिसइन्फेक्ट’ गर्ने काम तिब्र रुपमा भएको थियो ।

त्यति मात्रै होइन खान नपाउने वर्गलाई भन्दै राहत वितरणको होडबाजी नै थियो । स्थानीय सरकारदेखी विभिन्न संघसंस्थासम्मले विभिन्न किसिमका राहत सामग्रीहरु बाँड्ने गरेका थिए । तर, विडम्वना जतिजति लकडाउन लम्बिँदै गयो, मानिसहरुको आम्दानीको स्रोत सुक्दै गयो । त्यसपछि भने राहतहरु पनि विस्तारै हराउँदै गए । काठमाडौंमै पनि सुरुवाती समयमा निःशुल्क खाना खुवाउन कतिपय रेस्टुरेन्ट र संघसंस्थाहरुको तछाँडमछाड थियो । तर, आज रत्नपार्कमा सामूहिक खाना खुवाउने बाहेक अरु कार्यक्रम केही पनि भेटिँदैन । 

निषेधाज्ञा तर, निश्फक्री ओहोरदोहोर

लकडाउन सकिएपछि जनजीवन विस्तारै पुरानै लयमा फर्किने अनुमानविपरित भदौ ४ गतेबाट उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञाको घोषणा गर्यो । उपत्यकाबाहिर विभिन्न जिल्लामा त्यसअघि नै निषेधाज्ञा जारी भईसकेको थियो । निषेधाज्ञा भएपनि सञ्चारमाध्यम र खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित क्षेत्रहरु खुला नै थिए । भदौ ४ गते काठमाडौंमा निकै चेकजाँच थियो । दधिकोटबाट कालिकास्थानसम्म पुग्दा ५ ठाउँमा चेकजाँच थियो ।

सुरुमा लागेको थियो, साँच्चिकै काठमाडौंमा अब कडाई भएछ, कोरोना संक्रमण अब फैलिने छैन । तर, त्यो भगत एकदिन मात्रै रह्यो । बेलुका घर फर्कँदा एक ठाउँमा मात्र चेकजाँच भएको थियो । त्यसयता एकदिन काठमाडौंमा चेकजाँच भएको छैन÷थिएन । भदौ ८ गते चितवनबाट भान्जी विरामी भएर काठमाडौं ल्याएपछि भने मेरो दौडधुप निकै चल्यो । टिचिङ हस्पिटल दिनहुँ आउनेजाने क्रम रह्यो । म एक्लै नभएर साथमा अरु व्यक्ति पनि हुन्थे । त्यतिमात्रै होइन न्यूरो हस्पिटल बाँसबारी तथा कहिले रक्त सञ्चार केन्द्र कालीमाटी पनि पटक पटक पुग्नुपर्ने अवस्था आयो । यो क्रम अझै रोकिएको छैन ।

तर, यी दिनहरुमा कहीँकतै चेकजाँच छैन । बरु भदौ २५ गतेबाट सार्वजनिक सवारी खुलेर जोरविजोर प्रणाली लागू भएसँगै शुक्रबार (भदौ २६) दक्षिण बाराहीमा जोर/विजोरका लागि चेकजाँच भएको थियो । निषेधाज्ञा भने पनि रात्रीकालिन समयमा उपत्यका अझ गुल्जार भएको अवस्था थियो । किनभने रात्रीकालिन समयमा झनै कहीँकतै चेकजाँच नहुने भएकाले मानिसहरु रातको समयमा काठमाडौं आउने र जाने क्रम तिब्र रह्यो ।

यस्तो अवस्थामा कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्ने योजना कसरी अघि बढ्न सक्छ ? सीमित समयमा पसलहरु खोल्न दिने तर, रात्रीकालिन आवातजावत खुला गरेर संक्रमण राकिने हो र ? चेकजाँच सही तरिकाले नहुँदा प्रेसको दुरुपयोग भएको पनि भेटियो । यो अवधिमा प्रेस मात्रै होइन निषेधाज्ञामा खुलेका धेरै सवारीसाधनको दुरुपयोग भएको छ । 

लकडाउन र निषेधाज्ञाले पनि संक्रमणमा ल्याएन कमी  

नेपालमा २०७६ माघ दोस्रो साता चीनबाट आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयताको ८ महिनामा कोरोना संक्रमण भएको संख्या करीव ५२ हजार पुगेको छ । 

नेपालमा कोरोनाको पहिलो संक्रमणबाट १० जना संक्रमितको संख्या पुग्न ८० दिन (२०७६ चैत ३०) लागेको थियो । चैत पहिलो साता दोस्रो संक्रमण देखिने बित्तिकै संघीय सरकारले चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) गरेको थियो । तर, त्यसपछि कोरोना भाइरस संक्रमण दर तिब्र रुपमा बढ्दै गएको छ । जतिपछि भयो संक्रमण बृद्धि दर उच्च हुँदै गएको मात्र छैन मृत्यु दरसमेत बढ्न थालेको छ । कोरोना संक्रमण दर बढेको देख्दा आमजनमानसमा बरु एक पटक संक्रमण भैदिएर नयाँ सिराबाट जीवन अगाडी बढाउन सजिलो हुन्थ्यो भन्ने सोच्न थालिसकेका छन् ।

१०० जना संक्रमितको संख्या पुग्न १०७ दिन (२०७७ वैशाख २७) लागेकोमा १ हजार संक्रमित बन्न केवल १२७ दिन (२०७७ जेठ १६) मात्र लाग्यो । पहिलो संक्रमणको १५२ दिनमा १० हजार संक्रमित भएकोमा २३३ दिन (२०७७ भदौ २७)मा संक्रमितको सङ्ख्या ५१ हजार ९१९ पुगेको छ । जसै संक्रमणको दर बढेको त्यसैगरि मृत्य हुनेको संख्या पनि त्यही रुपमा बढेको छ । कोरोना संक्रमणका कारण नेपालमा २०७७ जेठ ३ मा पहिलो मृत्यू भएकोमा भदौ २७ गते आइपुग्दा ३२२ जना पुगेको छ ।

कोरोनासँग ‘लिभिङ्ग टुगेदर’

पछिल्लो समय विश्वभर नै महामारीभन्दा विकराल रुप अन्य रोग र भोकले लिन थालेको छ । जसरी कोभिड १९ को संक्रमण फैलिएको छ, त्यसलाई हेर्दा अब कोरोनासँग लिभिङ्ग टुगेदर गर्नुको विकल्प छैन । अब कोरोना भनेर डराएर मात्रै जीवन गुजारा चलाउन गाह्रो हुने अवस्था आएको छ । मानिसहरुको रोजगारी खोसिएको छ । उद्योग/व्यवसाय बन्द हुँदा आम्दानीका सबै प्रकारका स्रोतहरु सुक्दा के खाने के लाउने भन्ने अवस्था सिर्जना भएको छ । यस्तो बेला महामारी छ भनेर लकडाउन, निषेधाज्ञा र कफ्र्यू भनेर जनजीवन असहज बनाउन आवश्यक छैन । जे छ, त्यसैमा रमाउँदै जीउने कला सिक्ने हो ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुने गरी कोरोनासँगै जीउनुको विकल्प अब छैन । मानिसहरुमा सचेतना जागृत गर्दै आँफै सर्तक भएर कोरोनासँग जुध्दै अघि बढ्नु नै अहिलेको आवश्यकता हो । किनभने चैत ११ गतेदेखि साउन ६ गतेसम्म गरिएको लकडाउन र त्यसपछि मुलुकका अधिकांस भागमा लामो समयदेखि लगाउँदै आएको निषेधाज्ञाले पनि कोरोना महामारीबाट पार पाउने अवस्था देखिएन । कोरोना संक्रमण दैनिक रुपमा फैलिँदै गएको छ ।

महामारी कोरोना मात्रै हो त !

विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको क्यान्सर प्रोफाइल २०२० अनुसार विश्वमा क्यान्सरका कारण २०१८ मा ९५ लाख ५५ हजार २७ जनाको ज्यान गएको छ । संगठनकै तथ्यांकलाई मान्ने हो भने औसत अवस्थामा पनि वार्षिक ८ लाख मानिसहरुले आत्महत्या गर्ने गरेका छन् । एचआइभी र एड्ससम्वन्धी संयुक्त राष्ट्र संघीय कार्यक्रम (युएनएआइडीएस)का अनुसार २०१९ मात्रै औसतमा ६ लाख ९० हजार मानिसहरु एचआइभी र एड्ससम्वन्धी रोगका कारण मरेका थिए ।

औसतमा १७ लाख मानिसहरु २०१९ मा एड्सबाट प्रभावित भएका थिए । त्यस्तै मधुमेहका कारण वार्षिक ५ लाख ९० हजार मानिसहरुको ज्यान जाने गरेको छ । यस्तो अवस्थामा सरुवा रोगका रुपमा भित्रिएको कोरोना भाइरस महामारीको आंकलन त्यति सजिलो छैन । तर, भदौ २६ साँझसम्मको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरस संक्रमणका कारण ९ लाख १२ हजारको ज्यान गएको छ भने ९२ लाख ४०६ जना सक्रिय संक्रमित छन् । 

महामारीबाट जोगिनु पर्छ । तर, महामारीसँगै अन्य रोग र भोकबाट बच्नु झनै ठूलो चुनौति भएको छ । लामो लकडाउन र निषेधाज्ञाले जनजीवन कष्टकर भएको त छ । यसैका कारण मानिसहरु मानसिक रोग (डिप्रेसन)को शिकार हुन थालेका छन् । यसले आत्महत्याको दरलाई पनि बढाउँदै लगेको आभास दिन्छ । अहिले विश्वभर २६ करोड ४० लाख मानिस डिप्रेसनमा भएको अनुमान छ । डिप्रेसन आत्महत्या प्रमुख कारण मानिँदै आएको छ ।

अहिले पनि विश्व जनसंख्याको करीव १० प्रतिशत चरम गरिवी (प्रतिदिन १.९ डलरभन्दा कम)मा छन् । कोभिड–१९ र त्यसबाट सिर्जित आर्थिक समस्याका कारण गरिवीको खाडल बढेको अनुमान गरिएको छ । लकडाउनका कारण मानिसहरुमा चिन्ता, निराशा, एक्लोपना र परिवारप्रतिको दायित्व पुरा गर्न नसकेको हिनतावोधले आत्महत्या गर्नेहरु बढ्दै गएका छन् । 

सरकारी खर्चमा कोरोना परीक्षण बन्द गरौं

सरकारी तबरबाट भएको कोरोना परीक्षण अब बन्द गर्ने बेला भएको छ । जब मानिसहरु आफै सचेत हुँदैनन् र कोरोना महामारीलाई आत्मसात गर्दैनन् भने त्यहाँ राज्यले लगानी गरिरहनु आवश्यक छैन । कोरोना परीक्षणका नाममा राज्यस्रोतको दोहन भईरहेको छ । राज्यले अब सरकारी अस्पतालमा ‘अप्रेसन’ गर्नुपर्ने विरामीबाहेक अन्यका हकमा परीक्षण आफै गर्ने व्यवस्था गर्नुपर्छ ।

ठूला र शक्तिसम्पन्न व्यक्तिहरुले ६ महिनाको अवधिमा ४/५ पटक कोरोना परीक्षण गराईसके । राज्यसँग पहुँच नहुनेले रोगले मरिसक्दा पनि त्यसको परीक्षण गर्ने र विरामीको उपचार गर्ने कुनै काम भएको छैन । जब सबै व्यक्तिको परीक्षण गर्न सकिँदैन भने यस्तो परीक्षणको के अर्थ ? जसले कोरोना परीक्षण आवश्यकता महसुस गर्छन् उनीहरुले आफ्नै खर्चमा गर्छन् । राज्यले कुन रोगको परीक्षण र उपचार निःशुल्क गरेको छ र कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्नुपर्यो ।

सरकारी तवरबाट हुने कोरोना परीक्षण सम्पूर्ण रुपले स्थगित गरेर नयाँ ढंगले अघि बढ्नुपर्छ । कोरोना परीक्षणमा नाममा हुने ठूलो धनराशी अन्य प्रयोजनमा लगाउनु हितकर हुन्छ । यद्यपी, राज्यले अहिले नै पनि आफ्नो कोषको सही सदुपयोग कहाँ गरेको छ र ! भनेर प्रश्न उठ्ने गरेको छ । यो बहसको छुट्टै पाटो हो ।

लोकबहादुर चापागाईं

क्यापिटल  बिजनेस  म्यागजिनका सम्पादक हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top